मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०९:४०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राजस्व चुहावट नियन्त्रणमा कठोर बन्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत १३ शुक्रबार ०९:४०:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामर्थ्य प्रयोग गर्ने बताएका छन् । राजस्व चुहावटप्रति सहिष्णु हुन नसकिने भन्दै उनले नियन्त्रणका लागि सम्पूर्ण बल प्रयोग गर्दै कठोर बन्न मातहतका कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । 

अर्थ मन्त्रालयमा बिहीबार आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री पौडेलले अनियमित कार्यमा संलग्न हुनेप्रति कठोर रूपमा प्रस्तुत हुने बताएका हुन् । ‘राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौँ । शक्तिका साथ प्रस्तुत हुन्छाैँ,’ उनले भने, ‘व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौँ ।’ 

अर्थमन्त्री पौडेलले ‘निर्दोष नपर्ने र दोषीले उन्मुक्ति नपाउने’ गरी काम गर्न विभाग र सुरक्षा निकायलाई निर्देशन दिए । राजस्व चुहावट नियन्त्रणका लागि समन्वय गरी काम गर्न विभागहरू र सुरक्षा निकायहरूलाई निर्देशन दिए । उनले प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको बताए ।

बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगानाले चुहावट रोक्न मन्त्रालय, विभाग र सुरक्षा निकायबीच सूचना आदान–प्रदान गर्न आवश्यक भएको बताए । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको जानकारी गराए । उनले आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सजग रहेको बताए ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले दोषीलाई कानुनअनुसार कारबाही गर्ने बताए । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले राजस्व चुहावट नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सरोकारवाला निकायसँग नियमित रूपमा छलफल गरी अघि बढ्ने प्रतिबद्धतासमेत गरे । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले नियमित रूपमा अनुगमन गर्नुपर्ने बताए ।

जिल्लास्तरका समितिलाई प्रभावकारी बनाइनुपर्ने 
अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न निकायबाट प्रयास भइरहेको भन्दै चुहावटमा संलग्नहरूलाई कारबाही भइरहेको बताए । भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरूलाई प्रभावकारी बनाइने बताए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याए ।