मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी ब्रासिलिया
२०७७ चैत १९ बिहीबार ११:०३:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

समस्यामा ब्राजिलका राष्ट्रपति

Read Time : > 2 मिनेट
एजेन्सी ब्रासिलिया
२०७७ चैत १९ बिहीबार ११:०३:००

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो यतिवेला ठूलो दबाबमा छन् । देशका तीनवटा प्रमुख सुरक्षा निकाय प्रमुखले बुधबार एकैपटक राजीनामा दिएपछि ब्राजिलियन राष्ट्रपति बोल्सोनारोले चर्को राजनीतिक दबाबको सामना गर्नुपरेको जनाइएको छ । सेना, जलसेना र हवाई सेनाका प्रमुखले संयुक्त रूपमा राजीनामा दिएका हुन् । राष्ट्रपति सुरक्षा निकायमाथि अनावश्यक दबाब सिर्जना गरेको विरोधमा तीनवटै सुरक्षा निकायका प्रमुखले राजीनामा दिएको रक्षा मन्त्रालयले जानकारी दिएको छ । 

दुई दिनभित्र राष्ट्रपति बोल्सोनारोले अप्रत्याशित घटनाको सामना गरेका हुन् । यसअघि सोमबार मात्रै विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा बुझाएका थिए । दुई प्रमुख मन्त्रीको राजीनामापछि बोल्सोनारोले मन्त्रिपरिषद्‌ पुनर्गठन गर्न बाध्य भएका छन् । 

विदेशमन्त्री राष्ट्रपतिका निकट मानिन्छन् । तर, सांसदहरूको आलोचनापछि उनले राजीनामा दिए । सन् २०१९ को जनवरीमा बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक संकटको सामना गरिरहेका छन् । कोरोना भाइरस संक्रमणबाट सबैभन्दा प्रभावित मुलुकको दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोना भाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा रहेको छ । ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ, एक करोड २५ लाखमा संक्रमण पुष्टि भएको छ । यहाँ दैनिक तीन हजार सात सय ८० संक्रमित भइरहेका छन् । 

सुरक्षा निकायमाथि अनावश्यक दबाब सिर्जना गरेको विरोधमा सेना, जलसेना र हवाई सेनाका प्रमुखले बुधबार एकैसाथ राजीनामा दिएपछि राष्ट्रपति बोल्सोनारोले चर्को राजनीतिक संकट सामना गरेका छन्

गल्ती कहाँ ?
कोरोना भाइरस नियन्त्रण गर्न राष्ट्रपति बोल्सोनारो अक्षम भएको जनाइएको छ । ४३ प्रतिशत ब्राजिलियनले वर्तमान राष्ट्रपतिले कोभिड–१९ नियन्त्रण गर्न प्रभावकारी नीति नअपनाएको आरोप लगाएका छन् । मार्च महिनामै डाटाफोल्हाले गरेको एक सर्वेक्षणमा ४३ प्रतिशत जनताले राष्ट्रपतिविरुद्ध मतदान गरेका छन् । ‘कोभिड–१९ को महामारीलाई राष्ट्रपतिले हल्का रूपमा लिएका छन्, यसलाई नियन्त्रण गर्न कुनै ठोस योजना सरकारले ल्याउन सकेन,’ सर्वेक्षणको क्रममा ब्राजिलियन जनताले भनेका थिए । 

यो एक वर्षभित्र चार स्वास्थ्यमन्त्री परिवर्तन भएका छन् । राष्ट्रपति बोल्सोनारोले १६ मार्चमै नयाँ स्वास्थ्यमन्त्रीलाई नियुक्ति दिए । अनुभव नभएका व्यक्तिहरूलाई कोभिड–१९ नियन्त्रण गर्न प्रमुख जिम्मेवारी दिँदा नयाँ स्वास्थ्यमन्त्री आलोचित बने । यसैगरी, परराष्ट्रमन्त्रीले चीनसँगको सम्बन्ध बिगार्ने काम गरेका थिए । परराष्ट्रमन्त्रीको वैदेशिक नीतिकै कारण ब्राजिलमा चीनबाट कोभिड–१९ को खोप पर्याप्त आउन सकेन । 

केही समयअघि रक्षामन्त्री र राष्ट्रपतिबीच भनाभन नै भएको थियो । राष्ट्रपतिले सुरक्षा निकाय सधैँ राष्ट्र र राष्ट्रप्रमुखसँग बफादार हुनुपर्ने टिप्पणी गरेका थिए । यस टिप्पणीपछि रक्षामन्त्री र राष्ट्रपतिबीच मतभेद भएको हो । रक्षामन्त्रीले राष्ट्रपतिभन्दा पनि संविधानप्रति आफू बफादार हुने जनाए । वेलावेलामा राष्ट्रपतिले विवादास्पद अभिव्यक्ति दिँदा पनि जनता र मन्त्रीहरू नै चिढिएका छन् । यस्तै विविध कारणले गर्दा नै राष्ट्रपति यतिवेला संकटमा रहेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । 

ब्राजिलमा कोभिड अवस्था
कोरोना भाइरसको पहिलो लहर चलिरहेको वेलामा राष्ट्रपति बोल्सोनारोले त्यसलाई हल्का रूपमा लिए । पहिलो चरणको कार्यक्रम नै विफल भएकै वेला कोरोनाको दोस्रो लहर चल्यो । यो दुई चरणमा चुक्दा ब्राजिलमा दिनप्रतिदिन संक्रमित र मृतक संख्या बढिरहेको हो । 

स्वास्थ्य संस्था फिओक्रुजले ब्राजिलको सबै स्वास्थ्य संयन्त्र असफल भएको जनाएको छ । यहाँका सबै अस्पतालमा ८० प्रतिशत कोभिड–१९ ले भरिएको फिओक्रुजले जनाएको छ । रियो ग्रान्डे अस्पतालका डाक्टर पेड्रोले ब्राजिलकै कारण विश्वमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । 

कोभिड–१९ को महामारीका वेला पनि राष्ट्रपति बोल्सोनारो लकडाउनको विपक्षमै उभिएका थिए । उनले लकडाउनले देशको अर्थतन्त्र धराशायी हुने अभिव्यक्ति दिँदै यसप्रति खासै चासो नदेखाएको आरोप छ । 

ब्राजिलमा कोरोनाको नयाँ प्रजाति फेला परेको वेला पनि राष्ट्रपतिले जनतालाई ‘रुने काम रोक्नुपर्ने’ जनाए । यसबाट जनता पनि उनीसँग खुसी छैनन् । राष्ट्रपतिकै खराब रणनीतिकै कारण ब्राजिलमा अहिले केवल आठ प्रतिशतले मात्र भ्याक्सिन लगाएका छन् ।