१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ चैत १३ शुक्रबार ०८:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एन्टिजेन पोजेटिभ देखिएकाहरू पनि सार्वजनिक सवारी चढेर घर जाँदै

Read Time : > 1 मिनेट
२०७७ चैत १३ शुक्रबार ०८:५८:००

भारतमा कोभिड-१९ संक्रमित बढिरहेका वेला नेपाल फर्कनेलाई नाकामा एन्टिजेन परीक्षण गर्न थालिएको छ । तर, त्यस्तो परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरू सार्वजनिक सवारीसाधन चढेरै गन्तव्यमा गइरहेका छन् । यसले संक्रमणको जोखिम बढाएको छ । 

एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्न वा सुरक्षित रूपमा होम आइसोलेसनसम्म पुर्‍याउन सम्बन्धित निकायले चासो दिएका छैनन् । धनगढीसँग जोडिएको कञ्चनपुरको त्रिनगर नाकामा सातायता भारतबाट फर्कने १९ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । आर्थिक अभावले छुट्टै गाडी रिजर्भ गर्न नसकेपछि सार्वजनिक यातायातमै घर जानुपरेको पोजेटिभ देखिएकाले बताएका छन् ।

भारतको सुरतबाट आएका कञ्चनपुरको वेदकोट नगरपालिकाका एकजनाले नाकामा जाँच गर्दा एन्टिजेन पोजेटिभ देखिए पनि आफू बस चढेर घर आएको बताए । त्रिनगर नाकादेखि धनगढीसम्म रिक्सामा पुगेको बताउने उनले टेलिफोनमा भने, ‘कोरोना पोजेटिभ देखिए पनि गाडी रिजर्भ गरेर जान पैसा थिएन । त्यसैले सार्वजनिक बसमै आएँ । बसमा यात्रा गर्दा मास्क र स्यानिटाइजर भने प्रयोग गरेको थिएँ ।’ अहिले उनी होम आइसोलेसनमा छन् । 

स्वास्थ्यकर्मी भन्छन्– जाँच्ने मात्र निर्देशन छ, अरू छैन
नाकाको हेल्थ डेस्कले पोजेटिभ रिपोर्टको पर्चा दिएर त्यतिवेलै घर पठाउने गरेको छ । हेल्थ डेस्कमा स्वास्थ्यकर्मी खटाउने निकायले पोजेटिभ देखिएकालाई के गर्ने भनेर स्वास्थ्यकर्मीलाई केही भनेको छैन । ‘पोजेटिभ देखिएकालाई सुरक्षित हिसाबले जानु, घरमा छुट्टै बस्नु भनेर सल्लाह दिने गरेका छौँ,’ हेल्थ डेस्कमा खटिएका एक स्वास्थ्यकर्मीले नयाँ पत्रिकासँग भने, ‘गाडी रिजर्भ गरेर जान सबैसँग पैसा हुँदैन । उहाँहरू जाने सार्वजनिक यातायातमै हो । यसले संक्रमणको जोखिम भने बढाएको छ ।’

हेल्थ डेस्कमा खटिएका अहेव गणेशबहादुर साउदले पोजेटिभ देखिएकालाई सुरक्षित तरिकाले पठाउने वा होल्डिङ गरेर राख्नेबारे सम्बन्धित निकायले आफूहरूलाई केही नभनेको बताए । ‘जाँच्नु र रिपोर्ट दिनु मात्र भनिएको छ । पोजेटिभ देखिए यो गर्नु, त्यो गर्नु केही भनिएको छैन,’ पुनर्वास नगरपालिकाबाट खटिएका उनले भने, ‘पोजेटिभ देखिएका कतिपयलाई हामी आफैँले रिक्सा खोजेर धनगढीसम्म पठाइदिएका छौँँ ।’ सुरक्षित रूपमा घर जान र स्वास्थ्यमा समस्या भए सेती प्रादेशिक अस्पताल जान सल्लाह दिने गरेको उनले बताए ।

सुदूरपश्चिममा जोखिम बढ्दै
त्रिनगर नाका पुनर्वास नगरपालिकामा पर्ने भएकाले त्यहाँको हेल्थ डेस्कमा नगरपालिकाबाट दुईजना र जिल्ला स्वास्थ्य कार्यालय कैलालीबाट चारजना स्वास्थ्यकर्मी खटिएका छन् । सार्वजनिक यातायात चढेर जाँदा अन्य व्यक्तिलाई पनि कोरोना सर्ने जोखिम रहेको अहेव साउदले बताए ।

सुदूरपश्चिममा मनाइने बिसु पर्व नजिकिएसँगै भारतमा रहेका सुदूरपश्चिमेलीहरू घर फर्कन थालेका छन् । त्रिनगर र गड्डाचौकी नाकामा घर फर्कनेको घुँइचो लाग्न थालेको छ । भारतबाट फर्कनेमध्ये थोरैको मात्र नाकामा स्वास्थ्य परीक्षण हुने गरेको छ । भारतबाट फर्किएका सबैको परीक्षण नहुनु र परीक्षण भएर पोजेटिभ देखिएकाहरू पनि सार्वजनिक यातायातमा घर जानुले सुदूरपश्चिममा कोरोना संक्रमण फैलने जोखिम बढेको छ । पोजेटिभ देखिएकाहरूलाई राख्न नाकामा होल्डिङ सेन्टर राखिएको छैन ।