मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ९ सोमबार १८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लवले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ९ सोमबार १८:२६:००

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् । सरकार र नेकपाबीच २१ फागुनमा तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएर पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि विप्लव र प्रधानमन्त्री ओलीबीच पहिलोपटक भेट भएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाई‌ंले जानकारी दिए । तीनबुँदे सहमतिमा उल्लेख भएअनुसार जेलमा रहेका पार्टीका नेता, कार्यकर्ता रिहाइबारे विप्लवले प्रधानमन्त्रीसँग चासो राखेका थिए । 

प्रधानमन्त्रीले सहमति कार्यान्वयनका क्रममा रहेको र कानुनी विषयहरू सुल्झाउने प्रक्रिया चलिरहेको जानकारी विप्लवलाई दिएका थिए । हिरासतमा रहेका नेता–कार्यकर्ता सबै रिहाइ भइसकेको र जेल चलान भएकाहरूको हकमा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यो अघि बढिरहेको ओलीको भनाइ थियो । अदालतमा पुगेका मुद्दाको हकमा प्रक्रिया मिलाउनुपर्ने भएकाले समय लागेको जानकारी ओलीले विप्लवलाई गराएका थिए ।

सरकार र नेकपाबीच तीनबुँदे सहमति भएपछि दुवै पक्षले प्रहरीले पक्राउ गरेका र हाल हिरासत तथा जेलमा रहेका नेता–कार्यकर्ताको यकिन संख्या संकलन गरेका थिए । नेकपाका नेता दीपक चलाउनेका अनुसार जेलमा हाल पार्टीका एक सय ४८ नेता–कार्यकर्ता छन् । नेकपाले जेलमा रहेका नेता–कार्यकर्ताको संख्या सरकारलाई उपलब्ध गराएपछि सोहीअनुसार प्रक्रिया अगाडि बढिरहेको गृह मन्त्रालयले बताएको छ ।