मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २० शुक्रबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मार्चमा १५ हजार पर्यटक भित्रिए, कोभिडपछिकै सबैभन्दा धेरै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २० शुक्रबार ०९:४८:००

पछिल्लो ३ महिनामा कति पर्यटक ?
जनवरी  :  ८,८७४ 
फेब्रुअरी :  ९,१४६
मार्च    : १४,९७७

कोभिड–१९ पछि नेपालमा मार्च महिनामा सर्वाधिक विदेशी पर्यटक भित्रिएका छन् । वसन्त ऋतुको पर्वतारोहण सिजन सुरु भएसँगै पर्यटक आगमनमा वृद्धि देखिएको हो । अध्यागमन विभागको तथ्यांकअनुसार मार्च २०२१ मा १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल आएका छन् । यो संख्या पछिल्लो एक वर्षयताकै सबैभन्दा धेरै हो । सरकारले ११ चैत ०७६ मा लकडाउन सुरु गरेयता उक्त संख्यामा पर्यटक आएका थिएनन् ।  

विभागका अनुसार मार्चमा भित्रिएको १५ हजारसहित सन् २०२१ को पहिलो तीन महिनामा कुल ३२ हजार ९ सय ९७ जना पर्यटक नेपाल आएका छन् । कोरोना र लकडाउनअगाडि यो सिजनमा मासिक डेढ लाखसम्म पर्यटक नेपाल आउने गरेका थिए । क्रमशः पर्यटक आगमन वृद्धि हुने संकेत भने देखिएको छ । 

एक महिनाको अविधिमा भारतबाट मात्र ७ हजार ६ सय ५८ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हरेक महिनामा पर्यटक आगमन उच्चदरमा बढिरहेको छ । यसअघि जनवरी र फेब्रुअरी महिनामा भारतबाट ८ हजार ७ सय ९१ जना पर्यटक नेपाल आएका थिए । यसबीचमा भारतबाट समेत उल्लेख्य पर्यटक नेपाल आएका छन् ।

भारतपछि अमेरिकाबाट दोस्रो बढी संख्यामा पर्यटक आएका छन् । अमेरिकाबाट मार्च महिनामा मात्र १ हजार ७ सय ३ जना पर्यटक आएका छन् । तेस्रो स्थानमा चीन रहेको छ । चीनबाट १ हजार २ सय ७ जना पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । चौथो स्थानमा बेलायत रहेको छ । यहाँबाट ६ सय ६५ जना नेपाल आएको तथ्यांक छ । यस महिनामा बंगलादेशबाट भने ५ सय ६८ जना पर्यटक आएका छन् ।

एक महिनाको अवधिमा हवाईमार्गबाट नेपाल भित्रिने यात्रुको संख्या भने ७१ हजार २ सय ७० रहेको छ । यसबीचमा १४ हजार ९ सय ७७ विदेशी हुन् भने ५६ हजार २ सय ९३ जना भने नेपाली यात्रु हुन् । यसबीचमा कुल ५८ हजार ५ सय ९२ जना यात्रु भने नेपालबाट विदेश गएका छन् । यसरी नेपालबाट बिदेसिनेमध्ये ४९ हजार ५ जना नेपाली छन् । ९ हजार ५ सय ८७ जना विदेशी नेपालबाट बाहिरिएका छन् ।

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएका वा ७२ घन्टाको पिसिआर रिपोर्ट लिएर आउने पर्यटकहरूका लागि क्वारेन्टिनमा बस्नुनपर्ने निर्णय गरेसँगै पर्यटन क्षेत्र पनि उत्साहित भएको छ । सरकारले केही साताअगाडि मात्रै पर्यटक आउनलाई थप सहज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गरेको कार्यविधि पास गरेसँगै खोप लगाएर र ७२ घन्टाको पिसिआर रिपोर्ट लिएर आएका पर्यटकहरू सीधै घुम्न जान पाउने व्यवस्था गरेको हो ।

मन्त्रिपरिषद्ले पर्यटकलाई विमानस्थलबाटै अनअराइभल भिसा दिनेसमेत निर्णय गरेको छ । गत कात्तिक १ देखि भने सरकारले नेपाल आउन चाहने पर्यटकले ट्राभल तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायी तथा निकायको सिफारिसमा सोही मुलुकस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र नेपाल आउनुपर्ने व्यवस्था गरेको थियो । सरकारले विदेशी पर्यटकहरूले ५ हजार डलरको कोरोना बिमा गर्नुपर्ने व्यवस्थासमेत खारेज गरेको छ ।