मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ११ बुधबार २०:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा आगलागी, ६ घरगोठ जलेर नष्ट

Read Time : > 1 मिनेट
२०७७ चैत ११ बुधबार २०:०९:००

गुल्मीमा आगलागी हुँदा ६ घरगोठ जलेर नष्ट भएका छन् । कालीगण्डकी गाउँपालिका– २ अर्वेनीको भयकोटका धनबहादुर सुनार, चन्द्रबहादुर सुनार, उर्मिला सुनार, तुलबहादुर सुनार, जितबहादुर सुनार र इन्द्रबहादुर सुनारको घरगोठ जलेर नष्ट भएको कालीगण्डकी गाउँपालिका– २ का वडासदस्य नरबहादुर रानाले जानकारी दिए । 

उर्मिलाको घरबाट एक्कासि निस्किएको आगोले छिमेकीका चार घरगोठ पनि नष्ट गरेको रानाले बताए । मानवीय क्षति नभए पनि घरमा रहेका सबै लत्ता कपडा र खाद्यान्य जलेर नष्ट भएका छन् । उनले खरे घर र हावाहुरी बढी तर गाउँमा खानेपानीकै समस्या भएका कारण आगो नियन्त्रण गर्न नसकिएको बताए । यो समाचार तयार पार्दासमेत आगलागी नियन्त्रणमा आएको छैन । ‘उर्मिलाकोबाट दिउँसो अचानक आगो उठ्यो नियन्त्रणको कुनै सम्भावना भएन,’ आगलागीपीडित जितबहादुर सुनारले भने, ‘जिउमा लगाएको लुगाबाहेक केही बचेन ।’

आगलागीपीडित परिवार अहिले खुला आकाशमा बसिरहेका छन् । गाउँपालिकाबाट राहत सामग्रीसहित घटनास्थल जाँदै गरेको वडाध्यक्ष देवीप्रसाद न्यौपानेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आगलागी भएको स्थानमा पुर्तिघाट प्रहरी चौकीको टोली पुगेर आगो नियन्त्रण तथा पीडित परिवारको व्यवस्थापनको काम गरिरहेको बताइन् । 

केही समयअघि आगलागीका कारण इस्मा गाउँपालिका– ४ दोहली फागुन २४ गते उदिनढुंगाका दुर्गाबहादुर घर्तीको घर पूर्ण नष्ट भयो । सोही दिन आगलागीले मालिका गाउँपालिका– ६ का कृष्णबहादुर अधिकारीको घर, दुई गोठ र ६ वटा बोकाबाख्रा नष्ट भएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए । इस्मा गाउँपालिका– ४ खग्रेटास्थित रामबहादुर बस्नेतको दुईवटा बंगला र गोठ आगोले जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार गत पुस २३ गते चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा आगलागी हुँदा २५ बाख्रा मरे । फर्म जलेर पूर्ण रूपमा नष्ट भयो । पुस १८ गते रेसुंगा नगरपालिका– ५ खाम्सेपानीका कृष्णबहादुर कुँवरको गोठमा आगलागी हुँदा एउटा भैँसीको पाडो, सातवटा बाख्रा जलेर मरे भने एउटा भैँसी र दुईवटा बाख्रा घाइते भए । त्यस्तै, गत माघ १ गते आगलागीकै कारण मदाने गाउँपालिका ३ सिरसिरे पोखराका नरबहादुर थापाको गोठ र पाँचवटा बाख्रा जलेर नष्ट भयो । माघ २१ गते चन्द्रकोट गाउँपालिका– २ का उमाकान्त खरेलको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । 

 सुक्खा समयमा सामुदायिक तथा निजी वनमा पनि आगलागी भइरहेका छन् । बुधबार इस्मा गाउँपालिका– २ को पैयापाटा सामुदायिक वनमा आगलागी भइरहेको छ । डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार अहिलेसम्म करिब सय हेक्टर वन क्षेत्रमा आगलागी भएको छ ।