मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १९ बिहीबार ११:४९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलकुद पत्रकारका लागि एनएसजेएफ एकेडेमी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १९ बिहीबार ११:४९:००

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ । मञ्चले बुधबार विशेष समारोहबीच एनएसजेएफ एकेडेमीको उद्घाटन गरेको हो ।

मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने लक्ष्यका साथ एकेडेमी सुरु गरेको जनाएको छ । पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धिमा एकेडेमीले सहयोग गर्ने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले बताए । उनका अनुसार एकेडेमीले अनुसन्धान र खेलको अभिलेखीकरणमा सहयोग गर्नेछ । ‘एकेडेमी मुख्यतः तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुनेछ, सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोगविना एकेडेमीको काम अघि बढाउन कठिन छ,’ सुवेदीले भने, ‘एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।’ 

कार्यक्रममा खेलकुदमन्त्री दावा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे । यसका लागि सरकारको साथ र सहयोग रहने उनले प्रतिबद्धता जनाए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षतासमेत अभिवृद्धि गर्नुपर्ने बताए । ‘धेरै खेलको रिपोर्टिङ भएको छैन, समाचारमा खेलको विस्तृत विश्लेषण हुँदैन, अब एकेडेमीले समग्रतामा सिंगो खेलकुदलाई मद्दत गर्छ,’ श्रेष्ठले भने, ‘यो परियोजनाले खेलकुद जगतमा राम्रो भूमिका खेल्छ भन्ने विश्वास लिएका छौँ, यसले खेलकुदलाई परिवर्तन गर्नेछ, ओलम्पिक कमिटी सहकार्य गर्न तयार छ ।’ 

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद विधाका पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने बताए । खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै सदस्यसचिव सिलवालले खेलकुदका संघहरूले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी रहेको बताए । 

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्दै खेल पत्रकारिताको विकासमा सहयोग गर्न तयार रहेको बताए । यस्तै एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले एकेडेमीको औचित्य र आवश्यकतामाथि प्रस्ट पारेका थिए । खेलकुद क्षेत्रको सम्मानका लागि हरेक वर्ष स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको मञ्चले खेल पत्रकारको क्षमता वृद्धि विकासका लागि एकेडेमी सञ्चालनमा ल्याएको हो । 

काम नगर्ने संघ खारेज हुने
कार्यक्रममा परिषद्का सदस्यसचिव सिलवालले कामै नगर्ने संघ खारेजीमा पर्न सक्ने चेतावनी दिएका छन् । ‘केही योजना नबुझाउने, सरकारको नीति निर्देशनअनुसार अडिट रिपोर्ट नबुझाउने संघहरू खारेज गरिनेछ,’ उनले भने, ‘जुन संघले खेलाडी, प्रशिक्षक, अफिसियल उत्पादन गर्दैन, प्रतियोगिता आयोजना गर्दैन त्यस्ता संघ जीवित हुनुभन्दा मृत भए राम्रो ।’ 

राखेपमा दुई सयभन्दा बढी संघ क्रियाशील रहेको प्रसंग उठाउँदै सिलवालले भने, ‘खेलकुद गतिविधि नभएका, मैदान नभएका संघ पनि जिल्लामा गठन भएका छन् ।’ भोटका लागि आफ्नो अस्तित्व राखेको, विदेश जाने मनसायका साथ फर्जी काम गरेको पाइएमा त्यस्ता संघलाई कडा निगरानी गरिने उनको भनाइ छ । ‘केवल विदेश यात्रा र भोटिङका लागि मात्र संघ चलाउने अब खारेज हुनेछन्, थप चेतावनी दिँदै उनले भने, ‘यो तपाईंले लेखिदिए पनि हुन्छ ।’ 

निष्क्रिय संघप्रति आक्रामक हुँदै सिलवालले भने, ‘नक्कली र चुनाव नभएको संघ अब खारेज हुन्छ, आम्दानी–खर्च देखाउनुपर्छ, संघ सिस्टममा चल्नुपर्छ ।’ उनले राम्रो काम गर्ने संघलाई सधैँ स्यालुट गर्ने बताए । भन्छन्, ‘राम्रो कार्यक्रम ल्याउने संघलाई स्यालुट गर्छु म । ‘पुस मसान्तमा अडिट बुझाउनुपर्ने, चैत भइसक्यो अझै बुझाएका छैनन् ।’