मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७७ चैत १३ शुक्रबार ११:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गरिब जनताले उपचार गर्ने वीर अस्पतालमा प्रतिबेड दुई सय शुल्क

Read Time : > 1 मिनेट
२०७७ चैत १३ शुक्रबार ११:१८:००

देशभरबाट गरिब बिरामी उपचार गर्न आउने वीर अस्पतालले अब प्रतिशड्ढया दुई सय रुपैयाँ लिने भएको छ । २१ फागुन ०७७ मा बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकोे कार्यकारी परिषद् बैठकले प्रतिरात दुई सय रुपैयाँ लिने निर्णय गरेको हो ।

यसअघि वीर अस्पतालले क्याबिन र सघन उपचार कक्षमा प्रयोग हुने बेडमा मात्रै शुल्क लिन्थ्यो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)की रजिस्ट्रार प्रमिला देवानले बिरामीलाई आर्थिक असर नपर्ने गरी शुल्क लिने निर्णय गरेको बताइन् । ‘शुल्क तिर्न सक्नेका लागि बेड चार्ज लिने निर्णय भएको हो,’ रजिस्ट्रार देवानले नयाँ पत्रिकासँग भनिन् ।

वीर अस्पतालका एक पूर्वनिर्देशक उक्त निर्णय गलत भएको बताउँछन् । उनले नयाँ पत्रिकासँग भने, ‘विगतमा हामीले सेवा दिँदा शल्यक्रियादेखि शड्ढयासम्म सबै निःशुल्क थियो । क्रमशः शुल्क तोक्दै गएर अब शड्ढयासमेत सशुल्क बनाउनु त्यहाँ आउने गरिबमाथि अन्याय हो ।’ उनी पैसा नभएर वीरमा समेत उपचार नपाउने अवस्था बन्दा गरिबसँग मर्ने मात्र विकल्प रहने बताउँछन् ।

प्रत्येक विभाग र युनिटको कुल शड्ढयाको २० प्रतिशत मात्र निःशुल्क हुनेछ । त्यो सुविधा पनि सामाजिक सेवा इकाइबाट सिफारिस भएका बिरामीले मात्रै पाउनेछन् । ‘वार्डहरूमा बसेका गरिबले तिर्न सक्दिनँ भनेको अवस्थामा पनि हामी रकम मिनाहा गर्छौँ,’ देवानले थपिन्, ‘अहिले बेडको शुल्क तिर्नैपर्ने निर्णय गरिएको छ । यो न्यूनतम हो, कुनै हाइफाई होइन ।’

तर, वीर अस्पतालका चिकित्सकहरू ५० रुपैयाँ पनि तिर्न नसक्ने बिरामी आउने गरेकाले दुई सय रुपैयाँ ठूलो रकम भएको बताउँछन् । दुर्गम र निम्नवर्गका जनता गोजीमा पैसा नै नहुँदा पनि वीर आउने आँटमाथि यो निर्णयले प्रहार गरेको एक कर्मचारीले बताए । पहिलोपटक काठमाडौं टेकेका र सहर देखेका बिरामीसँग २० प्रतिशतले पाउने सिफारिस प्राप्त गर्ने प्रक्रियामा पहुँच नै नहुने आशंका ती कर्मचारीले व्यक्त गरे । 

वीर अस्पतालमा हाल चार सय २७ बेड सञ्चालनमा छन् । दैनिक ४० देखि ५० जना बिरामी भर्ना हुने, प्रतिदिन ओपिडीमा १९ सय र सयजनाले इमर्जेन्सीको सेवा लिने गरेका छन् । अस्पतालको तथ्यांकअनुसार सेवा लिनेमध्ये ८० प्रतिशत गरिब तथा विपन्न वर्गका छन् ।

वीर अस्पतालले युरोको शल्यक्रिया शुल्क बढाएको छ । विगतमा पाँच हजार रहेकोमा अहिले सात हजार बनाएको छ । त्यस्तै पेइङमा सात हजार रहेकामा १० हजार र क्याबिनको १० हजारबाट १२ हजार पुगेको छ । 

यही वेला वीर अस्पतालमा चलिरहेको एउटा सिटिस्क्यान पनि बिग्रिएको छ । दैनिक ५० जनाको परीक्षण गर्ने सिटिस्क्यान बिग्रेपछि  सबै बिरामी निजीमा जान बाध्य भएका छन् । वीरका अधिकांश उपकरण बिग्रिएका छन् । अब वीरमा एमआरआई मात्रै चलिरहेको छ ।