मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिपेश शाही काठमाडाैं
२०७७ चैत १८ बुधबार ०७:१९:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओलीलाई घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको जवाफ - ‘आरोपहरू किर्ते, बनावटी र दुराशयपूर्ण’

Read Time : > 3 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७७ चैत १८ बुधबार ०७:१९:००

घनश्याम भुसाल : पार्टीलाई बन्धक बनाएर तपाईंले विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहर भत्काउँदै जानुभयो । अझै पनि हाम्रा अग्रजहरूको त्याग–बलिदानले निर्माण गरेका केही बिरासत बाँकी छन्, जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनर्जीवित गर्न सक्छन् । मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नसाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सि तपाईं दण्डित हुनुहुनेछ ।

सुरेन्द्र पाण्डे  : तपाईंले पठाउनुभएको पत्रमा मेराविरुद्ध लक्षित निन्दात्मक भाषा र अर्थले स्वयं तपाईंहरूको व्यक्तित्व, अध्ययन, विवेक र संस्कारलाई देखाउँछ । ‘पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको’, ‘पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे/गराएको’, ‘अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सम्मिलित गराएको–उक्साएको’, ‘अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहितविपरीत काम गरे–गराएको’ आदिजस्ता आरोप लगाउनुभन्दा अगाडि तपाईं आफैँ लज्जित हुनुपर्ने हो । म त तपाईंलाई आग्रह गर्न चाहन्छु– तपाईंले लगाउनुभएको आरोपमा उभिएर तपाईं आफैँले आफैँलाई मूल्यांकन गर्नुहोस् ।

.....                               ......

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणपत्रमार्फत आफूमाथि लगाएका आरोप ‘किर्ते, बनावटी र दुराशयपूर्ण’ रहेको भन्दै उपमहासचिव घनश्याम भुसालले गम्भीर आरोपसहित जवाफ पठाएका छन् । तीन दिनभित्र जवाफ दिनू भन्दै ओलीले सोधेको स्पष्टीकरणको उपमहासचिव भुसालले करिब हप्ता दिनपछि जवाफ पठाएका हुन् । 

अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले ८ चैतमा वरिष्ठ नेता माधवकुमार नेपाल र भुसालसहित चारजनालाई छुट्टाछुट्टै स्पष्टीकरणपत्र लेखेका थिए । त्यसमध्ये वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलले यसअघि नै प्रतिस्पष्टीकरणसहित जवाफ पठाइसकेका थिए । ओलीले उक्त जवाफ चित्त नबुझेको भन्दै नेपाल र रावललाई पार्टीको सदस्यबाटै निलम्बन गरिसकेका छन् । त्यसको भोलिपल्ट भुसाल र पाण्डेले पनि उस्तै शैलीमा आफूलाई सोधिएका चारवटा प्रश्नको गम्भीर आरोपसहित जवाफ पठाएका छन् ।

दुवैजना नेताले ओलीका प्रश्नको जवाफ दिनु आवश्यक नठाने पनि आमनागरिक र कार्यकर्ता पंक्तिलाई यस विषयमा अवगत गराउनका लागि जवाफ लेखेको बताएका छन् । ‘तपाईंले मागेको तथाकथित ‘स्पष्टीकरणसहित लिखित जवाफ’ले तपाईं कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ,’ उनीहरूले जवाफीपत्रमा उल्लेख गरेका छन्, ‘शत्रु देशको नागरिकलाई पठाइएकोजस्तो तपाईंको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन । अर्थात्, तपाईंले पठाउनुभएको मिथ्या पत्रका बारेमा स्पष्टीकरण दिनुपर्ने त हुँदै होइन । कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन । तर, तपाईंले लगाउनुभएका आरोपहरू कति पूर्वाग्रही छन् र तपाईंका दाबीहरू कति झुटा छन् भन्ने कुरा पार्टीपंक्तिलाई जानकारी गराउनुपर्ने भएकाले यो पत्र लेख्दै छु ।’ अहिलेका समस्या विधानको पालना गर्ने वा नगर्ने भन्ने मात्रै नभएर पार्टीलाई वैचारिक तथा सैद्धान्तिक रूपमा नेतृत्व गर्न असफल हुँदा आएका समस्याका रूपमा मूल्यांकन गरेको दाबीसमेत उनीहरूको छ ।

यसअघि तीन दिनको म्यादसहित सोधिएको स्पष्टीकरणको जवाफ नदिएका भुसाल र पाण्डेले वरिष्ठ नेता नेपाल र रावललाई निलम्बनपत्र पठाउँदै गर्दा ओलीले पुनः ताकेता नै गरेपछि मंगलबार जवाफ पठाएका हुन् । भुसाल र पाण्डेले उस्तै भाषामा स्पष्टीकरणको जवाफ दिए पनि छुट्टाछुट्टै थप आरोपसमेत लगाएका छन् ।

आरोपहरू ‘किर्ते, बनावटी र दुराशयपूर्ण’
ओलीले लगाएको पहिलो आरोपमा एकीकृत पार्टी हुँदा आफ्नाविरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न पुष्पकमल दाहाल प्रचण्डको मतियार भएर पार्टी हितविपरीत कार्य गरेको’ आरोप लगाएका थिए । भुसाल र पाण्डेले त्यसको जवाफमा आफ्नो कुनै संलग्नता नरहेको र ओलीले नै पार्टीको कमिटीले गरेका निर्णय उल्लंघन गरेपछि सचिवालयबाट उक्त प्रस्ताव आएको बताएका छन् । उनीहरूले उक्त प्रस्ताव पार्टी कमिटीमा छलफल गर्नुपर्छ भनेर आफूले प्रस्ताव गर्दा ओलीले नै इन्कार गर्नु रहस्यमय भएको बताएका छन् । ‘भदौ २६ गतेको स्थायी कमिटी बैठकले पाँच वर्षसम्म तपाईं नै प्रधानमन्त्री रहने, महाधिवेशनसम्म तपाईं नै अध्यक्ष रहने, तपाईंले गर्ने ठूला निर्णयहरूमा सचिवालयको सहमति लिने भनेर गरेको निर्णयसमेत इन्कार गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो । आफ्ना रहस्यपूर्ण कृत्यहरू ढाक्न तपाईंले अरूमाथि जथाभावी आरोपहरू लगाउन थाल्नुभयो,’ जवाफमा भनिएको छ, ‘त्यही मेसोमा तपाईंले मलाईसमेत आरोपित गर्नुभएको हो भन्ने दाबी छ ।’ 

त्यस्तै, ‘पार्टी अध्यक्ष र महासचिवद्वारा गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी कथित राष्ट्रिय भेला गर्न अग्रसरता लिएको र समानान्तर संगठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाइ गरेको आरोप स्पष्टीकरणपत्रमा लगाइएको थियो । जवाफमा उनीहरूले उक्त राष्ट्रिय भेला गर्न आफूले अग्रसरता लिएको स्वीकार गर्दै पार्टीको झन्डा झुक्न नदिन देशभरिबाट आएका करिब साढे चार हजार कार्यकर्तालाई धन्यवाद दिएका छन् । त्यसभन्दा अघि बढेर उनले उक्त भेलामा ‘जति योगदान आफूले गर्नुपर्ने थियो त्यति गर्न नसकेको’ बताएका छन् । अदालतको फैसलाअनुसार पार्टी संरचना २ जेठ ०७५ को अवस्थामा पुगे पनि ओलीले त्यसलाई कार्यान्वयन नगरी २८ फागुनमा गुटको भेला गरेर केन्द्रीय समिति नामकरण गरेपछि बाध्य भएर ४ र ५ चैतमा आफूले उक्त भेला गर्नुपरेको उनीहरूको तर्क छ । साथै, त्यसअघि १ चैतमा पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा २८ फागुनमा गुटले गरेका निर्णय फिर्ता लिन अनुरोध गर्दा नमानेपछि एकता बचाउन आफूहरूले आधिकारिक कार्यकर्ता भेला गरेको भुसाल र पाण्डेको दाबी छ ।

स्पष्टीकरणपत्रमा ओलीले केन्द्रीय कमिटी र संसदीय दलका बैठकमा उपस्थित नभएर छुट्टै भेला र सम्मेलन गरी एकताविरोधी प्रस्ताव किन पारित गरेको भनेर सोधेका थिए । तर, जवाफमा बालुवाटारमा गुटले आयोजना गरेको भेला वैधानिक नभएकाले उपस्थित हुनु आवश्यक नभएको तर्क पेस गरेका छन् । तर, संसदीय दलको बैठकलाई वैधानिक भने पनि राष्ट्रिय भेलामा व्यस्त भएका कारण पहिलो बैठकमा उपस्थित हुन नसकेको उनीहरूको भनाइ छ । त्यस्तै, दोस्रो बैठकको स्थान परिवर्तन गर्न अनुरोध गर्दा पनि नमानेपछि अनुपस्थित हुनुपरेको उनीहरूले उल्लेख गरेका छन् ।

ओलीले सोधेको स्पष्टीकरणपत्रमा भुसाल र पाण्डेलाई ‘पार्टीप्रतिको निष्ठा र विश्वासबाट च्युत भएको’, ‘पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे/गराएको’, ‘अवाञ्छित क्रियाकलापहरूमा पार्टीका जिम्मेवार व्यक्तिहरूलाई सम्मिलित गराएको/उक्साएको’, ‘अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहितविपरीत काम गरे/गराएको’ आदि आरोप लगाएका थिए । जवाफमा भुसाल र पाण्डेले यसलाई निन्दात्मक भाषा र अर्थले स्वयं ओलीको व्यक्तित्व, अध्ययन, विवेक र संस्कारलाई देखाउने भन्दै कोही अरूलाई खुसी पार्न आफूमाथि यस्ता आरोप लगाएको जवाफ दिएका छन् । उनीहरूले यी आरोप तात्कालिक असावधानीपूर्ण आवेगवश भएको त्रुटि हुन सक्ने भन्दै ओलीले नै यसको पुष्टि गर्नुपर्ने चुनौती दिएका छन् ।

ओलीमाथि भुसालका आरोप
ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमालेको विधिवत् बैठक बोलाउनुको साटो केन्द्रीय कमिटीका सदस्यहरूलाई जानकारी नदिई गोप्य रूपमा २८ फागुनमा बालुवाटारमा बसेको बैठकले पार्टी विभाजनको रेखा कोरेको भुसाल र पाण्डेको आरोप छ । दुवैजनाले उक्त भेलाबाट नेताहरूको जिम्मेवारी हेरफेर, २३ जनाको मनोनयन र संशोधन गरिएको पार्टी विधान पनि नियमविपरीत भएको बताएका छन् । 

ओलीले आफूपक्षीय केन्द्रीय सदस्यलाई अघिल्लो दिन पठाइएको मोबाइल सन्देशमा समेत ‘केन्द्रीय समितिको बैठक’ नभनिएकाले पनि उक्त बैठक अवैधानिक भएको तर्क भुसाल र पाण्डेको छ । उनीहरूले आफूलाई ‘दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’को सदस्य भनेर गरिएको सम्बोधनलाई अस्वीकार गर्दै आफूले ओलीको पनि नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्षबाहेक अन्य हैसियत स्वीकार नगर्ने बताएका छन् ।