Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २० शुक्रबार ११:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २० शुक्रबार ११:२९:००

नेपालमा पहिलोपटक सबै निकायबाट हुने अपराधको एकीकृत तथ्यांक राखिँदै

देशका सम्पूर्ण अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजनाअन्तर्गत नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ । प्रहरीबाहेक अन्य निकायबाट भएका अपराध र त्यसमा संलग्न व्यक्तिहरूको समेत एकीकृत रूपमा तथ्यांक राख्न लागिएको हो ।

कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गत यस्तो केन्द्र स्थापना हुन लागेको हो । नेपालमा यसरी पहिलोपटक सबै निकायबाट हुने अपराधको एकीकृत तथ्यांक राख्न लागिएको हो । यसले अपराधमा संलग्न व्यक्तिहरूको सूचना आदानप्रदानमा सहज हुने नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । 

प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभागजस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिहरूको समेत एकीकृत तथ्यांक राखिनेछ । ‘यसबाट एउटा निकायले खोजिरहेका व्यक्ति अन्य निकायको अनुसन्धानको क्रममा रहेकोसमेत हुन सक्ने भएकाले अनुसन्धान गर्ने निकायलाई सहज हुन्छ,’ कुँवरले भने । यसका लागि सफ्टवेयर निर्माणको काम सम्पन्न भइसकेको उनको भनाइ छ । 

एकीकृत अभिलेख राख्दा अन्य किमिसको अपराध तथा भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिले पनि प्रहरी रिपोर्ट नपाउन सक्छन् । हाल प्रहरीले मुद्दा दायर गरेका अपराधको रेकर्डका आधारमा मात्र प्रहरी रिपोर्ट दिने गरिएको छ । गृह मन्त्रालयकै योजनाअनुसार यसरी एकीकृत अपराध सूचना केन्द्र स्थापना हुन लागेको हो ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी दीर्घकालीन रूपान्तरण अवधारणाको मार्गचित्र निर्माणबारे छलफल अघि बढाएको छ । प्रहरी समायोजन हुन लागेकाले त्यस अवस्था आउन सक्ने चुनौतीलाई आकलन मार्गचित्र बनाउन लागेको हो । नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूको सेवाप्रतिको सन्तुष्टि र कार्यसम्पादनमा पार्ने असरका बारेमा अध्ययन अनुसन्धानको कार्य सुरु गरिएको प्रवक्ता कुँवरले बताए । यसअघि जवान र हवल्दारको समस्याको अध्ययन गरिएको थियो । 

पुराना र जोखिमपूर्ण भवनमा बसेर सेवा दिँदै आएको प्रहरीले पछिल्लो वर्ष भवन निर्माणमा प्रगति गरेको छ । यो वर्ष प्रहरीले ५० भवन निर्माण सम्पन्न गर्ने उद्देश्य लिएको र त्यसमध्ये २१ वटा सम्पन्न भएको र २० वटा निर्माणको काम भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदेश सरकारले प्रहरीका ३१ भवन बनाइसकेको छ । ८० वटा निर्माणको क्रममा छन् भने २६ वटा टेन्डर प्रक्रियामा छन् । 

आठ महिनामा ४७ सय फरार अपराधी पक्राउ 
अदालतबाट दोषी ठहर भई फरार रहेकाविरुद्ध प्रहरीले देशव्यापी रूपमा थालेको अभियान सफल देखिएको छ । चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा चार हजार सात सय पाँचजना फरार अपराधी पक्राउ परेका छन् । गत आर्थिक वर्षमा दुई हजार तीन सय ३२ मात्र पक्राउ परेका थिए । फरार अपराधीबाट २४ करोड ३५ लाख २३ हजार ५३ रुपैयाँ जरिवाना तथा दुई हजार नौ सय १० वर्ष कैद सजाय पनि भुक्तान गराएको छ ।

आठ महिनाको अवधिमा राजस्व संकलनमा प्रहरीको योगदान पनि वृद्धि भएको छ । यो अवधिमा दुई अर्ब १२ करोड ७४ लाख ५७ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षमा एक अर्ब ५७ करोड ५२ लाख रुपैयाँ प्रहरीबाट संकलन भएको थियो ।