१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १४ शनिबार १४:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस बैठक : जोशीको निधनमा शोक प्रस्ताव पारित, १७ चैतमा पार्टीका सबै कार्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १४ शनिबार १४:४८:००

कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको केन्द्रीय कार्यसमिति बैठकले नेविसंघका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार बेलुका निधन भएको थियो । 

गत १४ फागुनमा मस्तिष्कघात भएपछि जोशीलाई उपचारका लागि वीर अस्पताल हुँदै नर्भिक पु¥याइएको थियो । ३ असार २०१९ मा काठमाडौंमा जन्मेका जोशीले लोकतान्त्रिक आन्दोलनमा चार दशक बिताएका थिए । 

कांग्रेसले १५, १६ र १७ चैतमा पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने, शोकका कार्यक्रमबाहेक पार्टीका अन्य औपचारिक कार्यक्रम नगर्ने, १७ चैतमा केन्द्र तथा सबै जिल्ला कार्यालय बन्द गर्ने, १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभा गर्ने निर्णय गरेको छ ।