१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
बंगलादेश भ्रमणमा रहेकी राष्ट्रपति ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि ‘गार्ड अफ अनर’ ग्रहण गर्दै । तस्बिर : प्रकाश सिलवाल/रासस
२०७७ चैत १० मंगलबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल, भारत र  बंगलादेशबीच त्रिपक्षीय समझदारी आवश्यक : राष्ट्रपति भण्डारी

Read Time : > 1 मिनेट
२०७७ चैत १० मंगलबार ०६:०७:००

राजकीय भ्रमणमा बंगलादेशको राजधानी ढाकामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल, भारत र बंगलादेशबीच ऊर्जा, व्यापार र कनेक्टिभिटीमा त्रिपक्षीय समझदारी हुनुपर्ने बताएकी छिन् । उनले नेपाल र बंगलादेशबीच हवाई, जल र यातायातमा सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा पनि जोड दिएकी छिन् । 

‘नेपाल बंगलादेशसँग कनेक्टिभिटी विकास गर्न चाहन्छ । हवाई, नदी तथा सडक यातायातमा सम्पर्क सञ्जाल बढाउने कुरामा नेपाल जोड दिन चाहन्छ । यसले दुवै देशलाई आर्थिक फाइदा हुन्छ,’ बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको शतवार्षिकीका अवसरमा ढाकामा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले भनिन्, ‘दुई देशबीच बृहत् र दु्रत अन्तक्र्रिया र समझदारीका लागि कनेक्टिभिटी आवश्यक छ । काठमाडौं–ढाका उडानलाई क्षेत्रीय सहरहरूमा पनि विस्तार गर्नुपर्छ ।’ बंगलादेशको सइदपुर र विराटनगरबीच उडान गर्नुपर्नेमा उनको जोड थियो । यसका लागि दुई देशबीच छलफल पनि हुँदै आएको छ । 

राष्ट्रपति भण्डारीले भारत हुँदै नेपालका नदीहरू बंगलादेशसम्म पुग्ने भन्दै जलमार्गमार्फत कनेक्टिभिटी सुदृढ गर्नुपर्ने बताइन् । ‘जलमार्गमार्फत दुई देशको कनेक्टिभिटी बढ्ने तथा व्यापार र यातायातको शुल्क पनि घटेर लाभ हुनेछ,’ उनले भनिन्, ‘रेल तथा सडकमार्गको स्तरोन्नति गर्दै नेपाल र बंगलादेशबीच कनेक्टिभिटी बढाउनुपर्छ । दुई देशबीच भौगोलिक दूरी एकदमै छोटो छ । भौगोलिक निकटता, साझा संस्कृति, परम्परा, आपसी सम्मान र सद्भावले द्विपक्षीय सम्बन्धको गाँठो मजबुत गराएको छ ।’ राष्ट्रपति भण्डारीले बंगलादेशले तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको भन्दै नेतृत्वको प्रशंसासमेत गरिन् । 

सोमबार बिहान ढाका पुगेकी उनलाई हजरत अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदले स्वागत गरेका थिए । उनको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, वाणिज्यसचिव दिनेश भट्टराई, पर्यटनसचिव यादव कोइराला, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रसहित २७ जना छन् । 

राष्ट्रपति भण्डारीसँग बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री डा. एके अब्दुल मोमेनले शिष्टाचार भेट गरी दुई देशको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशका राष्ट्रपति हमिदले सोमबार साँझ रात्रिभोज आयोजना गरेका थिए । 

बंगलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गरेको डेढ वर्षपछि राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण भएको हो । राष्ट्रपति हमिदले गत वर्ष कात्तिक २६ देखि २९ सम्म नेपालको भ्रमण गरेका थिए । यसअघि बंगलादेश र नेपालका प्रधानसेनापतिहरूले एक–अर्काे मुलुकको औपचारिक भ्रमण पनि गरिसकेका छन् । राष्ट्रपति भण्डारी मंगलबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ । 

चार समझदारीपत्रमा हस्ताक्षर
नेपाल र बंगलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदबीच राष्ट्रपति भवनमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

दुई देशका आपूर्तिसचिवहरूबीच रोहनपुर–सिंघाबाद रेल्वे रुटसम्बन्धी समझदारीपत्रमा र कृषिसम्बन्धी स्यानिटरी तथा फाइटोस्यानिटरी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपालबाट वाणिज्यसचिव दिनेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

त्यस्तै, दुई देशबीच पर्यटन प्रवद्र्धनसम्बन्धी एउटा र सन् २०२२ देखि २०२५ सम्म सांस्कृतिक आदानप्रदान गर्नेसम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । दुवैमा नेपालका तर्फबाट पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले हस्ताक्षर गरेका छन् । राष्ट्रपतिद्वयको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।