१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी म्यानमार
२०७७ चैत २० शुक्रबार ०९:३७:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

‘सेनाले बालबालिका पनि बाँकी राखेनन्’ 

घरमै खेलिरहेका बालबालिका गोलीको सिकार

Read Time : > 2 मिनेट
एजेन्सी म्यानमार
२०७७ चैत २० शुक्रबार ०९:३७:००

सेभ द चिल्ड्रेनले गरेको सर्वेक्षणअनुसार सेनाको दमनबाट म्यानमारमा १ फेब्रुवरीयता ४३ बालबालिका मारिएका छन्, घरमा खेलिरहेका दुई बालिकामाथि गोली प्रहार भयो

म्यानमारमा लोकतन्त्र बहाली गराउन आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा म्यानमारको सेनाले ४३ बालबालिकाको हत्या गरेको बालबालिकासम्बन्धी काम गर्ने संस्था सेभ द चिल्ड्रेनको एक रिपोर्टमा उल्लेख भएको छ । म्यानमारका बालबालिका तथा युवा पिँढी ‘दुस्वप्न अवस्था’ का दिन बिताइरहेको सेभ द चिल्ड्रेनले भनेको छ । स्थानीय न्युज एजेन्सी म्यानमार नाउका अनुसार अहिलेसम्म पाँच सय ३६ प्रदर्शनकारीले ज्यान गुमाएका छन् ।

जसमध्ये एक वर्षदेखि १३ वर्षीया बालिकासम्म समावेश छन् । संयुक्त राष्ट्रसंघले म्यानमारमा तीव्र गतिमा रक्तपात भइरहेको जनाउँदै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । म्यानमारका सहरहरूमा मात्र होइन, सीमा क्षेत्रमा रहेका जातीय अल्पसंख्यक जनता र सेनाबीच पनि युद्ध चलिरहेको नै छ ।

१ फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गरी सेनाले सत्ता हातमा लिएको थियो । त्यसयता लोकतन्त्र बहाली गराउन नेत्री आङ सान सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले आन्दोलन चर्काइरहेको छ । 

शान्तिपूर्ण आन्दोलन नरसंहारको दिशामा
एनएलडीका समर्थक तथा अन्य सर्वसाधारणले सेनासमक्ष एउटै मुद्दा उठाइरहेका छन् । उनीहरूले नेत्री सुकीको रिहाइ तथा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने माग राखेका छन् । तर, सेना प्रदर्शनकारीको एउटा पनि माग सुन्ने पक्षमा देखिँदैन । झन् उल्टै सेना उग्र रूपमा नरसंहार गरिरहेको छ । सुरुका दिनमा दशौँ हजार प्रदर्शनकारी शान्त रूपमा सडकमा निस्किए । त्यति वेला सेनाले सामान्य आत्दोलनमा झैँ पानीको फोहोरा मात्र प्रयोग गरेको थियो । एक सातापछि आन्दोलनले फरक मोड लियो । सेनाले अचानक प्रदर्शनकारीमाथि रबरको गोली चलायो । प्रदर्शनकारी पनि 

पेट्रोल बमसहित सेनाविरुद्ध खनिए । सेनाको दमन तोड्ने उद्देश्यका साथ प्रदर्शनकारीले विभिन्न ४४ सहरमा आन्दोलन झनै चर्काए । सेनाले रबर बुलेट तथा प्रत्यक्ष गोलाबारुद प्रयोग गरिरहेको छ । गत शनिबार प्रदर्शन निकै उचाइमा पुग्यो । यस क्रममा सेनाले विनाहतियार शान्तिपूर्वक आन्दोलन गरिरहेका प्रदर्शनकारीमाथि आक्रामक शैली अपनायो । जसमा एक सय ४४ व्यक्तिको निधन भयो । त्यस दिन सात बालबालिकाको पनि गोली लागेर निधन भयो । 

मानसिक यातनामा
यो अवस्थामा म्यानमारका बालबालिका एक फरक किसिमको मानसिक यातनामा गुज्रिरहेका छन् । ‘हिंसाले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ, किनकि उनीहरूमा भय, शोक र तनाव देखिन्छ,’ सेभ द चिल्ड्रेनले भन्यो, ‘म्यानमारको भविष्य कोर्ने बालबालिका भयानक हिंसाको साक्षी बनिरहेका छन्, दिनदिनै सेनाको दमन प्रत्यक्ष आँखाले देखिरहेका बालबालिका यसबाट कहिले मुक्त पाउने भनी प्रतीक्षामा छन्,’ सेभ द चिल्ड्रेनले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान अवस्था विश्लेषण गर्दा हामी यति मात्र भन्न सक्छौँ, वास्तवमै म्यानमारमा बालबालिकाको कुनै भविष्य छैन ।’ 

घरमै खेलिरहेका बालबालिका गोलीको सिकार
प्रत्यक्षदर्शीहरूका अनुसार सेना र सशस्त्र प्रहरी बलले आन्दोलन बिथोल्न अनियन्त्रित रूपमा बल प्रयोग गरिरहेका छन् । चाहे सडक वा घरमै बसेका नागरिक किन नहुन्, सेनाले उनीहरूमाथि गोली प्रहार गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । यो आन्दोलनमा ६ वर्षीया बालिका खिन मायो चित्तले त्यतिकै ज्यान गुमाइन् । म्यानमारको ठूलो सहरमध्येमा पर्ने म्यान्डलेस्थिति मायो चित्तको घरमा सेनाले छापा मारेको थियो । सेनाले छापा मार्न आएको देखेर मायो चित्त आफ्ना बुबासँगै कुदे । तर, सेनाले मायो चित्तको टाउकोमै गोलीको निसाना बनायो । ‘सेनाले अचानक ढोका फोड्यो, बुबासँगै मेरी बहिनी भागेकी थिइन्, केही बेरमै सेनाको गोली लागेर बहिनीले ज्यान गुमाइन्,’ मायो चित्तकी दिदी माय थुउले बिबिसीलाई भनिन्, ‘सेनाले बुबा कहाँ छ भनी सोधपुछ गरेको थियो, पछाडिबाट बुबाले बहिनीलाई लिएर भाग्नुभयो, सेनाले अन्धधुन्ध गोली चलाउँदा मेरी बहिनी संसारबाट बिदा भइन् ।’ 

यद्यपि, घरमा परिवारका अन्य सदस्य थिए । तर, आफ्नो ज्यान सुरक्षित नरहेको महसुस गर्दै बुबा भागेको माय थुउले बताइन् । ‘बुबा आत्तिएको जस्तो लाग्यो, यदि सेनाको अगाडि उपस्थित भएको भए आज बहिनी मेरो साथ हुने थिई होला,’ २५ वर्षीया माय थुउ बताउँछिन् । सेनाले घरभित्र वा आँगनमै बालबालिका खेलिरहेको वेलामा पनि गोली प्रहार गरेको सेभ द चिल्ड्रेनको रिपोर्टमा उल्लेख छ ।

यांगुनका दुई बालिका यस्तै घटनाको सिकार भएका थिए । १४ र १३ वर्षीया बालिकाले घरमै बसिरहेको अवस्थामै सेनाको गोलीबाट प्राण त्यागेको सेभ द चिल्ड्रेनको भनाइ छ । गत साताको नरसंहारमा भर्खरको एक वर्षका बालकको आँखामा रबरको गोली लागेको थियो । ती बालकको तत्कालै निधन भयो । बालबालिकाको मृत्युसँगै घाइतेको संख्या पनि अझ बढिरहेको छ । अहिलेसम्म कति बालबालिका घाइते भए भनी कुनै तथ्यांक नै सार्वजनिक भएको छैन ।