१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १८ बुधबार १८:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुलाकी राजमार्गका १३ प्याकेज निर्माण सम्पन्न

भौतिक योजनामन्त्री र भारतीय राजदूतद्वारा  उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १८ बुधबार १८:३७:००

भारत सरकारको करिब आठ अर्ब रुपैयाँ  सहयोगमा निर्माणाधीन तराई मधेसको हुलाकी सडकका १४ प्याकेजमध्ये १३ वटा प्याकेज निर्माण बुधबार सम्पन्न भएको घोषणा भएको छ । भौतिक  पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रूपमा हुलाकी सडक उद्घाटन गरेका छन् । हुलाकी राजमार्गलाई १० खण्डमा विभाजित गरी १४ प्याकेजमा निर्माण थालिएको थियो । 

निर्माण सम्पन्न भएर प्रयोगमा आएका हुलाकी राजमार्गका विभिन्न खण्डहरूमा बाराको मनमत–कलैया–मटियर्वा, प्याकेज १ र २, धनुषाको वीरेन्द्रबजार–यदुकुहा–महिन्थपुर प्याकेज १ र २,  जनकपुर–यदुकुहा, महोत्तरीको माईस्थान–गौशालाबजार–सम्सी, महोत्तरीको जलेश्वर–हर्दी, दाङकाे लमही–कोइलाबास, मोरङकाे कानेपोखरी–रंगेली, सप्तरीको कल्याणपुर–बरसाई–सुभ्रानपट्टी, बाराको तामागढी–सिम्रौनगढ, प्याकेज १ र २, पर्साको वीरगन्ज–ठोरी, प्याकेज १ र २ निर्माण सम्पन्न भएका छन् ।

सडक निर्माण सम्पन्न घोषणा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, उपसचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहितकुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा पनि सहभागी थिए ।

तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नति गर्ने हुलाकी राजमार्गले पूर्व–पश्चिम राजमार्गमा अवस्थित प्रमुख सहरहरूलाई भारत–नेपाल सीमासँग जोडेका छन् ।  प्रदेश १, २ र ५ का ७ सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरूले दुई सय ८४ भन्दा बढी वडा, एक सय ४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उपमहानगरपालिका र एक महानगरपालिका जोडिएका छन् । 

नेपाल सरकारको सडक विभागले निर्धारण गरेको मापदण्डअनुरूप सडकहरूको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवैतर्फ दुई मिटरको रोड साेल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोवास क्षेत्रमा रेलिङसहितको पदमार्ग, सडक चिह्न र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजनाअन्तर्गत ६ सय ५२ भन्दा बढी कल्भर्ट र एक सय ११ किलोमिटरभन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जानकारी दिएका छन् ।  

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटीअनुरूप सडक निर्माण भएको हो । ठेक्का उद्देश्यका लागि १० सडकलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकको निर्माणका लागि सन् २०१६ अक्टोबरदेखि सन् २०१७ नोभेम्बरसम्ममा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो । हुलाकी राजमार्ग परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रूपमा राष्ट्रिय राजमार्ग एव‌ पूर्वाधार विकास निगम लिमिटेडले काम गरेको थियो ।  

‘भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नति गर्न ठूलो सहयोग पुर्‍याउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,’ भारतीय राजदूतावासले भनेको छ, ‘यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधारहरू जस्तै वीरगन्ज र विराटनगरमा अवस्थित एकीकृत चेक पोस्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ ।’ 

भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ र यस परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेललाई सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको पनि भारतीय दूतावासले जनाएको छ ।