मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २० शुक्रबार १५:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 सिसडोलवासी र काठमाडौं महानगरबीच सहमति :  शुक्रबारबाट उपत्यकाको फोेहोर उठ्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २० शुक्रबार १५:२२:००

काठमाडौं महानगरपालिकाले ल्यान्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर शुक्रबार (आज)देखि उठ्ने भएको छ । नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि भने फोहोर विसर्जनमा गरिएको अवरोध हटेको छ । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले सिसडोलवासीले राखेको शिक्षा र स्वास्थ्यसम्बन्धी मागहरू महानगरपालिकाले पूरा गर्ने सहमति भएको बताए । यस्तै, रोजगारी, विकास निर्माणलगायतका माग सम्बन्धमा पनि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएको पनि उनले बताए । 

ककनी गाउँपालिकाअन्तर्गत रहेका विद्यालयहरूका लागि ४६ जना र धुनिबेसी नगरपालिकाका लागि पाँचजना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सोबापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केलबमोजिमको रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ ।

करार सेवामा नियुक्त हुने शिक्षकको दरबन्दीमा स्थायी शिक्षक नियुक्त भएपश्चात् काठमाडौं महानगरपालिकाले शिक्षक पारिश्रमिकबापत उपलब्ध गराउने रकम स्थगन गर्ने सहमति पनि भएको छ । यस्तै स्वास्थ्य उपचारको दिगो व्यवस्थापनका लागि उपयुक्त योजना सम्बन्धमा बृहत्तर छलफल गरी आपसी छलफलबाट १० दिनभित्रमा निष्कर्षमा पुग्ने सहमति पनि भएको छ ।

बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा फोहोरमैला विसर्जन सुरु भएपछि हालको सिसडोल ल्यान्डफिल्ड साइटको पोस्ट क्लोजरको कार्य प्राविधिक सिफारिसबमोजिम काठमाडौं महानगरपालिकाले तत्काल सुरु गर्ने सहमति पनि भएको छ । यस्तै, फोहोरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरूलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनीबेंसी नगरपालिका र ककनी गाउँपालिकालाई आर्थिक वर्ष ०७८/७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले एकमुष्ठ तीन–तीन करोड रुपैयाँ विनियोजन गर्ने सहमति पनि भएको छ ।

फोहोरमैला प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाहरूको स्वास्थ्य सेवा सहजताका लागि सहयोग गर्ने क्रममा धुनीबेंसी नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स खरिद गरी उपलब्ध गराउने भएको छ । उपत्यकाको फोहोर व्यवस्थापनमा भएको वरोध हटाई आजैका मितिबाट फोहोर व्यवस्थापन सुचारु गर्ने सहमति पनि भएको छ ।