मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७५ फाल्गुण ३ शुक्रबार ०९:५१:००
Read Time : > 2 मिनेट
विश्व

भेनेजुएला संकट समाधानमा अमेरिका–कोलम्बिया सहकार्य गर्ने

Read Time : > 2 मिनेट
एजेन्सी
२०७५ फाल्गुण ३ शुक्रबार ०९:५१:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाका राष्ट्रपति इभान डुकले भेनेजुएला संकट समाधान गर्न सहकार्य गर्ने भएका छन् । भेनेजुएलामा राजनीतिक संकट चुलिरहेकै वेला दुई देशबीच सहकार्य गर्ने सहमति भएको हो । साथै अमेरिका र कोलम्बियाबीच द्विपक्षी सम्बन्ध थप प्रगाढ पार्ने विषयमा पनि सहमति भएको छ । ट्रम्पले कोलम्बियाका राष्ट्रपतिसँग ह्वाइट हाउसमा गरेको बैठकमा भेनेजुएला संकट समाधानमा आफू समर्पित रहेको बताएका थिए । संकट समाधानका लागि दुई देशबीच कुन–कुन विषयमा सहकार्य हुन्छ भन्नेबारे केही खुलाइएको छैन । तर, संकटग्रस्त भेनेजुएलामा मानवीय सहयोगका लागि दुबैले आह्वान गरेका छन् । 

 मानवीय सहयोग  अस्वीकार गम्भीर भूल
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा ठूलो संकट उत्पन्न भएकाले तत्काल मानवीय सहयोगको आवश्यकता परेको बताए । ‘भेनेजुएलामा मानवीय संकट देखिएकाले अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्छ,’ उनले भने । भनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले देशमा मानवीय सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई गरेको आग्रहलाई राष्ट्रपति निकोलस मदुरोले अस्वीकार गरेका छन् । मदुरोले मानवीय सहयोग अस्वीकार गर्नु ‘गम्भीर भुल’ भएको ट्रम्पको भनाइ छ ।

भेनेजुएलाविरोधीको  भोज : मदुरो
भेनेजुएला संकट चुलिएसँगै समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायले चासो र तत्परता देखाएका छन् । तर, त्यस्ता प्रयासलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले बाह्य हस्तक्षेप बताएका छन् । राष्ट्रपति मदुरोले कोलम्बियाका राष्ट्रपति डुक र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको बैठकलाई ‘भेनेजुएलाविरोधीको भोज’ बताएका छन् ।

सहयोगका नाममा अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेपको तयारी गरेको उनले आरोप लगाए । वासिंटनले विपक्षी नेता गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि मदुरोले अमेरिकासँगको कूटनीतिक तथा राजनीतिक सम्बन्ध तोड्न सुरु गरेका छन् । उनले भेनेजुएलामा कार्यरत अमेरिकी कूटनीतिज्ञ तथा महावाणिज्य दूतलाई ७२ घन्टाभित्र देश छाड्न निर्देशन दिएका थिए । 

 भेनेजुएला प्रकरणमा अस्पष्ट ट्रम्प
भेनेजुएलाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पष्ट देखिएका छन् । उनले भेनेजुएलामा अमेरिकी सेनाको सम्भाव्य हस्तक्षेपको संकेत गरे पनि प्रस्ट दृष्टिकोण राख्न सकेका छैनन् । भेनेजुएलामा अमेरिकी सेनाको हस्तक्षेप समस्या समाधानको विकल्प हुन सक्छ भन्नेबारे सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले भने, ‘धेरै विकल्प छन् र हामी सबै विकल्पलाई हेरिरहेका छौँ ।’ तर, ट्रम्पले अहिलेसम्म एउटा पनि विकल्प भन्न सकेका छैनन् । 

 निसर्त वार्ता गर्न तयार
भेनेजुएलाका विदेशमन्त्री जर्ज अरेइजाले विपक्षीसँग विनासर्त वार्ता गर्न तयार रहेको बताएका छन् । ‘विद्यमान संकट समाधानका लागि आन्दोलनरत पक्षसँग पूर्वसर्तबिना नै वार्तामा बस्न र राजनीतिक संकट समाधान गर्न प्रतिबद्ध छ,’ उनले भने । यसअघि राष्ट्रपति मदुरोले वार्ताबाटै समस्या समाधान गर्न गरेको आग्रहलाई विपक्षीले अस्वीकार गरेका थिए । मदुरोले तत्काल राष्ट्रपति निर्वाचन गर्नुपर्ने माग गरेका छन् । तर, मदुरोले सो माग अस्वीकार गरेका छन् । 

भेनेजुएलामा तीन साताअघि विपक्षी दलका नेता हुवाँ गुएइदोले सडकबाटै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनको घोषणासँगै विश्व समुदाय दुई ध्रुवमा विभाजित छ । अमेरिका, इयू आबद्ध अधिकांश मुलुक, र केही ल्याटिन अमेरिकी देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । भेनेजुएलामा विकसित नयाँ राजनीतिक समीकरणले भेनेजुएलामा विश्व समुदायको ध्यान केन्द्रित छ ।

सैनिक हस्तक्षेपको विरोध

भेनेजुएलामा सैनिक हस्तक्षेप गर्न ट्रम्पलाई त्यति सजिलो छैन, किनकि सम्भाव्य सैनिक हस्तक्षेपको अमेरिकामा नै विरोध भएको छ । ट्रम्पले संसद्मा बहुमत गुमाएकाले उनका हरेक कदम विपक्षी डेमोक्र्याटिकले असफल बनाइदिन्छ । ट्रम्पले मेक्सिकोको सीमामा पर्खालका लागि प्रस्ताव गरेको रकमलाई डेमोक्र्याटिक पार्टीले अस्वीकार गर्दा ट्रम्पको योजना अधुरै रहेको छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा विदेश मामिलासम्बन्धी समितिमा बोल्दै भेनेजुएलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजुएलामा अमेरिकी सेनाको भूमिका अस्वीकार गरे । त्यस्तै संसद्को विदेश मामिला समितिका सभापति एलिअट एन्जेलले पनि भेनेजुएलामा अमेरिकी सेनाले हस्तक्षेप गर्न निमल्ने बताए । मंगलबार रुसी विदेशमन्त्री सर्जी लाभरोभ र अमेरिकी विदेशमन्त्रीबीचको टेलिफोन वार्तामा भेनेजुएलामा शक्तिको प्रयोग वा अन्य किसिमको अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए ।