Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ चैत २० शुक्रबार १६:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मानवबस्ती जोखिममा पारेर दैनिक सयौँ ट्रयाक्टर बालुवा तस्करी

Read Time : > 1 मिनेट
२०७७ चैत २० शुक्रबार १६:४९:००

सप्तरीको कञ्चनरूप नगरपालिकाभित्र पर्ने तीनवटा खोला र नदीको बालुवा कानुनी प्रक्रियाविपरीत तस्करी हुने क्रम बढेपछि मानवबस्तीमा बाढीको जोखिम बढेको छ । कञ्चनरूप नगरपालिका, इलाका वन कार्यालय र प्रहरीको मिलोमतोमा तीनवटै खोलाबाट दैनिक सयौँ ट्रयाक्टर बालुवा तस्करी भइरहेकाे छ ।

कञ्चनरूप– ९ स्थित रघुनाथपुरका कुमार रोकाका अनुसार नगरपालिका र सबडिभिजन वन कार्यालय कञ्चनपुरको संलग्नता र प्रहरीको सहमतिमा अनियन्त्रित तरिकाले सुन्दरी खोलावाट उक्त परिमाणमा बालुवा उत्खन्न गरी तस्करी भइरहेकाे छ ।

‘प्रत्येक वर्ष हामी दुई सय ५० घरधुरी डुबानमा पर्छौँ, पछिल्लोपटक नगरपालिकाले केही रकम लिएर अनधिकृत रूपमा बालुवा निकाल्न अनुमति दिएपछि बस्ती नै थप जोखिममा परेको छ,’ रोकाले भने, ‘विना कुनै मापदण्ड नै नअपनाई मनोमानी तरिकाले बस्तीलाई नै असर पुग्ने गरी नदी उत्खननले सुन्दरी नदी पोखरीमा परिवर्तन भइसकेको छ ।’ 

 

त्यस्तै, बान्द्रा खोलानजिकका स्थानीय वडा नं. १२ का कुजरत अलीले भने, ‘अनियन्त्रित तरिकाले बालुवा निकास भइरहेकोले हाम्रो बस्ती जोखिममा रहेको छ ।’ उनले भने, ‘ट्रयाक्टरचालकहरूलाई बालुवा नकाट्नुभन्दा उल्टै चालकहरू झगडा गर्छन् । कञ्चनरूप नपा वडा नं. १२ का स्थानीय प्रह्लाद कटुवालका अनुसार पौडा खोला र बनरा खोलाबाट गैरकानुनी प्रक्रियाले बालुवा निकासी प्रहरीको  घुमुवाको संलग्नतामा र वन कार्यालय र न.पा.लाई ठूलाठूला तस्करहरूले पैसा खुवाएर नियमविपरीत नदी दोहन गरिरहेको बताए । उनले भने, ‘दिनमा एउटै ठाउँबाट ५०  ट्रयाक्टरभन्दा बढी बालुवा निकालिन्छ  ।  तर, हामीले वडा कार्यालयलाई भन्दा पनि केही वास्ता गर्दैनन् ।’

सबडिविजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत उमेश यादवका अनुसार वनक्षेत्रको खोला र नदीबाट बालुवा निकाल्न कानुनी प्रतिबन्ध छ । उनका अनुसार नजिककै खोला र स्थानीयको व्यक्तिगत आवश्यकताको कारणले व्यावहारिक रूपमा मात्र केही ट्रयाक्टर बालुवा नदीबाट लिन दिएको दाबी गरे । 

नगरपालिकाले नगदी रसिद काटेर बालुवा बिक्री गरिरहेको सवालमा अधिकृत यादवले भने, ‘नपा वा कसैले बनाइदिएको अनुमति र वन ऐनको कानुनविपरीत रसिद काटेर बालुवा निकाल्न पाउँदैन ।’ नपाले रसिद दिएर बालुवा निकालिरहेको जानकारी नरहेको बताउँदै उनले भने, ‘यदि नपाले त्यस्तो गरेको रहेछ भने कानुनविपरीत काम हो र त्यस्तोलाई हामी पक्राउ गर्छाैँ ।’ वन समूह वन कार्यालयको मातहतमा भए पनि समूहका सहसचिव जगदेव यादव नपाको नगद रसिद काट्दा पनि अधिकृत यादवले भने जनकारी नभएको दाबी गरे । यादवले भने, ‘म बाहिर भएकोले आएपछि जिम्मेवार निकायहरूलाई बोलाएर छलफल गराइदिन्छुु । यसमा मेरो कुनै संलग्नता छैन ।’

कञ्चनरूप नगरपालिकाका नगरप्रमुख वसन्तकुमार मिश्रका अनुसार सुन्दरी खोला र बनरा खोलामा नपाले नगदी रसिद काटेर बालुवा निकास गरिरहेको बताए  । उनले भने, ‘पौडा खोलाको बालुवा निकासीमा नपाको संलग्नता छैन ।’ तर, नगरपालिकाले नै नगदी रसिद छापेर पैसा उठाएको प्रमाण पेस गर्दासमेत नगरप्रमुख मिश्रले सो आफूलाई जानकारी नभएको दाबी गरे । उनले भने, ‘गुणस्तर बालुवा तल भएकाले बालुवा निकाल्दा सुन्दरी खोलामा पोखरीजस्तो भए पनि पछाडि त्यसलाई मिलाइन्छ ।’

नगरपालिकासँग सहकार्य नगरी नपाले बालुवा उत्खनन गरिरहेकोे छ । दैनिक कति रकम बालुवाबापत नपाले उठाइरहेको भनेर बुझ्दा नगरप्रमुख मिश्रले आफूलाई थाहा नभएको बताए ।