१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १९ बिहीबार ११:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

न्यूनतम पारिश्रमिक वृद्धि गर्न मजदुर युनियनको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १९ बिहीबार ११:१६:००

मजदुर युनियनको छाता संगठन जेटियुसिसीले उद्योग वाणिज्य महासंघ र सरकारलाई ज्ञापनपत्र बुझाएर पारिश्रमिक वृद्धिलगायत माग राखेको छ

मजदुर युनियनहरूको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ । जेटियुसिसीले सरकार र निजी क्षेत्रका छाता संगठनलाई ज्ञापनपत्र बुझाएर पारिश्रमिक वृद्धिलगायतका माग राखेको हो । 

जेटियुसिसीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव सूर्यप्रसाद गौतमलाई र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालाई न्यूनतम पारिश्रमिक वृद्धिलगायत माग राखी ज्ञापनपत्र बुझाएको हो । 

कानुनअनुसार न्यूनतम वेतन वृद्धि नगरिएपछि रोजगारदाता र सरकारलाई घचघच्याउन ज्ञापनपत्र बुझाइएको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष जगत सिम्खडाको बताए । सामाजिक सुरक्षा तथा श्रम ऐनको कार्यान्वयनका लागिसमेत सरकार र निजी क्षेत्रको ध्यानाकर्षण गराएको उनले बताए । 

‘कानुनत श्रमिकको न्यूनतम पारिश्रमिक दुई–दुई वर्षमा वृद्धि गरिनुपर्ने हो, तर तीन वर्षदेखि उस्तै छ, अझ मजदुरलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामसमेत प्रभावकारी रूपमा हुन सकेको छैन,’ सिम्खडाले भने, ‘न्यूनतम वेतन बढाउन र सामाजिक सुरक्षामा मजदुरलाई जोड्न सरकारले पहलकदमी नलिएको र रोजगारदातासमेत अनिच्छुक देखिएकाले आज ज्ञापनपत्र बुझाएर आफ्ना माग राखेका हौँ ।’ 

महामारीका कारण धेरै रोजगार प्रतिष्ठानले स्थायी मजदुर कर्मचारीलाई हटाएर अस्थायी मात्रै राख्ने गरेको, धेरै मजदुरहरू रोजगारविहीन भएको तथा कानुनअनुसार तलब नबढेकोप्रति जेटियुसिसीले सरकार र निजी क्षेत्रको ध्यानाकर्षण गराएको उनले बताए । जेटियुसिसीले आफ्ना माग पूरा नभए देशव्यापी आन्दोलनमा जानेसमेत चेतावनी दिएको छ । 

महासंघ–जेटियुसिसीबीचको सहकार्यमा गोल्छाको जोड
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को सहकार्यमा जोड दिएका छन् । अध्यक्ष गोल्छासहित महासंघका पदाधिकारी र जेटियुसिसीका अध्यक्ष जगत सिम्खडाको नेतृत्वको प्रतिनिधिमण्डलबीच मंगलबार भएको भेटवार्तामा उनले आपसी सहकार्य र समन्वयमा जोड दिएका हुन् । 

अध्यक्ष गोल्छाले उद्योग–व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटेललगायत केही उद्योगहरू अझै तंग्रिन नसकेको बताए । मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशील रहेको उनले स्पष्ट पारे । लकडाउनको समयमा महासंघले जेटियुसिसीसँग नजिकमा रहेर काम गरेको प्रसंग उल्लेख गर्दै मुलुकभित्र श्रम सम्बन्धलाई थप मजबुत बनाउन महासंघ र जेटियुसिसीबीचको सहकार्यमा जोड दिए ।

सोही अवसरमा जेटियुसीसीले रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रहसहित ज्ञापनपत्रसमेत बुझाएको छ । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष शुकुन्तलाल हिराचन सहभागी रहेका थिए ।