१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ चैत १७ मंगलबार ०९:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वायुमण्डल स्थिर : ‘मौसममा तत्काल सुधार हुने देखिँदैन’

Read Time : > 1 मिनेट
२०७७ चैत १७ मंगलबार ०९:२७:००

जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । 

मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।

हाल मुलुकका धेरैजसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरू छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । 

देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरू वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।     

खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेको संघीय राजधानी काठमाडौंलगायतका सहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरूप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ । 

तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्याजस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक काममा बाहेक घरबाहिर ननिस्कन र निस्कनुपरेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।     

आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलोको अवस्था के–कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ । यस वर्ष नेपालमा पोस्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदरभन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्यांक छ । 

मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरूले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुन सक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ । विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलोजस्ता समस्याहरू हुन सक्ने विषयमा ध्यानाकर्षण गराइसकेको जनाएको छ ।     रासस