मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत ९ सोमबार ११:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारी ढाकामा, बंगलादेशका राष्ट्रपतिद्वारा विमानस्थलमा स्वागत, आजै द्विपक्षीय वार्ता  

Read Time : > 1 मिनेट
२०७७ चैत ९ सोमबार ११:०५:००

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका पुगेकी  छिन् । उनलाई हजरत अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदले स्वागत गरेको नेपाली राजदूतावासले जनाएको छ । राष्ट्रपतिद्वयबीच आज प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । वार्तापछि  दुई देशका वाणिज्य र पर्यटन सचिवहरूबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि तय भएको छ । समकक्षी हमिदले आजै राजकीय रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । 

राष्ट्रपति बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको १००औँ जन्मजयन्ती तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ । आजै बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री डा. एके अब्दुल मोमेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

बंगलादेशका राष्ट्रपति हमिदले गत वर्ष कात्तिक २६ देखि २९ सम्म नेपालको भ्रमण गरेका थिए । यसअघि बंगलादेश र नेपालका प्रधानसेनापतिहरूले एक–अर्को मुलुकको औपचारिक भ्रमण पनि गरिसकेका छन् । राष्ट्रपति भण्डारीले ढाकामा नेपाल–बंगलादेश सम्बन्धबारे सम्बोधन गर्ने पनि कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र बंगलादेशका आपूर्तिसचिवहरूबीच रोहनपुर सिंघाबाद रेल्वे रुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालबाट वाणिज्यसचिव दिनेश भट्टराईले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । कृषिसम्बन्धी स्यानिटरी तथा फाइटोस्यानिटरी सहयोगसम्बन्धी अर्को सम्झौता हुनेछ । यसमा पनि वाणिज्यसचिव भट्टराईले नेपालका तर्फबाट हस्ताक्षर गर्नेछन् ।

दुई देशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी एउटा तथा २०२२ देखि २०२५सम्म सांस्कृतिक आदानप्रदान गर्नेसम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । यी सम्झौतामा नेपालका तर्फबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले हस्तार गर्ने कार्यक्रम छ ।

बंगलादेशले राष्ट्रपिताको जन्मशताब्दी तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा ४ चैतदेखि दशदिने कार्यक्रम आयोजना गरिरहेको छ । नेपालसहित सार्क सदस्य मुलुकहरू भारत, माल्दिभ्स, श्रीलंका र भुटानका शीर्ष नेतालाई बंगलादेशले निमन्त्रणा गरेको छ । राष्ट्रपति भण्डारी ढाकाबाट मंगलबार अपराह्न स्वदेश फिर्ता हुने कार्यक्रम छ ।