१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ चैत ११ बुधबार ०७:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बंगलादेशबाट फर्किइन् राष्ट्रपति : बंगलादेशले भन्यो– नेपाललाई थप पारवहन सुविधा दिन्छौँ 

Read Time : > 1 मिनेट
२०७७ चैत ११ बुधबार ०७:३८:००

बंगलादेशले नेपालमा उत्पादित जलविद्युत् खरिद गर्ने तथा नेपाललाई थप पारवहन सुविधा दिने प्रतिबद्धता दोहो¥याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा भएका भेटवार्तामा उनका समकक्षी मोहम्मद अब्दुल हमिद तथा प्रधानमन्त्री सेख हसिनाले नेपाल र बंगलादेशबीच व्यापार सन्तुलनका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रपतिहरूबीचको वार्तामा ऊर्जा व्यापारका लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रवर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने सहमति भएको छ । ‘बंगलादेशले नेपाललाई सरल एवं सहज ढंगबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरूको विकासका लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यका माध्यमबाट समेत उच्चतम उपयोग गर्नेजस्ता विषयमा छलफल भएको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने । 

ढाकामा सोमबार आयोजित द्विपक्षीय वार्तामा दुई देशबीच सम्बन्धका सबै पक्षमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । ‘दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुदृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवं फलदायी बनाउँदै लैजाने विषयमा सहमति भएको थियो,’ उनले भने । 

राष्ट्रपति भण्डारी र बंगलादेशका प्रधानमन्त्री हसिनाबीचको भेटवार्तामा नेपालको जलविद्युत् बंगलादेशमा निर्यात गर्ने विषयमा छलफल भएको थियो । उनीहरूबीच दुवै देशबीचको व्यापारमा वृद्धि एवं सन्तुलन कायम गर्ने, हवाईसेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार एवं अन्तर्देशीय जलमार्गको सञ्चालनजस्ता सम्पर्क सञ्जालको विकास गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए । उनका अनुसार नेपाललाई पारवहन सुविधा दिन बंगलादेश तयार रहेको प्रधानमन्त्री हसिनाको जोड थियो । 

‘नेपालका लागि बंगलादेशबाट थप पारवहनको सुविधा उपलब्ध गराउने, शिक्षा एवं कृषि क्षेत्रमा सहकार्य वृद्धि गर्ने तथा जलवायु परिवर्तनजस्ता समसामयिक र ज्वलन्त विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्‍चमा एकआपसमा सहयोग, अभिवृद्धि र सहकार्य गर्नेलगायतका विविध विषयमा छलफल भएको थियो,’ ज्ञवालीले भने । उच्चस्तरीय वार्तामा काठमाडौं–ढाका हवाईसेवालाई क्षेत्रीय रूपमा पनि विकास गर्नुपर्ने विषयमा छलफल भएको थियो । 

गत वर्ष परराष्ट्रमन्त्री ज्ञवालीको बंगलादेश भ्रमणका वेला भएका सहमति कार्यान्वयनबारे यो भ्रमणमा विस्तृतमा छलफल भएन । दुई देशबीच रेलमार्गमार्फत चिटगाउँ बन्दरगाह जोड्ने सम्भावनाको खोजी गर्ने तथा कोसीदेखि गंगानदी हुँदै बंगलादेशसम्म पानीजहाज सञ्चालनका लागि अपरेसन मोडालिटी तय गर्ने सहमति भएको थियो । नेपाल र बंगलादेशबीच व्यापारको आकार सानो भए पनि असहजता धेरै भएको टिप्पणी हुँदै आएको छ ।

यसमा संयन्त्र गठन गरेर अघि बढ्ने दुई देशको सहमति कार्यान्वयनमा आइसकेको छैन । दुई देशबीच सीधा बस तथा कार्गो यातायात सहजीकरणका विषयमा विगतमा र अहिले पनि छलफल भएको छ । दुई देशबीच विराटनगरदेखि बंगलादेशको सइदपुर विमानस्थलमा सीधा हवाईसेवा सुरु गर्ने सहमति कार्यान्वयनका लागि बंगलादेशले वचनबद्धता जनाएको छ । 

चार समझदारीपत्रमा हस्ताक्षर 
बंगलादेशको दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति भण्डारी मंगलबार अपराह्न स्वदेश फर्केकी छिन् । राष्ट्रपति भण्डारीले ढाकामा रहँदा समकक्षी मोहम्मद अब्दुलसँग द्विपक्षीय वार्ता गरेकी थिइन् भने नेपाल र बंगलादेशबीच विभिन्न चार समझदारीपत्रमा हस्ताक्षर भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको भ्रमणले द्विपक्षीय सम्बन्ध थप उचाइमा पुर्‍याउन मद्दत पुगेको जिकिर गरेका छन् । 

‘बंगलादेशको भ्रमण फलदायी रह्‍यो । यो भ्रमणले नेपाल तथा बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुगेको छ,’ मन्त्री ज्ञवालीले भने । उनका अनुसार राष्‍ट्रपति भण्डारीको उपस्थितिमा सोमबार ढाकाको राष्ट्रिय परेड ग्राउन्डमा बंगबन्धु (बंगलादेशका राष्ट्रपिता सेख मुजिब्बर रहमान)को शतवार्षिकी मनाइएको थियो । मंगलबार राष्ट्रपति भण्डारीले ढाकास्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरूसँग भेटवार्ता गरेकी थिइन् ।