मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तेजराज भट्ट
२०७५ फाल्गुण ३ शुक्रबार १०:४१:००
Read Time : > 1 मिनेट
खेलकुद

रनरेटमा अत्तरिया शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
तेजराज भट्ट
२०७५ फाल्गुण ३ शुक्रबार १०:४१:००

लगातार २ खेल जित्दै सिवाइसी अत्तरिया धनगढी धनगढी प्रिमियर लिग (डिपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । अत्तरिया बिहीबार रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पाखा लगाउँदै शीर्ष स्थानमा उक्लेको हो । ४ अंक जोडेको अत्तरियाको रनरेट निकै राम्रो छ । अत्तरियासँग पराजित भएसँगै रुपन्देही तेस्रो स्थानमा झरेको छ । २ खेलमा अपराजित रही ४ अंक जोडेको काठमाडौं दोस्रो स्थानमा छ । यसैबीच महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । दुवै टोलीले समान १ अंक पाएका छन् । विराटनगरले टस जितेर १८.३ ओभर खेल्दै गर्दा सरु भएको वर्षा नरोकिएपछि खेल रद्द भयो । 
 
 रुपन्देही ८२ रनमा अलआउट

डिपिएलअन्तर्गत सातौँ खेलमा अत्तरियाले पहिलो ब्याटिङ गरी २० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । प्रत्युत्तरमा रुपन्देही २० ओभरमा ८२ रनमा अलआउट भयो । रुपन्देहीलाई अन्तिम ओभरमा ४७ रन बनाउनुपर्ने थियो । लक्ष्य भेट्टाउन असम्भवप्रायः हुँदा रुपन्देहीले अन्तिम ओभरमा ७ रन मात्र बनायो । अत्तरियाको जितमा सनी पेटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । यसैगरी भुवन कार्कीले १० रन दिँदै २ तथा दीपेन्द्रसिंह ऐरीले १३ रन खर्चेर २ विकेट नै हात पारे । 

 दीपेन्द्रको अलराउन्डर प्रदर्शन
अत्तरियाको जितमा ठूलो योगदानकर्ता मार्की दीपेन्द्रसिंह नै रहे । कप्तान दीपेन्द्रसिंहले ब्याटिङमा अर्धशतकीय इनिङ खेले । उनले सर्वाधिक ६७ रन बनाउँदा ५० बलमा १ छक्का र १० चौका हिर्काए । ब्याटिङ र बलिङमा चम्केका दीपेन्द्र म्यान अफ द म्याच घोषित भए । दीपेन्द्र आउट हुँदा अत्तरिया १०७–५ को अवस्थामा थियो । उनले बलिङका क्रममा मेहरा तथा विक्रम सोबको विकेट लिए । ब्याटिङका क्रममा अत्तरियाका सुबेन्दु पाण्डेय, रीत गौतम र सनी पटेलले समान १२  रनको योगदान दिए । यता रुपन्देहीका ललितसिंह भण्डारीले सर्वाधिक ३ विकेट लिए ।

 रुपन्देहीको कमजोर ब्याटिङ
१ सय २२ रनको लक्ष्य पछ्याएको रुपन्देही ब्याटिङ चल्न नसक्दा ८२ रनमै धराशायी भयो । अत्तरियाका सिमर र स्पिनरले एकनाशको बलिङ गर्दा रुपन्देहीका नाम चलेका ब्याट्सम्यानले समेत खुलेर खेल्न सकेनन् । रुपन्देहीका बाबर हयातलाई सनी पटेलले सामना गरेको पहिलो बलमै एलबिडब्लू धरापमा पारे । सो इनिङमा २ ब्याट्सम्यान डकआउट भए भने ३ ब्याट्सम्यानले केवल १–१ रन मात्र बनाए । रुपन्देहीका सुमित महर्जनले अविजित रहँदै सर्वाधिक २२ रन बनाए । यस्तै, सन्दीप सुनारले १५, प्रदीपसिंह ऐरी र विक्रम सोबले समान १४ रन जोडे । 

 ब्याटिङ चलेन
रुपन्देहीका कप्तान वसन्त रेग्मीले खेलाडीले योजनाअनुसार खेल्न नसकेको बताए । ‘कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्,’ रेग्मीले भने, ‘जित्ने लक्ष्य लिएरै खेलेका थियौँ, तर प्लानिङअनुसार खेल मिलेन ।’ अत्तरियाका कप्तान दीपेन्द्रले आफ्नो टोलीले भनेजस्तो खेलेको बताए । ‘फिल्डिङसहित खेल राम्रो भयो,’ उनले भने, ‘अबको लक्ष्य तेस्रो खेल जित्नु हो ।’