मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १८ बुधबार १६:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न र धराशायी हुन नदिने माधव नेपालको संकल्प 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १८ बुधबार १६:००:००

नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न, धराशायी  र विसर्जनको ठाउँमा पुर्‍याउन नदिने संकल्प गरेका छन् ।  बुधबार काठमाडौंको बुद्धनगरमा आफूनिकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको समुद्घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा आफू लागेको बताएका हुन् ।

उनले त्यसका लागि देशैभरका कम्युनिस्ट आन्दोलन र नेकपा एमालेका योद्धाहरू पार्टीको एकता, कम्युनिस्ट आन्दोलनको रक्षा र सबै खालका विकृति–विसंगतिबाट मुक्त गरी क्रान्तिकारी स्वरूप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारे ।

उनले भने,  ‘हामी आन्दोलनलाई नयाँ उचाइमा नयाँ शिराबाट उठाउन चाहन्छौँ । आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्‍याउन चाहिरहेका छौँ र हाम्रो संकल्प छ– कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिनेछैनौँ, कम्युनिस्ट आन्दोलनलाई धाराशायी हुन दिनेछैनौँ, कम्युनिस्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्‍याउन दिनेछैनौँ । यो हाम्रो संकल्प हो । यो संकल्पमा साथ दिनका लागि देशैभरिका कम्युनिस्ट आन्दोलनका योद्धाहरू, नेपाल कम्युनिस्ट पार्टी एमालेका योद्धाहरू यही चैत ४ र ५ गतेका दिनमा भेला हुनुभएको छ । साढे चार हजारदेखि पाँच हजारको उपस्थितिमा भएको त्यो भेलाले घोषणा गरेको छ कि हामी कम्युनिस्ट पार्टीको एकताको पक्षमा छौँ, कम्युनिस्ट आन्दोलनलाई सबै खालका विकृति–विसंगतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरूप दिने पक्षमा छौँ र हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सधैँभरि जीवन्त गराउने पक्षमा छौँ । गतिशील बनाउने पक्षमा छौँ ।’

आफूहरूको विचार मार्क्सवाद र लेनिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अगाडि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको बताए । आफूहरू सामाजिक न्यायसहितको आर्थिक रूपान्तरणको पक्षमा रहेको बताए । विचार, संगठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि नेता नेपालले स्पष्ट पारेका छन्