मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जीवन बस्नेत काठमाडाैं
२०७७ चैत १९ बिहीबार ०९:२१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

ड्राइभिङ लाइसेन्स पास गर्न लिखितमा ८०  र ट्रायलमा ७० अंक ल्याउनुपर्ने

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७७ चैत १९ बिहीबार ०९:२१:००

जेठदेखि कार्यान्वयनमा ल्याउने तयारी, मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि मात्र

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि लिइने प्रयोगात्मक र लिखित परीक्षामा परिवर्तन गरेको छ । यसअघि शतप्रतिशत अंक ल्याएर पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्सका लागि योग्य मानिने भएको छ । तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने अब ८० अंक ल्याउनुपर्ने भएको छ । अहिले प्रयोगात्मक परीक्षामा पास हुन शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यससम्बन्धी कार्यविधि निर्देशिका स्वीकृत गरिसकेको छ । अब यातायात व्यवस्था विभागले मिति तोकेर यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउनेछ । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार जेठदेखि कार्यान्वयनमा ल्याउने तयारी छ । सरकारले स्वीकृत गरेको सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार परीक्षाको परिवर्तित व्यवस्था मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि मात्र कार्यान्वयन हुनेछ । 

लिखितका लागि ५ सय प्रश्नको सँगालो 
लिखित परीक्षाका लागि विभागले ५ सय वस्तुगत बहुउत्तर प्रश्नको संग्रह प्रकाशन गर्नेछ । त्यही संग्रहबाट मात्र लिखित परीक्षाको प्रश्नपत्र तयार गर्नुपर्नेछ । लिखित परीक्षा ३० मिनेटको हुनेछ भने विद्युतीय माध्यमबाट समेत परीक्षा सञ्चालन गर्न सकिनेछ । लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारीसाधनको प्राविधिक पक्ष समेटिएको सामान्य व्यावहारिक ज्ञानको विषय समेटिनेछ ।

१ सय पूर्णांक र २० वटा प्रश्न हुनेछन् । सबै प्रश्नको अंकभार पाँच हुनेछ । अहिले पनि ३० मिनेटमा लिखित परीक्षाको समयावधि थियो भने २० वटा प्रश्न सोधिएका हुन्छन् । त्यसमध्ये १० वटाको सही उत्तर दिनुपर्ने व्यवस्था रहेको छ । लिखित परीक्षामा पास भएको व्यक्तिले मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछ ।

कुन चरणको अंकभार कति ? 
प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक–फरक निर्धारण गरिएको छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा तीन अंक घट्नेछ । हेलमेटका लक नलगाई सवारी चलाएमा चार अंक र अस्वाभाविक गतिमा वा असम्यमित रूपमा सवारी चलाएमा तीन अंक घट्नेछ ।

घुमाउरो आठको अंकभार २० अंक छ । जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ । यति हुँदैमा परीक्षार्थी फेल हुनेछैन । घुमाउरो आठमा एकपटकभन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ ।

साँघुरो फलेकको अंकभार १० रहेको छ । यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ ।  यहाँ खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ । त्यस्तै, यु–टर्नको अंकभार १० रहेको छ । टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ । यु–टर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ ।

ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ । ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ । स्पिड ब्रेकर वा उबडखाबडको अंकभार १५ रहेको छ । स्पिड ब्रेकरमा एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ । स्पिड ब्रेकरमा एकपटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ ।

यसबाहेक र्‍याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ । उकालोमा कुनै गल्ती भए फेल हुनेछ । उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ । रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ ।

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाइने
सरकारले स्वीकृत गरेको निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफैँले सवारीसाधनको व्यवस्था गर्न पाइने व्यवस्था गरिएको छ । तर, तोकिएको निश्चित मापदण्ड भने पूरा गरिनुपर्छ । प्रयोगात्मक परीक्षामा प्रयोग हुने कार, जिप वा भ्यान पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्छ । इन्जिनको आयतन कम्तीमा ७५० सिसी हुनुपर्नेछ । व्हिल बेस कम्तीमा २३०० मिलिमिटर, लम्बाइ, चौडाइ र उचाइ कम्तीमा ३३००, १४५० र १४५० मिलिमिटर हुनुपर्नेलगायत छन् । 

त्यस्तै, मोटरसाइकल वा स्कुटरको हकमा पेट्रोलबाट चल्ने, इन्जिनको विस्थापन आयतन कम्तीमा ९५ सिसी भएको, ह्विल बेस कम्तीमा १२ सय मिलिमिटर भएको हुनुपर्नेछ । यसबाहेक मोटरसाइकलको हकमा म्यानुअल ट्रान्समिसन प्रणाली भएको, सवारीमा हिल होल्ड, हिल असिस्ट वा समान प्रकृतिको प्रणाली जडान नभएको, सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको र बहाल अवधि बाँकी रहेको तेस्रो पक्षको बिमा भएको हुनुपर्नेछ । 

मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानचालकले प्रयोगात्मक परीक्षाका लागि सात चरणको परीक्षा पास गर्नुपर्नेछ । जसमा घुमाउरो आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिक लाइट परीक्षण, स्पिड ब्रेकर परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण गर्नुपर्नेछ ।