जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड– १९ संक्रमणको दर बढ्दै गएको अवस्थामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि उनले बताए ।
काठमाडौं उपत्यकामा वृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्न स्वास्थ्यका मापदण्डहरू अनिवार्य रूपमा पालना गर्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समय–समयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न उनले अनुरोध गरेका छन् ।
स्थानीय प्रशासन, प्रहरी, जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सबै निकायलाई अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुनेलगायतका कुरामा जनचेतना फैलाउने कार्य गर्न पनि उनले आग्रह गरे ।
विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोहीअनुसार गर्ने, स्यानिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्नसमेत उनले अनुरोध गरेका छन् ।