मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ११ बुधबार ०५:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्चको फैसलाको  पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ११ बुधबार ०५:५८:००

माओवादी केन्द्रले नेकपा नाम विवादमा सर्वाेच्च अदालतले २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको हो ।

मंगलबार कानुन व्यवसायीहरूसँग छलफलपछि माओवादी केन्द्रले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य मातृका यादवले बताए । छलफलमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले पुनरावलोकनमा जान सकिने सुझाब दिएका थिए ।

नेकपाको नाममा आधिकारिकताको दाबी गर्दै ऋषिराम कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई अवैध भएको फैसला सुनाएको थियो । फैसलामा सर्वोच्चले एमाले र माओवादी केन्द्रले एकतापश्चात् राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनको म्यादसहित आह्वान गर्न निर्वाचनलाई आयोगलाई आदेश दिएको थियो ।

सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र २ जेठ ०७५ भन्दा पहिलेको अवस्थामा फर्किएका छन् । तर, फैसला आउनुअघि नै अन्तर्संघर्षका कारण फरक गतिविधि गरिरहेको एमालेभित्रको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने अहिले पनि समानान्तर कार्यक्रम गरिरहेको छ ।

एमाले अध्यक्ष केपी ओलीले समानान्तर गतिविधि गरेको भन्दै सोमबार खनाल–नेपाल समूहका चारजना नेतालाई स्पष्टीकरणपत्र पठाएका छन् । यही समयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भने फैसला पुनरावलोकनमा जाने निर्णय गरेको छ ।