मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत २३ सोमबार ०६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिका फलोअप : तीन दशक काम गरेका सफाइ मजदुर रित्तो हात घर फर्कनुपरेपछि आन्दोलित

Read Time : > 1 मिनेट
२०७७ चैत २३ सोमबार ०६:५८:००

तीन दशकदेखि दमक नगरपालिकाको सफाइमा खटिएका मजदुरहरू आन्दोलनमा उत्रिएका छन् । वर्षौं सफाइमा खटिएका विपन्न दलित मजदुरहरू आइतबारबाट आन्दोलनमा उत्रिएका हुन् । 

दमक नगरपालिकाले फोहोर संकलनको जिम्मा निजी कम्पनीलाई दिएपछि तीन दशकदेखि काम गरेका मजदुरलाई विनाजानकारी कामबाट निकालेको थियो । ३० जना सफाइ मजदुर एक सातादेखि रोजगारविहीन छन् । रित्तो हात घर फर्कनुपरेपछि आइतबारबाट नगरपालिकामा मजदुरले धर्ना दिएका छन् । 

कामबाट निकालिएका मजदुरको पुनर्बहाली, दशकौँदेखि दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरलाई स्थायी गरिनुपर्ने, कोरोना महामारीका समयमा काम गरेबापत अतिरिक्त पारिश्रमिक दिनुपर्नेलगायत माग राख्दै मजदुरहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आइतबार दिनभर नगरपालिकाको गेटमा कालो झन्डा र ब्यानरसहित धर्ना दिए । ‘२९ वर्ष काम गरेँ । अहिले नगरपालिकाले कागले चल्ला लगेझैँ निकालिदियो,’ मजदुर कैलाश मल्लिकले भने, ‘त्यसैले बाध्य भएर नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रनुपर्‍यो ।’ माग पूरा नभएसम्म धर्नाको कार्यक्रम जारी राख्ने उनले बताए । ‘हामी त काम नभएर भोकै भयौँ । जबसम्म माग पूरा हुँदैन, तबसम्म धर्ना दिन्छौँ,’ उनी भन्छन्, ‘यस्तै भयो भने अनशन पनि बस्छौँ ।’ 

नगरपालिकाले उनीहरूलाई कामबाट मात्र निकालेन, काम गरिन्जेल पनि श्रमशोषण गर्‍यो । दमक नगरपालिकामा फोहोर सफाइ गर्ने दुई प्रकारका मजदुर छन् । केही मजदुरले बजारमा कुचो लगाउँछन् । उनीहरू बिहान करिब पाँच घन्टा काम गर्छन् । त्यस्तै, फोहोर उठाएर गाडीमा लगाएर व्यवस्थापन केन्द्रसम्म पुर्‍याउने मजदुर छन् । उनीहरू १२ घन्टासम्म खट्छन् । श्रम ऐनअनुसार चियाबगानका बाहेक अन्य श्रमिकलाई प्रतिघन्टा ६९ रुपैयाँ ज्याला दिनुपर्छ । यस्तै, आठ घन्टा काम गर्ने श्रमिकले ऐनअनुसार १३ हजार चार सय ५० रुपैयाँ मासिक पाउनुपर्छ ।

तर, दमक नगरपालिकाले सफाइमा खटिएका दलित मजदुर ऐनअनुसारको तलब पनि दिएको थिएन । ‘हामी सुरुदेखि दमक नगरपालिकाको मेयरसँग छलफलमा छौँ । तर, उहाँहरू माग पूरा गर्ने मनस्थितिमा हुनुहुन्न,’ मजदुर नेता कैलाश पौडेल भन्छन्, ‘कम्युनिस्टको सरकार भएको देशमा मजदुर अन्यायमा पर्नु त विडम्बना भएन र ! कोरोनाको समयमा पनि उनीहरू फ्रन्ट लाइनमा काम गरेका हुन् । तर, नगरपालिकाले केही दिएन ।’

एक सातादेखि कामविहीन भएका मजदुरको घरमा चामल सकिएको छ । नगरपालिकामा दैनिक ज्यालामा काम गर्ने केही मजदुरको घरमा चामल सकिएको छ । उनीहरू अहिले छिमेकीको सहयोगमा भोक मेटिरहेका छन् । ‘चामल सकिएको तीन दिन भयो । काम पनि छैन । अब के खाने ?’ मजदुर सुरज मल्लिक भन्छन्, ‘अहिले त छिमेकीले सहयोग गरिरहेका छन् । उनीहरूको पनि काम छैन, अब उनीहरूकोमा सकिएपछि के खाने ?’

उनीहरूलाई नगरपालिकाले अन्याय गरेर निकालेको समाचार नयाँ पत्रिका दैनिकमा यसअघि प्रकाशन भएको थियो । लामो समयदेखि मजदुरले ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गर्दै आएका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले मजदुरलाई शुक्रबार छलफलमा बोलाए । तर, उनले मजदुरलाई निराश बनाए । काम दिनुको सट्टा उनीहरूलाई भोकै भए चामल दिन्छु भन्दै अपमान गरे । ‘मेयर साबले भोकै भयो भने १० केजी चामल दिउँला भन्दै कराउनुभयो,’ मजदुर सिकेन्द्र मल्लिक भन्छन्, ‘हामीले नगरपालिकाबाट चामल खोजेका हैनौँ । हाम्रो खोसिएको रोजगारी फिर्ता दिनु हाम्रा केही माग पूरा गर्नु भनेका हौँ ।’

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले पुरानै पारिश्रमिकमा काम दिन तयार रहेको बताए । सफाइ मजदुर ‘पार्टटाइमर’ भएका कारण ज्याला त्यति पाएको उनको भनाइ छ । ३० जना मजदुरलाई नगरका विद्यालय र वडा कार्यालय सरसफाइमा लगाइने ओलीले बताए ।