मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २३ सोमबार ०६:२७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से हालसम्मकै उच्च बिन्दुमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २३ सोमबार ०६:२७:००

निर्जीवन बिमामा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकम बढ्यो

साताको पहिलो दिन निर्जीवन बिमा कम्पनीले कारोबार रकम बढाएका छन् । पछिल्लो केही दिनयता हकप्रद सेयर जारी गर्ने अनुमानमा लगानीकर्ता निर्जीवन बिमा कम्पनीहरूतर्फ आकर्षित भएका हुन् । एक ब्रोकरका अनुसार केही कम्पनीहरूले हकप्रद सेयर प्रस्ताव गरेको र अझै पनि अन्य कम्पनीहरू हकप्रद सेयर जारी गर्ने तयारीमा रहेको आकलन हुन थालेपछि निर्जीवन बिमा कम्पनीहरूको सेयर कारोबारमा वृद्धि भएको हो । ‘बजारमा हकप्रद जारी हुने हो कि भन्ने आकलनले नै अहिलेको बजार बढेको हो, अन्य कुनै त्यस्तो कारण छैन,’ ती ब्रोकरले भने ।

आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १२ कम्पनीले १ करोड ८१ लाख कित्ता–इकाइ सेयर किनबेच गर्दा ९ अर्ब ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसमध्ये निर्जीवन बिमा कम्पनीहरूको मात्र २ अर्ब २२ करोड ५१ लाख रुपैयाँको कारोबार गरेको छ । १६ फागुनमा ८ अर्ब २९ करोड कारोबार भएको एक महिनापछि बिहीबार ७ अर्ब हुँदै यस दिन ९ अर्बको कारोबार भएको हो । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेको छ । सो कम्पनीको अन्तिम सेयर मूल्य ५ सय ८१ कायम हुँदा ४७ करोड ५६ लाख रुपैयाँको किनबेच भएको हो । त्यस्तै, दोस्रो सेयर किनबेच हुनेमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी रहेको छ । सो कम्पनीले ८ सय ८२ रुपैयाँको दरले सेयर किनबेच भएको छ । तेस्रो कारोबार भएको नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य १५ सय १८ कायम भयो ।  

यस दिन नेप्से परिसूचक २५ दशमलव ७१ अंकले बढेर २ हजार ६ सय ५७ दशमलव ६१ बिन्दुमा पुगेको छ । यो बिन्दु हालसम्मकै उच्च बन्द बिन्दु हो । यसअघि गत फागुन ९ गते २ हजार ६ सय  ४० दशमलव ३५ बिन्दुमा पुगेको थियो । कारोबारमा आएका समूहका सूचकमध्ये निर्जीवन बिमा कम्पनी सबैभन्दा धेरै ३ दशमलव ९७ प्रतिशतले बढेको छ । त्यस्तै, दोस्रोमा फाइनान्स समूहको ३ दशमलव ६६ प्रतिशतले बढेको छ । ‘अन्य’ समूहको सूचक ३ दशमलव ४१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्ने सूचकमा ट्रेडिङ समूह रहेको छ । यस समूहले ४ दशमलव ३९ प्रतिशतले घटेको छ । दोस्रो स्थानमा घट्नेमा लगानीगत समूहको सूचक २ दशमलव ३५ प्रतिशतले घटेको छ भने होटेल समूह र म्युुचुअल फन्ड उपसमूहकोे सूचक पनि घटेका छन् । 

७ कम्पनीको सकारात्मक सर्किट
आइतबार सातवटा कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरेका छन् । वमी माइक्रो फाइनान्स, जनरल इन्स्योरेन्स कम्पनी, राधी विद्युत् कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एसिया लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स, सान्जेन जलविद्युत् कम्पनीको सकारात्मक सर्किट मूल्यमा कारोबार भएको हो । वमी माइक्रो फाइनान्सको १५ सय ८ रुपैयाँ, जनरल इन्स्योरेन्सको कम्पनीको ७ सय ९३ रुपैयाँमा, राधी विद्युत् कम्पनीको ४ सय ४१ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्स १३ सय १३ रुपैयाँ, एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ९ सय ६१ रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्स ८ सय १९ रुपैयाँ र सन्जेन जलविद्युत् कम्पनीको ४ सय २३ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै यस दिन साल्ट ट्रेड्रिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ दशमलव ६३ प्रतिशतले घटेर १२ हजार ७ सय पुगेको छ । दोस्रोमा सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको ४ दशमलव ६३ प्रतिशतले घटेर २३ सय रुपैयाँ कायम भएको छ । 

नागरिक लगानी कोषको लाभांश घोषणासँगै मूल्य घट्यो
नागरिक लगानी कोषले लाभांश घोषणासँगै सेयर मूल्य घटेको छ । शनिबार सेयरधनीलाई ९ प्रतिशत अर्थात् २७ करोडबराबरको बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशतले २६ करोड ६८ लाख रुपैयाँको नगद लाभांश दिने घोषणा गरेको थियो । तर, लगानीकर्ता लाभांशप्रति असन्तुष्ट भएपछि नागरिक लगानी कोषको सेयर मूल्य घटेको हो । यस दिन कम्पनीको सेयर मूल्य १ दशमलव १८ प्रतिशतले घटेर ४ हजार २ सय ८८ रुपैयाँ कायम भएको छ ।