मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २२ आइतबार ०८:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरपालिकाको प्रहरी : बढुवापछि पाँच एसपी, जवान संख्या शून्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २२ आइतबार ०८:४५:००

काठमाडौं महानगरपालिकाका नगर प्रहरीमा उपल्लो तहमा जनशक्ति भए पनि तल्लो जवान तहमा भने संख्या शून्य छ । पछिल्लोपटक २ फागुनको विशेष नगरसभाले सबै नगर प्रहरीको एक तह बढुवा गरिदिएपछि प्रहरीको जवान संख्या एउटा पनि छैन । 

महानगरपालिकाले पछिल्लोपटक दुई सय १९ जना नगर प्रहरी रहने गरी दरबन्दी स्वीकृत गरेको थियो । तर, हाल एक सय ८२ जना कार्यरत रहेको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । जसमा एसपी पाँच, डिएसपी ६ र इन्स्पेक्टरका रूपमा ३३ जना कार्यरत छन् । यस्तै, सई ४२ र असई ३३ जना रहेको नगर प्रहरी प्रमुख सापकोटाले बताए । उनका अनुसार ६३ जना हवल्दार पदमा कार्यरत छन् । ‘सबै प्रहरी जवान बढुवा भएर हवल्दार भएकाले जवान पदमा अहिले कोही छैन,’ उनले भने । 

स्थानीय तहमा संघीय सरकारका कर्मचारी गएपछि उनीहरूको एक तह बढुवा भयो । यसरी संघका कर्मचारीसँग बराबरी गर्न महानगरमा कार्यरत सबै कर्मचारीको एक तह बढुवा भयो । यसैक्रममा नगर प्रहरीहरूको पनि एक तह बढुवा गरिएको महानगरका सूचना अधिकारी वसन्त आचार्यले बताए । ‘विशेष नगरसभा बैठकले ४ फागुनमा महानगरका अन्य कर्मचारीसँगै नगर प्रहरीको पनि एक तह बढुवा गर्ने निर्णय गरेको हो । सबै कर्मचारीको बढुवा हुने भएपछि उनीहरूको नहुने भन्ने हुँदैन । सबैको एक तह बढुवा भएपछि जवान नभएका हुन्,’ आचार्यले भने । बढुवामा न शैक्षिक योग्यता ख्याल गरिएको छ, न त अन्य कुनै मापदण्डलाई आधार बनाइएको छ । 

महानगरले आफूलाई एसपी पद दिएको भए पनि आफूभन्दा माथिल्लो पद अझै रिक्त रहेको सापकोटा बताउँछन् । ‘पदसोपानअनुसार दरबन्दी भए राम्रो हुने हो । तर, फिल्डमा खटिने जनशक्ति नै भएनन् भन्न सकिने अवस्था होइन । हवल्दार र जवान दुवैको जिम्मेवारी उस्तै हो । नगर प्रहरी मात्र होइन, नेपाल प्रहरी, नेपाली सेना सबैमा उस्तै हुन्छ,’ सापकोटाले भने । महानगरमा संघीय सरकारका कर्मचारी आए पनि नगर प्रहरीमा नेपाल प्रहरी वा अन्य कुनै निकायबाट प्रहरी समायोजन भइआएको होइन । यसले महानगरको व्यय मात्र बढाएको छ । 

तर, महानगरका सूचना अधिकारी आचार्य भन्छन्, ‘सबैको बढेपछि उनीहरूको पनि बढेको हो । एउटै संस्थामा भएपछि सबैको बढुवा भएको हो । छिट्टै नगर प्रहरीको संख्या अझ बढाउने योजनामा छौँ र पुनरावलोकन हुँदै छ । त्यो प्रस्तावमाथि छलफल हुँदै छ ।’ नगर प्रहरीको दरबन्दी अझै थप्ने र रिक्त पदका लागि विज्ञापन आह्वान गर्ने तयारीमा महानगर रहेको उनले जानकारी दिए । 

०७५ साउनमा २० जना नगर प्रहरीको बढुवा भएको थियो । दुई वर्ष नबित्दै समायोजन भन्दै बढुवा हुँदा केहीलाई आधार बनाइएको छैन । महानगरको नगर प्रहरीसम्बन्धी विनियमावली २०७२ मा नगर प्रहरीको काम, कर्तव्य र अधिकारबारे परिच्छेद ३ मा उल्लेख छ । जसअनुसार सार्वजनिक आवागमनमा बाधा पु¥याइराखेका निर्माण सामग्री, पसलजस्ता अवरोध हटाउने, महानगरभित्र उत्पादन हुने फोहोर निर्धारित समय र स्थानमा राख्न लगाउने, सार्वजनिक सम्पत्तिको प्रयोग र उपभोगको निरीक्षण गर्ने, कसैले सार्वजनिक सम्पत्ति प्रयोग गरेको भेटिएमा भत्काउने आदेश आएपछि भत्काउने, छाडा पशुचौपाया पक्राउ गरी लिलाम तथा व्यवस्थापन गर्नेजस्ता काम तोकिएको छ ।