१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ चैत ११ बुधबार १६:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अझै ढुक्क हुने अवस्था छैन, खतराको कालो बादल मडारिइरहेको छ : प्रचण्ड 

Read Time : > 1 मिनेट
२०७७ चैत ११ बुधबार १६:२४:००

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता अझै ढुक्क हुने अवस्था नरहेको बताएका छन् । केही समयअगाडि संविधानलाई खोस्टो बनाएर च्यात्ने प्रयत्न भएको स्मरण गर्दै प्रचण्डले अझै ढुक्क हुने अवस्था नरहेको बताएका हुन् । 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘हिजो एक झुण्डले संविधान रुचाएको थिएन । त्यही झुण्डले संविधानलाई खोस्टो बनाएर च्यात्ने प्रयत्न गरेका थिए । तर, हामीले नागरिकलाई जागरुक बनायौँ, सर्वाेच्च अदालतको फैसलाले निर्णय उल्ट्यो । अझै ढुक्क हुने अवस्था छैन । अझै पनि खतराको कालो बादल मडारिइरहेको छ ।’

विस्तृत शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको प्रचण्डले बताए । संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास भएको प्रचण्डले स्मरण गरे । ‘संविधान जारी भयो, चुनाव भयो, झण्डै दुईतिहाइ बहुमत पनि ल्यायौँ ।’ उनले भने, ‘जो पहिलादेखि षड्यन्त्रमा थिए, हाम्रै पार्टीभित्रका साथीलाई दलाल बनाउन सफल भए । पार्टीले जसलाई अर्को अध्यक्ष बनाइएको थियो, तिनै अध्यक्षलाई एउटा दलालको रूपमा, मोहराको रूपमा प्रयोग गर्न त्यो वर्ग, त्यो झुण्ड, त्यो शक्तिले सफलता प्राप्त ग¥यो ।’  त्यसकै परिणामस्वरूप संसद् विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास भइरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिटबारे फैसला गर्दै संवैधानिक इजलासले वर्तमान सरकारलाई संविधानको धारा ७६ को उपधारा १ अन्तर्गतको मानेको, तर अर्काे एक मुद्दामा त्यही अदालतको दुईजना न्यायाधीशको इजलासले यो सरकार धारा ७६ को उपधारा २ अन्तर्गतको बनाइदिएको भन्दै प्रचण्डले अस्वाभाविक ढंगले विषयवस्तु अगाडि बढेको बताए । 

नेपालको राजनीति एकपटक फेरि असहज परिस्थितिमा जाने खतरा देखिएको भन्दै प्रचण्डले गम्भीर र सतर्क रहनुपर्नेमा जोड दिए ।