Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मारलेन एल डोट
२०७७ चैत ९ सोमबार ०९:११:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सम्माननीय नायक होइनन् नेपोलियन

Read Time : > 2 मिनेट
मारलेन एल डोट
२०७७ चैत ९ सोमबार ०९:११:००

युरोप र अमेरिकाका सहरहरूबाट दास–मालिक तथा औपनिवेशिक अधिकारीका सालिक ढालिएको एक वर्षपछि फ्रान्सले उल्टो दिशा समातेको छ । सन् २०२१ लाई फ्रान्सका धेरै संग्रहालय तथा संस्थानले ‘नेपोलियन वर्ष’ मनाउने घोषणा गरेका छन् । सेन्ट हेलेना टापुमा मृत्यु भएको दुई सयौँ वर्षगाँठमा नेपोलियनको सम्झनाका विभिन्न कार्यक्रम राखिएका छन् । तर, नेपोलियनको सम्मान फ्रान्सको इतिहासका सबैभन्दा ठूला तानाशाह तथा श्वेत सर्वोच्चतावादीका नायकको सम्मान हो भन्ने भुल्नु हुँदैन । 

हैटियन मूलकी अश्वेत महिला र फ्रेन्च औपनिवेशीकरणको अध्येताको नाताले मलाई नेपोलियनको सम्झना उत्सव मनाउने योजनाले पीडा अनुभव गराएको छ । नेपोलियन तिनै व्यक्ति थिए, जसले क्यारेबियन क्षेत्रका फ्रेन्च उपनिवेशमा दासप्रथा पुनस्र्थापना गरेका थिए । उनी आधुनिक जातीय नरसंहारका आर्किटेक्ट हुन् । नेपोलियनको फौजले मेरा पुर्खा मार्न ग्यास च्याम्बरहरू प्रयोगमा ल्याएका थिए ।

पहिले इतिहासतर्फ फर्किऔँ : सन् १७९४ मा सम्पन्न फ्रेन्च क्रान्तिले एकातर्फ राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्यायो । अर्कोतर्फ, फ्रेन्च नियन्त्रणमा रहेको सेन्ट डोमिन्गे (आजको हैटी)मा भएको विशाल दास विद्रोहले फ्रान्सले आफ्ना सम्पूर्ण भूभागमा दासप्रथा उन्मूलन भयो । तर, सन् १८०२ मा फ्रान्सको सत्ता नेपोलियनको हातमा हुँदा दासप्रथा उन्मूलनको निर्णय उल्टियो । दासप्रथा एकपटक उन्मूलन गरेर पुनः ब्युँताउने विश्वको एक मात्र देश हो, फ्रान्स । नेपोलियनको निर्णयको दुष्प्रभाव सन् १८१५ मा उनी सत्ताच्युत भएपछि पनि कायम रह्यो । 

फ्रान्सले सन् १८४८ मा मात्र दासप्रथालाई सधैँका लागि अन्त्य गर्‍यो । फ्रेन्च सर्वसाधारण यो इतिहासलाई या त ढाकछोप गर्छन्, या बेवास्ता । कतिलाई त यसबारे जानकारी नै छैन । यसमा मुख्य दोष फ्रान्सको शिक्षा प्रणालीको छ । त्यसले फ्रान्सलाई ‘धेरैको मुक्तिदाता’ र ‘रंगभेद नमान्ने’ भएको भाष्य प्रवद्र्धन गर्छ । फ्रेन्च विद्यालयका औपनिवेशिक इतिहाससम्बन्धी पाठमा फ्रान्स दासप्रथा अन्त्य गर्ने युरोपको पहिलो देश भएको मात्र उल्लेख हुन्छ । तर, आठ वर्षपछि नेपोलियनले त्यसलाई ब्युँताएको कुरा उल्लेख गरिएको छैन । 

नेपोलियनले फ्रेन्चमाझ अत्यन्त सम्मानका साथ लिइने गणतन्त्रलाई कुल्चिएर सन् १८०४ मा आफैँलाई सम्राट घोषणा गरेका भए पनि उनलाई अझै पनि नायकका रूपमा हेरिन्छ । नेपोलियनले निर्माण गरेको बैंक अफ फ्रान्स, आधुनिक कानुनी संहिता तथा शिक्षा प्रणालीका लागि उनलाई सम्मान गर्नुपर्ने बताइन्छ ।

नेपोलियनले ध्वस्त पारेका अश्वेत जीवन उनले निर्माण गरेका फ्रेन्च संस्थानका अघि कम मूल्यवान् छन् भन्ने तर्कले विवाद निम्त्याउँछ । यो विवाद फेब्रुअरीमा ‘पार्क डे ला भिलेट’ले नेपोलियनको सम्मानमा कार्यक्रम गर्ने प्रस्ताव राख्दा सतहमा आएको थियो । त्यसबखत पार्कका अल्पसंख्यक कर्मचारीहरूले नेपोलियनलाई सम्मान दिए हडताल गर्ने धम्की दिएका थिए । उनीहरूले एकजना नश्लवादी, लिंगभेदी र तानाशाही व्यक्तिलाई सम्मान दिन नहुने तर्क राखेका थिए ।

फ्रान्सका संस्थानहरूले एकजना श्वेत सर्वोच्चतावादी नायकलाई सम्मान गर्नमा भन्दा तिनको देशको दासत्वको इतिहासमा ध्यान लगाए उचित परिणाम निस्कन्छ 

दासप्रथाको पुनरागमनमा फ्रेन्च नागरिकको भूमिकाबारे पनि थप स्पष्टताको आवश्यकता छ । किनकि, एकजना तानाशाहको लहडले मात्र सम्पूर्ण दासप्रथा पुनः अभ्यासमा आउँदैन । फ्रेन्च विधायक, सेना तथा आमजनताको बृहत्तर समर्थनले नेपोलियनको कार्य सम्भव भयो । सन् १८०२ मार्चमा ‘एमिएन्सको सम्झौता’ले ब्रिटेन–फ्रान्सबीचको युद्ध मात्र अन्त्य गरेन, ब्रिटेनको नियन्त्रणमा रहेको माटिर्निक्यु तथा अन्य भूभाग फ्रान्सको हातमा पुर्‍यायो ।

नयाँ प्राप्त भूभागमा दासप्रथा कायम नै थियो । पेरिसस्थित सरकारसँग टापुको दासत्व अन्त्य गर्ने या तिनलाई दास उपनिवेशकै रूपमा स्विकार्ने विकल्प थियो । त्यस वर्ष मेमा नेपोलियनले दासत्व कायम राख्ने अध्यादेश जारी गरे । फ्रेन्च संसद्को २११–६३ मतले नेपोलियनको अध्यादेशलाई अनुमोदन गर्‍यो । योसँगै फ्रान्सभर पुनः दासप्रथा सुचारु भयो । यस परिवर्तनको सबैभन्दा दुःखद परिणाम सेन्ट डोमिन्गेले भोग्यो । नेपोलियनले आफ्ना दुई जनरललाई टापुमा स्थापना भएको ‘अश्वेतको सरकार’लाई नामेट पार्ने आदेश दिए ।

फ्रेन्च फौजले टापुमा गएर विद्रोही अश्वेतहरूलाई ग्यासमा हालेर, डुबाएर, कुकुरलाई टोकाएर मार्ने अभियान सुरु गरे । फ्रेन्च उपनिवेशवादी खुला रूपमा ‘सफाया’ कार्य सम्पन्न भएपछि टापुलाई पुनः अश्वेतले भर्ने बताउँथे । तर, दमनबाट टापुका अश्वेतहरूमा थप विद्रोहको भावना विकास भयो । उनीहरू ‘मर्ने कि स्वतन्त्र हुने’ मन्त्रका साथ लड्न थाले । यही प्रतिबद्धताका साथ उनीहरूले नेपोलियन सेनालाई हराइछाडे । हैटी दासप्रथालाई स्थायी रूपमा अन्त्य गर्ने पहिलो आधुनिक राज्य बन्यो । 

‘नेपोलियन वर्ष’ मनाउने निर्णय खतरनाक समयमा आएको छ । फ्रान्समा अहिले नश्ल, लिंग, जाति र वर्ग पढाउने प्राज्ञहरू आलोचनाको अचानोमा पर्न थालेका छन् । राष्ट्रपति इम्यानुयल म्याक्रोँ आफैँ उत्तर–औपनिवेशिक अध्ययनको आलोचनामा उत्रिएका छन् । यस विषयले ‘सामाजिक प्रश्नहरूको जातीयकरण गर्न प्रोत्साहित गरेर’ फ्रेन्च गणतन्त्रलाई नै ‘टुक्र्याउने’ जोखिम बढाएको म्याक्रोँको तर्क छ । उच्च शिक्षा, अनुसन्धान तथा नवप्रवर्तनमन्त्रीले यस सम्बन्धमा अनुसन्धानको माग गरेका छन् । मन्त्रीका अनुसार क्रिटिकल रेस थ्यौरी, डिकोलोनाइजेसन, लैंगिक पहिचान र सामाजिक वर्गजस्ता विषयका अध्येताले ‘इस्लाम पक्षधर–वामपन्थी’ विचारधारा पर्वद्धन गर्छन् । 

खासमा अहिले फ्रान्समा नश्लवादी इतिहासबारे बोल्नेहरूलाई मौन पार्ने अभियान चलेको छ । फ्रान्स राज्य र समग्र समाजले आफ्नो नश्लवादी इतिहासलाई खण्डन गर्न केन्द्रित छन् । यदि इतिहासको गल्ती सच्याउने हो भने फ्रेन्च मन्त्रीले फरक विषयमा अनुसन्धान माग गर्नुपथ्र्यो । उनले ‘नेपोलियनजस्ता नश्लवादी, जातीय नरसंहारकर्ता, युद्धपिपासु व्यक्ति फ्रान्समा नायक रूपमा किन पुजिन्छन्’ भन्नेमा अनुसन्धान गराउनुपथ्र्यो । आखिरमा ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’लाई राष्ट्रिय नारा बनाउने देशले यस्तो व्यक्तिलाई कसरी नायक मान्न सक्छ ? 

मारलेन एल डोट युनिभर्सिटी अफ भर्जिनियाकी प्राध्यापक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य