१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ चैत २४ मंगलबार ११:२८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालमा वायु प्रदूषण दीर्घकालीन समस्या बन्ने जोखिम

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ चैत २४ मंगलबार ११:२८:००

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्षको तुलनामा यो वर्ष १४ गुणा बढी डढेलो लागेको छ । जसलाई वायु प्रदूषणको स्थानीय मुख्य कारण मानिएको छ । वैशाखदेखि हालसम्म दुई हजार चार सय १९ स्थानमा डढेलो लागिसकेको छ ।

नेपालका विभिन्न भागमा वायू प्रदूषण बढेपछि काठमाडाैँ संसारकै धेरै वायु प्रदूषण भएको सहरको सूचीमा पुनः पहिलो नम्बरमा परेको छ । यसअघि २१ पुसमा काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो, जुन खतराको तहभन्दा दुई गुणा बढी हो । गत साता मात्रै वायु प्रदूषणले खतराको तह पार गरेपछि सरकारले देशभरका शैक्षिक बन्द गरेको थियो । आइतबारदेखि विद्यालय पुनः खुले पनि प्रदूषणको तह भने घटेको छैन । 

पछिल्लो समय तराईमा समेत वायु प्रदूषणको लेभल बढ्दै गइरहेको छ । भौगोलिक बनावटका कारण पुसदेखि नै काठमाडौं उपत्यका बढी प्रभावित भइरहे पनि पछिल्लो एक सातादेखि तराईका विभिन्न क्षेत्रमा समेत वायु प्रदूषणको लेभल उच्च बिन्दुमा पुगेको छ । वातावरण विभागको तथ्यांकअनुसार, सोमबार दिउँसो धनगढीको एक्युआई ४३६ पुगेको थियो । यस्तै भरतपुरमा ३३२, सौराहामा ३०८, सिमरामा ३०७ र काठमाडौंमा ३३१ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार एक्युआई ५० भन्दा तल हुँदा मात्रै स्तरीय मानिन्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा मुनि निर्धारण गरेको छ । अर्थात्, नेपालमा ५० देखि एक सयबीचमा रहेमा वायुको गुणस्तर सामान्य मानिन्छ । तर, पुसदेखि हालसम्म देशभरि नै वायु प्रदूषणको मात्रा बढ्दै गएको छ । प्रि–मनसुनको समय भइसके पनि पश्चिमी वायुको प्रभाव यो वर्ष न्यून रहेकाले प्रदूषणको मात्रा घट्नुको साटो उकालो लागिरहेको छ । मौसमविद्हरूका अनुसार, सुख्खा हिउँद, अत्यधिक डढेलो र पश्चिमी वायुको न्यून प्रभावका कारण प्रदूषण सञ्चित भएर बस्दा अत्यधिक वायु प्रदूषण भएको हो । 

केही दिनअगाडि पानी पर्दा मौसम सफा देखिएको थियो, पुनः एक्युआई लेभल बढ्दै गएको छ । सामान्यतया हेर्दा प्रदूषणको समस्या क्षणिक देखिए पनि यो दीर्घकालीन समस्या हो । यही ट्रेन्डमा विकास र विनाश भइरहने हो भने केही समयपश्चात् हिउँदको समयमा काठमाडौं वायु प्रदूषणका कारण बस्नलायक ठाउँ रहँदैन । - ऋषिराम शर्मा, मौसमविद्

नेपालमा प्रि–मनसुनको समय सुरु भइसकेपछि पनि यो वर्ष एकदमै न्यून वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष नेपालभरि नै औसतभन्दा आधा प्रतिशत पनि वर्षा भएको छैन । मौसमविद्हरूका अनुसार नेपालमा प्रि मनसुन माघ अन्तिमबाट सुरु हुन्छ । नेपालमा हावाको बहाव वर्षमा दुईपटक दुईतिरबाट बहन्छ । मनसुन सुरुभएपछि बंगालको खाडीबाट नेपालतिर हावाको बहाव हुन्छ भने हिउँद सुरु भएसँगै हावाको बहाव पश्चिमबाट बग्छ, यो वर्ष पश्चिमी वायुको बहाव सक्रिय नभएकाले नेपालमा स्थानीय वायुको प्रभाव बढी छ । पश्चिमी वायुको प्रभाव न्यून हुनु र स्थानीय वायु हाबी हुनु नेपालमा प्रि–मनसुन सुरु हुनु हो । तर, चैतको लगभग अन्तिमसम्म आइपुग्दासमेत प्रि–मनसुनको प्रभाव नदेखिएकाले वायु प्रदूषण अत्यधिक बढेको विज्ञहरूले बताएका छन् । मौसमविद् ऋषिराम शर्माका अनुसार, यो समयमा दिउँसो घाम लाग्ने र साँझको समयमा आँधीबेहरीसँगै पानी र केही भूभागमा असिना पर्ने समय हो ।

पछिल्लो वर्षभन्दा १४ गुणा बढी डढेलो
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष प्रि–मनसुन पनि लगभग सुख्खा नै रहने देखिएको छ । आइतबारदेखि घाम नलागेको र हावाहुरी पनि नचलेकाले तत्काल प्रदूषण हट्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ । योसँगै कर्णाली र सुदूरपश्चिमको माथिल्लो भुभागमा बुधबार हल्का वर्षा हुने सम्भावना रहने महाशाखाले जनाएको छ । यसको असर पश्चिमी तराई भूभाग बढी प्रभावकारी हुने छ । प्रि–मनसुनपछि पनि वर्षा औसतभन्दा पनि निकै न्यून रहनेछ । अप्रिलमा काठमाडौंमा औसत ६१ मिलिमिटर पानी पर्नुपर्नेमा हालसम्म जम्मा ९ मिलिमिटर मात्रै वर्षा भएको छ । यद्यपि, प्रि–मनसुन जारी नै छ ।

हिउँदे वर्षा अभावका कारण यो वर्ष पुस महिनाअगावै डढेलो र आगलागी सुरु भएको थियो । पुसमा हिमाली जिल्लामा सुरु भएको आगलागीको क्रम चैत दोस्रो सातासम्ममा देशैभरि नै देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गत वर्षको तुलनामा यो वर्ष १४ गुणा बढी डढेलो लागेको छ । जसलाई वायु प्रदूषणको स्थानीय मुख्य कारण मानिएको छ । प्राधिकरणका अनुसार वैशाखदेखि हालसम्म दुई हजार चार सय १९ स्थानमा डढेलोसहितका भौतिक आगलागीका घटना भएका छन् । जसमा परेर ८९ जनाको मृत्यु र  तीन सय ६३ जना घाइते भएका छन् । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दर शर्माका अनुसार अबको डेढ महिना नेपाल डढेलोको उच्च जोखिममा छ । लामो समय पानी नपरेर सुख्खा लागेको स्थानमा लागेको डढेलो सहजै अन्यत्र सर्ने क्रम बढेकाले डढेलोका घटनाहरू बढिरहेको छ । प्राधिकरणका प्रवक्ता उद्धवप्रसाद रिजालका अनुसार नेपालमा मंसिरदेखि जेठसम्म नै डेढेलो लाग्ने भए पनि मार्च र अप्रिल महिनामा डढेलोका घटनाहरू बढी हुन्छन् । सबैभन्दा धेरै डढेलो अप्रिलमा लाग्छ । तर, यो वर्ष मार्चको तेस्रो सातादेखि नै नासाको स्याटेलाइटले नेपालको पूर्वदेखि पश्चिमसम्म आगो लागेका राताम्ये तस्बिर खिचेर पठाउन थालिसकेका थियो । यद्यपि, स्याटेलाइटले भीरमा र बादलमुनि भएका आगलागीका तस्बिर खिच्दैन । 

वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा मात्रै नेपालभर पाँच सय ३० स्थानमा डढेलो लागिरहेको छ । डढेलोबाट ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित बनेको छ । एउटै जिल्लामा पनि धेरै स्थानमा डढेलो लाग्दा कतिपय गाउँ नै खतरामा छन् ।

प्रि–मनसुनसमेत समयमै सुरु नहुँदा तराई क्षेत्रसमेत जोखिममा : वातावरणविद्
काठमाडौंको भौगोलिक बनावटका कारण वायुको प्रभाव कम हुनेबित्तिकै प्रदूषणको तह ह्वात्तै बढ्न थालेको छ । प्रि–मनसुनसमेत समयमै सुरु नहुँदा तराई क्षेत्रसमेत जोखिममा छ । स्थानीय प्रदूषण अर्थात् सवारीसाधन, निर्माण स्थल र कलकारखानाबाट उत्पादिन प्रदूषणसँगै छिमेकी देशहरूबाट भित्रिने प्रदूषणले वायुमा प्रत्यक्ष प्रभाव पारिरहेको विज्ञहरू बताउँछन् ।

बढ्दो सहरीकरणले वातावरणमा पार्ने प्रत्यक्ष प्रभावको मुख्य उदाहरण वायु प्रदूषणलाई मान्न थालिएको छ, जुन समयक्रमसँगै बढ्दै जान्छ । वातावरणविद् ऋषिराम शर्मा भन्छन्, ‘केही दिनअगाडि पानी पर्दा मौसम सफा देखिएको थियो, पुनः एक्युआई लेभल बढ्दै गएको छ । सामान्यतया हेर्दा प्रदूषणको समस्या क्षणिक देखिए पनि यो दीर्घकालीन समस्या हो । यही ट्रेन्डमा विकास र विनाश भइरहने हो भने केही समयपश्चात् हिउँदको समयमा काठमाडौं वायु प्रदूषणका कारण बस्नलायक ठाउँ रहँदैन ।’