१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ चैत ९ सोमबार ०९:२९:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

मंगले बुढाको काठमाडौं कैरन

बुढाले ६० वर्षसम्म आइपुग्दा पनि टिभी देखेका थिएनन् । काठमाडौंमै देखे त्यो पनि । डेढ महिना बुढासँगै रहेका समाजसेवी उज्ज्वल थापा सुनाउँछन्, ‘टिभी स्क्रिनमा मान्छे देख्नासाथ नाच्न थाल्थे ।’

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ चैत ९ सोमबार ०९:२९:००

६० वर्षीय मंगले बुढाले काठमाडौं टेकेका थिएनन् । तर, मान्छेहरूले भनेका आधारमा बुढाले काठमाडौंको चित्र दिमागमा खिचेका थिए । कंक्रिटै–कंक्रिटले भरिएको काठमाडौं मुगुका बुढालाई सपनाजस्तो लाग्थ्यो । तर, डेढ महिनाअघि बुढाले काठमाडौंमा जीवनकै पहिलो पाइला राखे । 

६० वर्षका बुढाका अनुहारमा झन्डै ६० नै चाउरी परेको छ । तर, उनले सोचेको भव्य सहर छिर्न भयानक दुःख आइलाग्यो । गत माघ अन्तिम साता बुढाका पाँच वर्षीय नाति डिल्डा शाही खेल्दाखेल्दै आगोमा जले । जसको उपचारार्थ उनी काठमाडौं आइपुगे । शरीरको करिब ३५ प्रतिशत भाग जलेको नातिसँग काठमाडौंमा पाइला टेक्दा उनको अनुहारमा कुनै उत्साह थिएन । थियो त केवल नातिको स्वास्थ्यलाभका लागि गरिएका प्रार्थना र कामना । 

नातिसँगै खरको थुप्रोमा लागेको आगोमा परेका अर्का बालकको घटनास्थलमै मृत्यु भएको थियो । ८० प्रतिशत जलेका नाति लिएर बुढा सदरमुकाम गमगढी पुगे । जिल्ला अस्पतालमा भर्ना भए । अस्पतालले नेपालगन्ज पठायो । नेपालगन्जमा पनि उपचार सम्भव भएन । त्यहाँको अस्पतालले काठमाडौं रिफर गर्‍यो । डिल्डा शाही आगोमा परेको ७२ घन्टा भइसकेको थियो । जब कि सामान्यतया आगोले जलेपछि २४ घन्टाभित्र उपचार सुरु गरिसक्नुपर्छ भन्ने पनि बुढालाई थाहा थिएन । यसबारे थाहा पाउँदा बुढाको थकित अनुहारबाट लामो सुस्केराबाहेक केही निस्कन सकेन । तर, आशा भने मारिसकेका थिएनन् । 

काठमाडौं आइपुग्दा ढिला भइसकेको थियो । यद्यपि, अस्पतालले उपचार सुरु गर्‍यो । उपचारअघि अस्पतालले बुढालाई भन्यो, ‘उपचार सफल हुने सम्भावना ५० प्रतिशत मात्रै छ ।’ यसवेला पनि बुढासँग कुलदेउता भाक्नुबाहेक अरू विकल्प थिएन । तर, उपचार गरेको ४० दिनपछि डिल्डा निको हुँदै अस्पतालबाट डिस्चार्ज भए । यसवेला भने डेढ महिनादेखि बुढाको अनुहारबाट गुमेको मुस्कान पुनः फिर्ता भयो ।

उपचार सफल भएको ४२ दिनपछि बुढा मुगु फिर्ने भए । नातिलाई बचाएर घर फिर्न लागेका बुढाको अनुहारमा अर्कै चमक देखिएको थियो । एसिड आक्रमणविरुद्धका अभियन्ता उज्वलविक्रम थापाले बुढालाई निकै सहयोग गरे । मुगु सदरमुकाम गमगढीबाहेक पूर्वी नेपाल नदेखेका मंगले बुढाले अभियन्ता थापाकै सहयोगमा काठमाडौंदेखि ताल्चा विमानस्थलसम्मको विमान टिकट पाए ।

डेढ महिनादेखि कीर्तिपुर अस्पताल बसेका नाति–बाजे प्रसन्न मुद्रामा घर फिर्न लागेको देख्दा थापा स्वयं मुस्कुराइरहेका थिए । थापाको सहयोगप्रति कृतज्ञ हुँदै बुढा बोले, ‘खुसी बा कठै... मालिक साबले धर्म अरिकन मेरा नाति बचाइदिया । अब मपछी नाति बाडीकन इनराई घर पठाउन्या हुँ, इनराई काम अरन्ना, पडन्ना । म बाँच्या भन्या फेरी काठमाडौँ आउन्या हुँ ।’

उपचारका लागि थप रकम नहुँदा सहयोग गरेका थापालाई बुढाले ‘मालिक साब’ नै सम्बोधन गरिदिए । उनैका लागि थापा डिल्डाको जीवन जोगाउन लागिपरेका थिए । काठमाडौं नै नटेकेका उनलाई उपचार कहाँ गराउनेसम्म पत्तो थिएन । जसका लागि थापाले सक्रिय भूमिका खेलिदिए । यसका साथै बुढाको काठमाडौं बसाइ अविस्मरणीय नै रह्यो । 

बुढाले ६० वर्षसम्म आइपुग्दा पनि टिभी देखेका थिएनन् । काठमाडौंमै देखे त्यो पनि । डेढ महिना बुढासँगै रहेका थापा सुनाउँछन्, ‘टिभी स्क्रिनमा मान्छे देख्नासाथ नाच्न थाल्थे ।’ साथै नेपालको प्रधानमन्त्री अहिलेसम्म पनि गिरिजाप्रसाद कोइराला नै हुन् भन्ने उनलाई लाग्दोरहेछ । आफूसँग बारम्बार कोइरालाबारे सोधखोज गरेको थापा बताउँछन् । एकपटक काठमाडौं घुम्ने इच्छा बताएपछि थापाले सोधेका थिए, ‘कहाँ घुम्ने ?’ बुढाले जवाफ दिए, ‘राजाको दरबार र सिंहको दरबार ।’ यसपछि थापाहरूले गाडीबाट सिंहदरबार पनि देखाइदिए । 

नाति जलेपछि बुढा एक्लै बिरामी लिएर उपचारका लागि डिँडेका थिए । छोरीले जग्गा बेचेर राखेको तीन लाख पैसाले काठमाडौं पनि झन्डै ल्याइपुर्‍याएन उनलाई । काठमाडौं आइपुग्दा विमानको भाडा, प्रारम्भिक उपचार र खाना खर्चमै उक्त पैसा सकिसकेको थियो । यसपछि पूर्ण उपचारका लागि अस्पतालमा एक महिनाभन्दा बढी बस्नुपर्ने भएपछि कीर्तिपुर अस्पतालले एसिड आक्रमणविरुद्धका अभियन्ता थापालाई सहयोगका लागि आग्रह गर्‍यो । 

यसपछि थापा डिल्डाको उपचारमा लागिपरे । थापाका अनुसार विभिन्न व्यक्तिको सहयोगमा डिल्डाको उपचारका लागि विमान टिकट र अन्य सामान सहयोगबाहेक लगभग ७० हजार खर्च भयो । उनी भन्छन्, ‘हाम्रो उद्देश्य चिकित्साशास्त्रमा सम्भव छ भने पैसाको अभावका कारण कुनै पनि नेपालीले मर्न नपरोस् । जब हामी असहायको सहयोगका लागि सामाजिक सञ्जालमा लेख्छाैँ, सहयोगका लागि थुप्रै हात जुट्छन् । १०औँ  वर्ष काम गरेको उपलब्धि इमान्दार र पारदर्शिता हो, नेपालमा सहयोग गर्नेको कमी छैन, दुरुपयोग होला कि भन्ने डरका कारण मात्रै सहयोग जुट्दैन ।’

सरकारी अस्पतालमा पर्याप्त बर्न सेक्सन छैनन्

पेट्रोल, आगो, एसिड, करेन्टलगायतका जलनबाट नेपालमा बर्सेनि ४० देखि ६० हजार मानिस घाइते हुने गरेका छन् । करिब २५ सयजनाको यस्तै घटनाबाट बर्सेनि मृत्यु हुने गरेको तथ्यांक छ । तर, नेपालमा जलनको उपचारका लागि पूर्ण सेवा सुविधासहितको छुट्टै बर्न सेक्सन निकै कम छन् । ठूला केही सरकारी अस्पतालमा बर्न सेक्सन भए पनि अधुरा छन् । बर्न केसको उपचार पनि मंहगो हुने र समयमै उपचार नपाइने हुँदा जलनका कारण बर्सेनि मृत्यु हुने गरेको छ ।

अस्पतालहरूको तथ्यांक हेर्दा जाडो मौसमका बर्न केसहरू बढी हुने गर्छन् । नेपाल बर्न फाउन्डेसनका महासचिव डा. किरण नकर्मी भन्छन्, ‘नेपालमा बर्न केसको उपचारका लागि कुनै ‘इन्ट्रेस्ट’ नै दिइँदैन । अस्पतालहरू प्राथमिक उपचारमा मात्र सीमित छन् । सिभियर केसका लागि आइसियू, विभिन्न शल्यक्रिया, फिजियोथेरापी, न्युट्रेसन आवश्यक हुन्छ । यी सबै सेवा–सुविधा एकै ठाउँमा भएका अस्पताल निकै कम छन् । जसले समयमै उपचार नपाउँदा प्रत्येक वर्ष सयौले ज्यान गुमाइरहेका छन् ।’ 

आपत्कालीन फन्डको सदुपयोग छैन
आपत्कालीन अवस्थाका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा छुट्टै बजेट छुट्याइएको हुन्छ । तर, गाउँबाट उपचारका लागि आउनेहरूका लागि स्थानीय तहबाट एकदमै थोरैले मात्र सहयोग पाउने गरेको बताउँछन्, समाजसेवी थापा । भन्छन्, ‘डिल्डाको केस हेर्दा पनि स्थानीय जनप्रतिनिधिलाई समेत घटना थाहा छैन । ताकि मुगुमा एकदमै कम जनसंख्या छ, त्यसमै अर्को बालकको मृत्यु भएको छ । सरकारीस्तरबाट सहयोग पाउनुको सट्टा घटनाको जानकारीसमेत नभएको पाइन्छ । कतिपय विषयमा जनप्रतिनिधि नै अनभिज्ञ देखिन्छन् ।’