मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत १७ मंगलबार १३:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीलाई घनश्याम भुसालको पत्र- तपाईंकै कारण पार्टी विसर्जनतर्फ जाँदै छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत १७ मंगलबार १३:२०:००

नेकपा एमालेका नेता घनश्याम भुसालले केपी ओलीका कारण पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र सांगठनिक हिसाबले विसर्जनतर्फ गएको आरोप लगाएका छन् । मंगलबार अध्यक्ष केपी ओलीलाई पत्र पठाएर ओलीकै कारण पार्टी यो अवस्थामा आएको आरोप लगाएका हुन् ।

उनले पत्रमा भनेका छन्, ‘उम्मेदवारी, नियुक्तिको सिफारिस, अवसरहरूको बाँडफाँड र त्यसका लागि गुटबन्दी नै संगठनको  मुख्य चरित्र बन्दै छ । यसरी यो पार्टी एउटा लोकतान्त्रिक र क्रान्तिकारी बाटोबाट टाढा जाँदै छ, विसर्जनको बाटोमा हिँड्दै छ । र, यो काम तपाईंको नेतृत्वमा हुँदै छ ।’

उनले ओलीलाई सत्ता र शक्तिको भोगको हिसाबले तपाईंले पाउन अझै के बाँकी छ ? भनेर प्रश्नसमेत गरेका छन् । पार्टीभित्र गरेको बदमासीले एक दिन ओलीलाई दण्डित गर्ने उनको पत्रमा उल्लेख छ ।

‘पार्टीलाई बन्धक बनाएर तपाईंले ती सबै पूरा गर्नुभयो । त्यही अनुपातमा तपाईंले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरू भत्काउँदै जानुभयो । अझै पनि हाम्रा अग्रजहरूको त्याग–बलिदानले निर्माण गरेका केही विरासत बाँकी छन् जसमा आउने पिँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रूपमा पुनर्जीवित गर्न सक्छन् । मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सि तपाईं दण्डित हुनुहुनेछ ।’

उनले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा (एमाले)को विधिवत् बैठक बोलाउनुको साटो केन्द्रीय कमिटीका अन्य सदस्यहरूलाई कुनै जानकारी नदिई गोप्य रूपमा गत फागनु २८ गते प्रधानमन्त्रीको सरकारीनिवासमा आफ्ना गुटका मानिसहरूको भेला बोलाएर त्यसैलाई कथित केन्द्रीय कमिटीको बैठक भनेर पार्टीको विधान र प्रक्रियाविपरीत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा (एमाले)को सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्नेजस्ता निर्णय गरिएको वक्तव्य सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

भुसालले ओलीकै कारण पार्टीमा विभाजनको रेखा कोरिएको पत्रमा उल्लेख गरेका छन् ।