मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २३ सोमबार १६:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं  प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य गर्नुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २३ सोमबार १६:४८:००

काठमाडौं प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिकामार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । 

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिन हरेक नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताए । 

यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिई शंकास्पद लागेमा पिसिआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘काठमाडौं जिल्लाको हकमा खासगरी कोभिडको संक्रमणदर बढ्न नदिन हामीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने भनेर निर्णय गरेका छौँ र हरेक नगरपालिकाले एन्टिजेन टेस्ट गर्ने, त्यसपछि नाकाका नगरपालिकाहरूले हेल्थ डेस्क स्थापना गर्ने, सम्पर्क व्यक्तिहरू तोक्ने र संक्रमण भएको व्यक्तिहरूलाई पिसिआर टेस्ट गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने भन्ने निर्णय भएको छ ।’

यस्तै, सबै नगरपालिकाहरूमा सञ्चालित आइसोलेसन केन्द्र र क्वारेन्टिन केन्द्रहरूलाई अद्यावधिक राख्ने र सबै नगरपालिकाहरूले आ–आफ्नो नगरपालिकाभित्र कम्तीमा एकवटा आइसोलेसन केन्द्र र क्वारेन्टिन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यस्तै, विद्यालयहरूमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई मास्क लगाउनेदेखि कक्षाकोठालाई व्यवस्थित गर्ने कार्य शिक्षा कार्यालयमार्फत गर्ने निर्णय पनि भएको पराजुलीले बताए । 

स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउने सम्बन्धमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका सुरक्षा निकायले प्रचारप्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगर्ने गरेको पाइएमा दण्ड जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको पराजुलीले बताए ।