मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १४ शनिबार १५:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड खोपले प्रभावित भएको हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान २० चैतबाट 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १४ शनिबार १५:३१:००

कोभिड–१९ खोपका कारण प्रभावित भएको हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन अभियान २० चैतबाट सुरु हुने भएको छ । गत २९ फागुनमा सुरु हुने भनिएको अभियान कोरोना खोपका कारण प्रभावित भएको थियो । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले शुक्रबार पत्रकार सम्मलेन गर्दै प्रभावित भएको कार्यक्रम सुरु गर्ने बताएको हो । सबै स्वास्थ्यकर्मी कोभिड खोपमा केन्द्रित हुँदा अभियान चल्न सकेको थिएन । अहिले कोरोना खोप अभाव भएपछि सरकारले हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन अभियान चलाएको हो । दुई वर्ष उमेर समूहमाथिका १२ जिल्लाका ७० लाख ४५ हजार नागरिकलाई औषधि खुवाइनेछ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार झापा, मोरङ, धनकुटा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा अभियान चल्नेछ । ‘हात्तीपाइले औषधि अभियानभन्दा कोरोना खोप निकै महत्वपूर्ण हो, निर्देशक पौडेलले भने, ‘त्यसैले सबै स्वास्थ्यकर्मी कोभिडमा जुटेकाले केही समय हात्तीपाइलेविरुद्धको अभियान सार्नुपरेको थियो । अब २० गतेबाट सुरु हुनेछ ।’ 

सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यअनुसार सन् २००३ बाट अभियान सुरु गरेको हो । तर, बिरामी पत्ता लगाउन नसकेपछि विश्वभर नै उन्मूलनको समय थप गरिएको छ । अब सन् २०२८ मा हात्तीपाइले उन्मूलन गर्ने लक्ष्य रहेको छ । सरकारका अनुसार देशभर ३० हजार हात्तीपाइले संक्रमित भएको अनुमान छ । 

हालै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २६ जिल्लामा गरेको एक अनुसन्धानले ती जिल्लामा मात्रै २६ हजार बिरामी भेटिएका छन् । नेपालका ६३ जिल्लामा हात्तीपाइलेका बिरामी भएको अनुमान छ । अनुमानभन्दा धेरै ठूलो संख्यामा बिरामी भएकाले आगामी वर्ष देशभर अनुसन्धान गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए । हात्तीपाइले संक्रमण न्यूनीकरणमा सबैले हातेमालो गरेर अगाडि बढे मात्रै अभियान सफल हुने उनको बुझाइ छ ।

चिकित्सकहरूका अनुसार पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्छ । यो रोग लागेपछि निको हुँदैन । चिकित्सकका अनुसार नियमित ६ वर्ष हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नुपर्छ । तर, गर्भवती, एक सातासम्मका सुत्केरी, छारेरोगी, मुटुरोग, मिर्गाैला, जन्डिस र कलेजोका दीर्घरोगी, सिकिस्त बिरामी र दुई वर्ष नपुगेका बच्चाहरूले औषधि सेवन गर्नुहुँदैन । हात्तीपाइले रोग लागेमा ज्वरो आउने, लिम्फ नलीहरू सुन्निने, हातगोडामा नीलाकाला धर्सा देखिने, गिर्खा बढ्ने, पुरुषको अन्डकोष ठूलो हुने, अन्डकोष वरिपरि पानी भरिएर हाइड्रोसिल हुने, महिलामा स्तन वा यौनांग सुन्निने, खुट्टा सुन्निएर हात्तीको जस्तो ठूलो हुने, दम बढ्नेजस्ता समस्या देखिन्छ ।

सरकारले १२ जिल्लाका एक सय २९ स्थानीय तहमा रहेका ७० लाख ४५ हजार जनसंख्यालाई औषधि खुवाउन पाँच हजार चार सय स्वास्थ्यकर्मी र नौ हजार पाँच सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । सरकारले आमऔषधि सेवन अभियान र बिरामी नक्सांकन तथा व्यवस्थापनमा १८ करोड ६१ हजार रुपैयाँ खर्च गरेको छ ।