मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत १५ आइतबार ०८:०३:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राप्रपा एकता महाधिवेशन : पहिलो र दोस्रो पुस्ताका नेताबीच नेतृत्व लिन रस्साकस्सी

Read Time : > 4 मिनेट
२०७७ चैत १५ आइतबार ०८:०३:००

राजेन्द्र लिङ्देन, डा. धवलशमशेर राणा, विक्रम पाण्डेको अध्यक्षमा दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन २५–२८ वैशाखमा काठमाडौंमा हुँदै छ । महाधिवेशन आउन एक महिना बाँकी रहँदा भावी नेतृत्वका लागि पहिलो र दोस्रो पुस्ताका नेताहरूबीच रस्साकस्सी सुरु भएको छ । राप्रपाभित्र राजसंस्था र हिन्दू राष्ट्रसहित उदारता, प्रजातन्त्र, समाजवादको राजनीतिक एजेन्डामा मतभेद छैन । तर, भावी नेतृत्वका लागि नेताहरू आन्तरिक दौडमा सक्रिय छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि राप्रपा महाधिवेशनका विषयमा दोस्रो तहका नेताहरू भेटेर पनि चासो राखेका छन् । 

१५ जेठ ०४७ मा स्थापना भएको राप्रपा नेपालमा कम्युनिस्टहरूपछि धेरैपटक विभाजन भएको राजनीतिक दल हो । ६ फागुन ०७३ मा एकीकृत भएको राप्रपा तीन समूह हुँदै २४ फागुन ०७६ मा एक भएपछि महाधिवेशन हुन लागेको हो । कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन समूह राप्रपामा छ । चार वर्षअघि एकता महाधिवेशन गरेको राप्रपाले फेरि एकता महाधिवेशन गर्दै छ भने सबैभन्दा बढी हानाथाप भावी नेतृत्वका लागि भइरहेको छ । राप्रपाले देशभरिका करिब ४५ सय महाधिवेशन प्रतिनिधिबाट नेतृत्व चयन गर्दै छ । 

राप्रपामा एक वर्षदेखि थापा, राणा र लोहनी अध्यक्ष छन् । पार्टी महाधिवेशनपछि एकल अध्यक्ष हुने सहमति भइसकेको छ । एकल नेतृत्वका लागि आन्तरिक रूपमा अध्यक्षत्रय थापा, राणा र लोहनी दाबेदार छन् । दोस्रो तहका नेताहरू राजेन्द्र लिङ्देन, डा.धवलशमशेर राणा, विक्रम पाण्डेलगायतले पनि आन्तरिक रूपमा दाबेदारी पेस गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले शीर्ष नेताहरूलाई भेटेर आफू अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिन लागेको जानकारी दिइसकेका छन् । राप्रपाका एक मात्र सांसद लिङ्देन भने ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन् । पार्टी नेताहरू बुद्धिमान तामाङ, दीपक बोहोरा, विक्रम पाण्डे भावी नेतृत्वका लागि निर्णायक मानिन्छन् । 

यसपटक नयाँ नेतृत्वका लागि राप्रपामा दोस्रो पुस्ता संगठित हुँदै गरेको छ । ‘तीनजना अध्यक्षले पार्टीमा दिन सक्ने योगदान दिइसक्नुभएको छ, अब दोस्रो तहका नेताहरू आउनुपर्छ भन्ने विचार राप्रपाभित्र विस्तारित भइरहेको छ,’ राप्रपाका एकजना शीर्ष नेताले भने, ‘यसका लागि विभिन्न समूहमा चरणबद्ध छलफल सुरु भएको छ ।’ राप्रपाको एउटा समूह भने प्रतिकूल परिस्थितिमा राप्रपाको एजेन्डा निरन्तर उठाएको भन्दै अध्यक्ष थापा नेतृत्वमा दोहोरिनुपर्ने तर्क गरिरहेको छ । यद्यपि उनका विरोधी समूहले भने थापाकै ढुलमुले कार्यशैलीका कारण पार्टी कमजोर भएको भन्दै नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने भन्न थालेका छन् । थापाले आफू सबै विकल्पका लागि खुला रहेको र पार्टी कार्यकर्ताको निर्णय शिरोधार्य हुने बताए । राणाले भावी नेतृत्व सहमतिबाट छनोट हुने बताए ।

राप्रपाले यसपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ । विगतमा पार्टीका विभिन्न कमिटीले प्रतिनिधि तय गर्ने चलन थियो । निर्वाचन आयोगको सूचीअनुसार कुल मतदाता जनसंख्याको तराईमा शून्य दशमलब ५ प्रतिशत, पहाडमा शून्य दशमलब ४५ प्रतिशत र हिमालमा शून्य दशमलब ३५ प्रतिशत सक्रिय कार्यकर्ता बनाउनैपर्ने नियम राप्रपाले लागू गरेको छ । ‘यो मापदण्डअनुसार सक्रिय सदस्यको संख्या नपुगेको ठाउँबाट यसपटक महाधिवेशन प्रतिनिधि हुँदैनन्,’ राप्रपा नेता मोहन श्रेष्ठले भने । राप्रपाले यसपटक देशैभरि करिब तीन लाख सक्रिय सदस्य पुर्‍याउने दाबी गरेको छ । राप्रपाले १५ चैतभित्र सक्रिय सदस्यता टुंगो लगाइसक्नुपर्ने अवस्था छ । एक नेताले भने, ‘सक्रिय सदस्यता वितरण अहिलेसम्म सन्तोषजनक छ, तर स्थिति उत्साहजनक छैन ।’ 

एकीकरण, फुट र एकीकरणको कथा
राप्रपाको अघिल्लो महाधिवेशन ६ फागुन ०७३ मा भएको थियो । पार्टी एकीकरण ६ मंसिरमा भएपछि सम्पन्न भएको महाधिवेशनमा थापा अध्यक्षमा निर्वाचित भएका थिए । तर, महाधिवेशन सकिएको दुई सातापछि १९ फागुनमा नेता डा.लोहनीले पार्टी छाडे । त्यसवेला स्थानीय निर्वाचनमा राप्रपाले जम्मा पाँच सिट जितेको थियो । त्यसवेला पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वका दुई सरकारमा पार्टी सहभागी भएसँगै विवाद भएपछि २२ साउन ०७४ मा राप्रपाबाट राणा समूह अलग भएर राप्रपा संयुक्त गठन गरेको थियो । प्रदेश र संसदीय निर्वाचनमा अलगअलग सहभागी भएका दुई समूहमध्ये थापाले नेतृत्व गरेको समूहले प्रदेश सभाहरूमा तीन सिट र संघीय संसद्मा एक सिट जितेको थियो । राणाले नेतृत्व गरेको समूहले बागमती प्रदेशमा जम्मा एक सिट जितेको थियो । 

दुवै निर्वाचनमा पार्टीको अनपेक्षित पराजयपछि २४ फागुन ०७६ मा पार्टी एकतामा हस्ताक्षर भयो । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै निर्वाचन र महाधिवेशन सँगसँगै जाने कार्यदिशा राप्रपाले तय गरेको थियो । प्रतिनिधिसभा पुनस्र्थापनापछि राप्रपाले निर्वाचनलाई कार्यदिशा बनाएको छ ।

राप्रपाले १५ चैतसम्म सक्रिय सदस्य अद्यावधिक गर्ने, चैत मसान्तसम्म वडादेखि प्रदेशको महाधिवेशन सम्पन्न गर्ने, १० वैशाखसम्म महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका बनाएको छ । राप्रपाको गाउँपालिका अध्यक्ष महाधिवेशन प्रतिनिधि हुनेछन् भने हरेक प्रदेश सभा क्षेत्रबाट नौजनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुने पार्टी नेता राजाराम बर्तौलाले जानकारी दिए । 

अहिलेका अध्यक्षत्रयको दाबेदारी कायमै 

कार्यकर्ताले गर्ने निर्णैय स्वीकार्य छ : कमल थापा

पार्टीलाई एकताबद्ध बनाउँदै लैजाने गरी सर्वसम्मत रूपमा नेतृत्व चयन गर्छौँ । नेतृत्व पुस्तान्तरणको पनि चर्चा भएको छ । सबै विकल्प खुला छन् । हामीलाई सशक्त नेतृत्व चाहिएको छ र अन्ततः सहमतिबाटै हामी नेतृत्व चयन गर्छौँ । पार्टी विभाजनको पीडा हामी सबैले भुलेका छैनौँ । नयाँ नेतृत्व चयनमा विगतको तीतो अनुभवबाट हामीले पाठ सिक्नुपर्नेछ र सिक्नेछौँ । व्यक्तिगत रूपमा म सबै विकल्पमा खुला छु । लामो समय पार्टीको नेतृत्व गरेको छु, अब के गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन । म नेतृत्वमा रहने वा नरहने भन्ने निर्णय पार्टीका तमाम साथीहरूले गर्नुहुनेछ । उहाँहरूको निर्णय मलाई स्वीकार्य छ । 

सबैलाई मिलाउन भूमिका खेल्छु : पशुपतिशमशेर राणा

हामी पार्टी स्थापना गर्दाका मूल्यमान्यतामा अडिग छौँ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको मान्यतामा हामी सबै प्रतिबद्ध छौँ । नेतृत्वका सन्दर्भमा एउटा सहज उपाय निस्केला भन्ने मलाई लाग्छ । म सबैलाई मिलाउन भूमिका निर्वाह गर्छु । नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने हक सबैमा छ । तर, सर्वसम्मतिमा यो सबै टुंगिन्छ भन्ने विश्वास मलाई छ । मेरो व्यक्तिगत रुचिका बारेमा बोल्ने वेला आएको छैन । 

नेतृत्व लिन तयार छु : डा. प्रकाशचन्द्र लोहनी

पार्टीमा सैद्धान्तिक विवाद छैन । पार्टीका दोस्रो पुस्ताका साथीहरूले नेतृत्व दाबी गर्नु स्वाभाविक र सकारात्मक ठान्छु । मलाई पनि अध्यक्ष पदका लागि अघि बढ्न साथीहरूले सल्लाह दिइरहेका छन् । साथीहरूको सहयोग भएमा नेतृत्व लिन तयार छु । पार्टीलाई नेपालको सामाजिक आर्थिक रूपान्तरण गर्ने अग्रणी राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सक्छु भन्ने मलाई विश्वास छ । 

पूर्वराजाले भेट्न थाले राप्रपा नेता  

राप्रपाको महाधिवेशन नजिकिँदै जाँदा पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । काठमाडौंमा रहँदा राप्रपाका शीर्षनेतात्रय थापा, लोहनी र राणासँग बेग्लाबेग्लै भेटेका उनले पछिल्लो समय दोस्रो तहका नेताहरूलाई भेटिरहेका छन् । शाह अहिले झापामा छन् । उनले राप्रपा नेता बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन, डा.धवलशमशेर राणा, भक्तिप्रसाद सिटौला, राम थापालगायतसँग बेग्लाबेग्लै भेटेर महाधिवेशनका बारेमा चासो राखेका छन् । 

गत साता पूर्वराजालाई झापा पुगेर भेटेका पूर्वमन्त्री तामाङले भने, ‘राजसंस्थाको एजेन्डा बोकेको पार्टी हुनाले राप्रपाको भावी नेतृत्व र कार्यदिशाका बारेमा पूर्वराजाको चिन्ता र चासो स्वाभाविक छ । राप्रपा एक हुुनपर्ने र सबै मिलेर अघि बढ्नुपर्छ भन्ने आसय मैले पाएँ ।’ उनका अनुसार राप्रपामा भावी नेतृत्व को हुनुपर्छ भन्नेमा पूर्वराजा ज्ञानेन्द्रको चासो छैन । ‘जो भए पनि सबैलाई समेटेर जाँदा राम्रो हुन्छ, सबै मिलेर जानुपर्छ भन्ने नै उहाँको चाहना छ,’ तामाङले भने, ‘कुनै व्यक्ति विशेषमा उहाँको ठोस रुचि छैन । हाम्रो पार्टी एक भएर जानुपर्छ भन्नेमा मात्रै उहाँको चासो छ ।’