मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ चैत १६ सोमबार ०६:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘फिस्टेल ड्रिम फनपार्क’ निर्माण अन्तिम चरणमा

Read Time : < 1 मिनेट
२०७७ चैत १६ सोमबार ०६:५३:००

पोखराको सीतापाइलामा ‘फिस्टेल ड्रिम फनपार्क’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा तथा प्रविधिसहित पार्क निर्माण भइरहेको हो ।  पार्क निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।

कोभिड–१९ महामारी र लकडाउनका कारण फनपार्क निर्माणमा केही ढिलाइ भए पनि अहिले धमाधम काम भइरहेको कम्पनीका अध्यक्ष कदम केसीले जानकारी दिए । अब छिट्टै पार्कको सफ्ट ओपनिङ गर्ने गरी काम भइरहेको उनले बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पोखरामा ६५ रोपनी जग्गामा पार्क निर्माण भइरहेको उनको भनाइ छ । 

पार्क निर्माण सकेर सञ्चालनमा आएपछि धेरै पर्यटक आकर्षित हुने लगानीकर्ताको विश्वास छ । परियोजनामा ४० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य भए पनि निर्माण समय लम्बिँदा करिब १० करोड रुपैयाँ लगानी थप हुने बताइएको छ । पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरू तयार पारिँदै छ ।

फ्रिफल, ५ वटा स्विमिङ पुल, वेब पुल, रोलर कस्टर, १२ वटा इनडोर गेमलगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ । सुविधासम्पन्न तथा आकर्षक रेस्टुरेन्टको सुविधा पनि उपलब्ध हुनेछ । यहाँ आएका पर्यटकले पार्कमा एक–दुई दिन सजिलै कटाउन सक्ने गरी संरचना तयार पार्न लागिएको केसी बताउँछन् । ‘पोखरा आउने पर्यटकको बसाइ अवधि बढाउनसमेत पार्कले सहयोगी भूमिका खेल्नेछ,’ केसीले भने । 

विभिन्न पेसा–व्यवसायमा आबद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि २ सयजनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । ‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्ने तयारी भइरहेको छ,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमुना प्रोजेक्टका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’