मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी वासिङ्टन
२०७७ चैत ११ बुधबार ०९:२०:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

ट्रम्पको निजी विमान बोइङ ७५७ बेवारिसे अवस्थामा

Read Time : > 3 मिनेट
एजेन्सी वासिङ्टन
२०७७ चैत ११ बुधबार ०९:२०:००

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा चार वर्ष बिताउँदा बोइङ ७५७ विमानको खुबै प्रयोग गरेका थिए । राष्ट्रपति हुनुअघि ट्रम्पको स्वदेश तथा विदेश यात्रामा यही भव्य बोइङ ७५७ नै पहिलो प्राथमिकतामा पथ्र्यो । अहिले ट्रम्पको असाध्यै मन पर्ने बोइङ न्युयोर्कको एक विमानस्थलमा बेवारिसे अवस्थामा छ । गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनपछि ट्रम्पले बोइङ एकपटक पनि प्रयोग गरेका छैनन् । 

४६औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनसँग नराम्रोसँग पराजित भएपछि गुमनामझैँ बनेका ट्रम्पले बहुमूल्य सामानजडित बोइङप्रति त्यति चासो नदेखाएको सिएनएनले जनाएको छ । यसैकारण विमान न्युयोर्कको एक विमानस्थलमा ग्राउन्डेड अवस्थामा छ । हेरचाह नपुग्दा विमानको बाहिरी र भित्री भाग धुलोले भरिएको छ । यो विमानको मुख्य विशेषता नै २४ क्यारेट सुनले बनेको बाथरुम हो । साथै, विमानभित्र ट्रम्पले बक्कल्स सिट बेल्ट पनि २४ क्यारेटकै राखेका छन् । 

सिएनएनका अनुसार गत निर्वाचनमा ट्रम्पले बोइङ ७५७ फोटोसुट, चुनाव प्रचार–प्रसार तथा विभिन्न राज्यमा विशिष्ट भेटका क्रममा प्रयोग गरेका थिए । डेमोक्रेटिकबाट राष्ट्रपति बनेका बाइडेनको शपथग्रहण समारोहपछि बोइङ ७५७ ले एकपटक पनि उडान भरेको छैन । बाइडेनको शपथग्रहण कार्यक्रमकै दिनमा ट्रम्प एयर फोर्स विमान चढेर ह्वाइटहाउसबाट फ्लोरिडा गएका थिए । 

ट्रम्पका नजिकका व्यक्तिहरूले पछिल्लो समय ट्रम्पले सार्वजनिक स्थल भ्रमण तथा यात्रा गर्न त्यति रुचि नदेखाएका कारण बोइङ ७५७ ग्राउन्डेड अवस्थामा रहेको बताएका छन् । लगभग चार महिना त्यतिकै रहँदा विमानको बायाँ इन्जिन बिग्रेको छ । एजेन्सीहरूका अनुसार विमानका केही महŒवपूर्ण पार्टपुर्जा हराएका छन् । पछिल्लो अपडेटअनुसार विमानको अर्को इन्जिन पनि बिग्रन लागेको छ । 

विमानको मर्मत तथा इन्जिन परिवर्तन गर्दा लाखौँ डलर लाग्न सक्ने भएकाले पनि ट्रम्पले यसलाई त्यति चासो नदेखाएको अमेरिकी एजेन्सीहरूको भनाइ छ । ‘बोइङ ७५७ को मर्मत गरी पुनः सञ्चालनमा ल्याउन लाखौँ डलर खर्च हुने देखिन्छ,’ ट्रम्पका एक सहयोगीले सिएनएनलाई भने, ‘ट्रम्प तत्काल विमानको मर्मतमा अनावश्यक रकम खर्च गर्न तयार छैनन् ।’ कोभिड–१९ को महामारीले ट्रम्पको व्यवसायमा असर परेको छ । उनले आप्mनो वार्षिक वित्तीय कारोबार सार्वजनिक गरेका छैनन् । 

यता, विशेषज्ञहरूले खुला आकाशमा विमान राख्दा इन्जिनमा खराबी आएको बताएका छन् । ‘विमानको इन्जिन लामो समयदेखि चलेको छैन, फेरि खुला आकाशमुनि विमान त्यतिकै छ, यसकारण पनि यसमा खराबी आएको हो,’ विज्ञहरूले भने । यता, ह्वाइटहाउसमा ट्रम्पसँगै चार वर्ष बिताएका एक कर्मचारीले निवर्तमान राष्ट्रपति सानो जहाज चढ्न मन नपर्ने व्यक्तिमा पर्छन् । यदि लामो यात्रा गर्नुपरेमा ट्रम्पले ठूलै विमान प्रयोग गर्न सक्ने उनले बताएका छन् । 

‘सानो जेट विमान ट्रम्पको रुचिमा पर्दैन,’ ट्रम्पका प्रत्येक भ्रमणमा सँगै यात्रा गर्ने ती कर्मचारीले भने, ‘ट्रम्पसँग सिटासन नामको एक जेट विमान छ, यो कहिलेकाहीँ मात्र प्रयोग भएको थियो ।’ राष्ट्रपति बन्नुअघि ट्रम्पले केवल बोइङ ७५७ कै हाराहारीका विमान मात्र प्रयोग गरेको ती कर्मचारीले आफ्नो अनुभव सुनाएका छन् । उनी भन्छन्, ‘मेरो अनुभवमा कहिलेकाहीँ मात्र जेट विमानमा ट्रम्पले यात्रा गरेका थिए, यसबाहेक उनले बोइङस्तरकै विमान मात्र प्रयोग गरे ।’ उनका अनुसार अहिले ट्रम्पका अन्य सदस्य जेट विमानबाट यात्रा गरिरहेका छन् । 

ट्रम्पले सन् २०१० मा माइक्रोसफ्टका अर्बपति पाउल एलेनसँग बोइङ ७५७ किनेका थिए । यो विमान १९९१ मा बनेको हो । विमान ३० वर्ष पुरानो भइसक्दा पनि ट्रम्पको पहिलो रोजाइ यही नै रहेको ह्वाइटहाउसका ती कर्मचारी बताउँछन् । 

२०१६ को निर्वाचनमा बोइङको ब्रान्डिङ

सन् २०१६ मा ट्रम्प विमानअगाडि नै स्टेज राखी चुनाव प्रचार गर्दै । फाइल तस्बिर

यो विमानसँग एउटा रमाइलो पक्ष जोडिएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने क्रममा ट्रम्पले २०१५ ताका यही विमानमै सीमित पत्रकारमाझ सम्मेलन गरेका थिए । विमानभित्रको पत्रकार सम्मेलनबाट उनले राष्ट्रपति निर्वाचनमा आफ्नो नाम घोषणा गरे । चार वर्षको निर्वाचन अवधिमा ट्रम्पले आफ्नो अभियान जति तीव्र बनाएका थिए, त्यति नै उनले यस विमानको प्रचार पनि गर्दै हिँडे । ‘चार वर्षअघि र नोभेम्बरमा सम्पन्न निर्वाचनमा ट्रम्पले आफूसँगै विमानको खुबै प्रचार गरेका थिए,’ ह्वाइटहाउसका ती पूर्वकर्मचारीले भने, ‘एक किसिमले त्यसवेला ट्रम्पमा घमण्ड चढेको थियो ।’

सन् २०१६ को निर्वाचनका क्रममा ट्रम्पले कति स्थानमा विमानको अगाडि नै स्टेज राखी चुनाव प्रचार गरेका थिए । त्यसवेला ट्रम्पले घमण्डका साथ भनेका थिए, ‘अमेरिकी इतिहासमा मभन्दा अघि राष्ट्रपतिका उम्मेदवारले निजी बोइङ विमानमै यात्रा गरी चुनाव प्रचार गर्ने र यसको अगाडि नै सभा गर्ने कोही थिएनन् ।’ ट्रम्पले ४६औँ राष्ट्रपतीय निर्वाचनमा पनि बोइङ नै चुनाव प्रचारमा प्रयोग गरेका थिए । 

खर्च अत्यधिक
ट्रम्प अमेरिकाकै एक सफल व्यापारीमा पर्छन् । विश्वभरि नै ट्रम्पले आफ्नो व्यापार फैलाएका छन् । यसबाट उनले वार्षिक अर्बौं डलर आम्दानी गर्छन् । कारण यही नै हो ट्रम्प खर्च गर्न डराउँदैनन् । निजी विमानबाटै सामान्य वा बृहत् यात्रामा जाँदा ट्रम्प बोइङ ७५७ नै प्रयोग गर्थे । सिएनएनको एक रिपोर्टअनुसार बोइङ ७५७ को प्रति एक घन्टा उडानको खर्च १५ देखि १९ हजार डलरसम्म पर्न आउँछ । 

ट्रम्पले दुहलीझैँ चिटिक्क बनाएको बोइङको भित्री भागको धेरैपटक स्वरूप परिवर्तन गरेका छन् । विमानमा एक डाइनिङ टेबल निकै महँगो छ । चारजना बस्न मिल्ने डाइनिङ टेबलको काठको माथिल्लो भाग अति नै महँगो छालाले बनाइएको छ । विमानमा निजी क्याबिन छ । यसमा दुईवटा टेलिभिजन सेट उनले लगाएका छन् । घन्टौँ यात्रा गर्दा आराम गर्न विमानमा छुट्टै शयन कक्ष पनि छ । ट्रम्पले विमान किनेपछि भित्री सजावट परिवर्तन गर्न दुई लाख ५० हजार डलर खर्चेका थिए । तर, लाखौँ डलर खर्च भएको विमान अहिले ग्राउन्डेड हुँदा चासोको विषय बनेको छ ।