मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत १९ बिहीबार १६:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा १२औँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

रोग नियन्त्रण चुनौतीपुर्ण

Read Time : > 1 मिनेट
२०७७ चैत १९ बिहीबार १६:३८:००

लमजुङमा हात्तीपाइले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको छ । लगातर ६ वर्षसम्म औषधि सेवन गरेमा रोग निको हुने भनिए तापनि लमजुङमा ११ वर्षसम्म औषधि सेवन गर्दासमेत रोग निको हुन सकेको छैन । जिल्लामा रोग नियन्त्रणका लागि २००९ देखि कार्यक्रम लागू भए तापनि न्यूनीकरण नहुँदा रोग नियन्त्रण गर्न चुनौती बढेको हो । 

हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारी अभिया समेत सञ्चालन गरिएको छ । जिल्लामा सन् २००९ देखि २०१५ सम्ममा हात्तीपाइले रोग नियन्त्रण कार्यक्रम सञ्चालन गरे तापनि न्यूनीकरण भने हुन सकेको छैन । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुसार लमजुङमा सातौँ चरणको औषधि सेवन अर्थात् दोस्रो प्रिटान्स गर्दा ५ दशमलव ३२ प्रतिशत संक्रमित फेला परेका थिए ।

आठौँ, नवौँ, दशौँ र ११औँ राउन्डको औषधि सेवन तथा तेस्रो प्रिटान्समा त्यो संख्या घटेर हाल ४ दशमलव ९ प्रतिशत कायम भएको प्रमुख दवाडीले बताए ।उनका अनुसार रोग निदानका लागि हुनुपर्ने एक प्रतिशतभन्दा कम लक्ष्य हासिल हुन नसकेको हुँदा १२औँ चरणको अभियान सञ्चालन गर्नुपरेकोे हो ।

राइनासमा एक सय १५ जना संक्रमित
लमजुङको राइनास नगरपालिकाको चक्रतीर्थ र धमिलीकुवा क्षेत्रलाई बढी प्रभावित क्षेत्रको रूपमा लिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त क्षेत्रमा एक सय १५ जना संक्रमित भेटिएका हुन् । यस नगरपालिकामा मात्रै एक सय १५ जनामा हात्तीपाइले रोगका लक्षण भएका हात्तीपाइले रोगका बिरामी रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । जसमा ३० जनामा खुट्टा सुनिने, ७६ जनामा हाइड्रोसिल र नाैजनामा यौनांग सुन्निनेलगायतका लक्षण रहेको कार्यालयका प्रमुख दवाडीले जानकारी दिए । 

जिल्ला स्वास्थ्य कार्यालय लमजुङको आर्थिक वर्ष ०७५ को तथ्यांकअनुसार लमजुङमा हालसम्म एक सय ३९ जनामा हात्तीपाइलेको लक्षण देखिएका बिरामी छन् । जसमा ३९ जनाको गोडा सुन्निएको, ९० जनाको हाइड्रोसिल र नाैजनामा अन्य हात्तीपाइले रोगका लक्षण रहेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख दवाडीले बताए । जिल्लामा यस वर्ष चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । 

औषधि सेवन नगर्दा समस्या
औषधिका कारण ‘साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा यो रोगविरुद्धको औषधि सेवन नगर्ने स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । जिल्लामा ग्रामीण क्षेत्रका बासिन्दाले औषधि खानेदर सहरी क्षेत्रको तुलनामा बढी रहेको छ । दुई वर्ष उमेरमाथिका, दीर्घरोगी, गर्भवती, सिकिस्त बिरामी, मुटु–कलेजो रोगी, मिर्गौला र छारे रोगीबाहेकका सबैले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि शिक्षित, सम्पन्न र हुनेखानेले नै औषधि नखाने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख दवाडी बताउँछन् ।