मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १९ बिहीबार ०७:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

केपी ओली समस्या हुन् : नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १९ बिहीबार ०७:००:००

एमाले वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी ओली सुध्रिएर आए सहकार्यको सम्भावना रहेको बताएका छन् । बुधबार आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्ने क्रममा नेता नेपालले ओलीले जहिले पनि पार्टीमा समस्या मात्र निम्त्याउने गरेको आरोप लगाए । 

देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको अभियोगमा एमाले नेता नेपाल र भीम रावललाई ओलीले सोमबार ६ महिनाका लागि निलम्बन गरेका छन् । त्यसलगत्तै नेपालले ओली सुध्रिए उनीसँग सहकार्य गरेर जान सकिने भए पनि त्यसको सम्भावना कम रहेको उल्लेख गरेका हुन् । 

‘उहाँ (ओली) ३ जेठ ०७५ भन्दा अघिको अवस्थामा जाने, सबैलाई यथावत् रूपमा स्विकार्ने र २८ फागुनको बैठक तथा त्यसपश्चात्को बैठक र तिनका निर्णयलाई फिर्ता लिनुहुन्छ भने एउटा आशाको त्यान्द्रो बाँकी छ,’ उनले भने, ‘होइन भने त्यो पनि देखिँदैन । उहाँ सुध्रिनुहुन्छ भन्ने मलाई लाग्दैन, त्यही पनि सुध्रिनुभयो भने हामी सकारात्मक ढंगले नै जानेछौँ ।’ उनले ओली गुटको अर्को नाम मात्रै भएको टिप्पणी गर्दै उनका गलत कदम र प्रवृत्तिविरुद्ध जुध्न चाहने सबैलाई संगठित गरेर, एकताबद्ध बनाएर अघि बढ्ने बताए । ‘केपी ओली भनेको गुटको अर्को नाम मात्रै हो । मैले उहिल्यैदेखि भनेको छु, केपी ओली समस्या हो, समाधान होइन । ओली समस्या हुन्, माधव नेपाल समाधान हो, यो बुझे हुन्छ,’ नेपालले भने ।

उनले अब ओली प्रवृत्तिका विरुद्ध देशव्यापी अभियानमा जाने र सबैलाई संगठित गर्दै, योग्यता र क्षमताको आधारमा परिचालित गरिनेसमेत बताए । ‘हामी राष्ट्रियताका निम्ति प्रतिबद्ध हुनेछौँ । हामी लोकतन्त्रको मूल्य, मान्यताका लागि कटिबद्ध हुनेछौँ । सामाजिक परिवर्तनको आन्दोलनमा दृढताका साथ लागिरहनेछौँ,’ उनले भने, ‘हाम्रो यो आन्दोलनप्रतिको प्रतिबद्धता हो । आफूलाई ओलीले पार्टीमा नल्याएको र सदस्यता पनि नदिएकाले कारबाहीको कुनै अर्थ नरहेको नेपालको भनाइ थियो । उनले ओलीले सर्वोच्चको निर्णयको अवज्ञा र पार्टीको नवौँ महाधिवेशनको मर्मविपरीत काम गरिरहेको टिप्पणी गरे । ‘कारबाहीको केही अर्थै छैन, हामीले अस्वीकार गर्छौँ भनिसकेका छौँ । उहाँले सदस्यता दिएको पनि होइन, पार्टीमा ल्याएको पनि होइन,’ उनले भने, ‘मलाई केपी ओलीले निकाल्ने ? त्यो पनि कसैले सोच्न सक्छ ?’

नेता नेपालले आगामी दिनमा सबै वामपन्थी र लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने बताए । पार्टीबाट निकालिसकेपछि सडकमा बसेर हिँड्ने कुरा नआउने उनको भनाइ थियो । देशभरका कार्यकर्ताले के भन्छन् त्यसैको आधारमा अघि बढ्ने नेपालले स्पष्ट पारे ।