मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १८ बुधबार १५:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसदको प्रश्न– सरकारले संसद्लाई कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १८ बुधबार १५:०७:००

सांसदहरूले पुनर्स्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने भनेर प्रश्न गरेका छन् । उनीहरूले संसद्लाई प्रभावकारी ढंगबाट अगाडि बढाउन सरकारसमक्ष माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद टेकबहादुर बस्नेतले संसद्लाई कहिलेसम्म सरकारले बिजनेसविहीन बनाउने हो भनी प्रश्न गरे । सांसद डा. डिला संग्राैला पन्तले कामविहीन भएर विदेशबाट फर्किएका नेपाली श्रमिकको पुनर्स्थापनका लागि सरकारले ध्यान नदिएको आरोप लगाइन् ।  उनले  इपिएस कोटाबाट दक्षिण कोरिया जान भाषा परीक्षा पास गरेका करिब १० हजार युवा जान नपाएकोतर्फ ध्यानाकर्षण गराइन् । 

सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्रीले केही समयअघि आफूमाथि सुरक्षा खतरा छ भनी सार्वजनिक अभिव्यक्ति दिएको सन्दर्भमा उनको सुरक्षा व्यवस्था कस्तो छ भन्नेबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद बलबहादुर रानाले विकास बजेट प्राथमिकताका आधारमा प्रभावकारी बनाइनुपर्ने बताए । 

सांसद दिव्यमणि राजभण्डारीले कोभिड– १९ को जोखिम नियन्त्रण प्रभावकारी व्यवस्थापनका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे । सांसद पूर्णकुमारी सुवेदीले शान्ति सम्झौताअनुरूप बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि तदारुकता देखाउन सरकारसँग माग गरिन् । सांसदद्वय बालकृष्ण खाण र प्रकाश रसाइली ‘स्नेही’ले बाग्लुङमा हालै कांग्रेस कार्यकर्तामाथि भएको घटनाको निन्दा गर्दै घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरे । 
शून्य समयमा बोल्दै सांसदहरू देवेन्द्र कँडेल, दिलकुमारी, देवप्रसाद तिमिल्सिना, नवराज सिलवाल, नारायणप्रसाद खतिवडालगायतले समसामयिक विषयमा सभामुखमार्फत संसद् र सरकारको ध्यानाकर्षण गराएका थिए ।