मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ चैत ९ सोमबार ०७:३९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

खोप लगाएका र पिसिआर रिपोर्ट ल्याएका पर्यटकले क्वारेन्टिनमा बस्नुनपर्ने

अनअराइभल भिसा, भ्याक्सिन लगाएर आउनेलाई सहज घुमफिर, क्वारेन्टिनको व्यवस्था खारेज तथा पर्यटकले कोरोना बिमा गर्नुनपर्ने गरेसँगै पर्यटन व्यवसायी उत्साहित

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ चैत ९ सोमबार ०७:३९:००

सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाएका वा ७२ घन्टाको पिसिआर रिपोर्ट लिएर आउने पर्यटकहरूका लागि क्वारेन्टिनमा बस्नुनपर्ने निर्णय गरेसँगै पर्यटन क्षेत्र उत्साहित भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गरेको कार्यविधि मन्त्रिपरिषद्ले पास गरेसँगै खोप लगाएका र ७२ घन्टाको पिसिआर रिपोर्ट लिएर आएका पर्यटकहरू सीधै घुम्न जान पाउने व्यवस्था गरेको हो ।

मन्त्रिपरिषद्ले पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा दिनेसमेत निर्णय गरेको छ । सरकारले गत वर्ष लकडाउनसँगै अनअराइभल भिसासमेत बन्द गरेको थियो । सरकारी निर्णयसँगै अब नेपालमा पर्यटनको माहोल सिर्जना हुने पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । ‘प्रस्ताव पठाएको लामो समयपछि बल्ल सरकारले निर्णय गरेकाले अब केही सहज हुनेछ,’ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने । विमानस्थलमै पिसिआरको नमुना लिएर परीक्षण गराउने तयारीमा लागेको समेत तामाङले जानकारी दिए ।

सरकारले विदेशी पर्यटकहरूले ५ हजार डलरको कोरोना बिमा गर्नुपर्ने व्यवस्थासमेत खारेज गरेको छ । १ कात्तिकदेखि भने सरकारले नेपाल आउन चाहने पर्यटकले ट्राभल तथा पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायी तथा निकायको सिफारिसमा सोही मुलुकस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र नेपाल आउनुपर्ने व्यवस्था गरेको थियो । 

 आरोहण र पदमार्गमा पर्यटक बढ्ने अनुमान
व्यवसायी तथा पर्यटन क्षेत्रका संघ–संस्थाहरूले पर्यटक आउन अब केही सहज भएको बताएका छन् । कोभिड–१९ पछि अर्थतन्त्रका अन्य गतिविधि केही सहज हुँदै गए पनि पर्यटन क्षेत्र भने लयमा फर्कने संकेत नदेखिएको भन्दै सरोकारवाला निकायहरूले सहज वातावरण बनाउन माग गर्दै आएका थिए । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले लामो प्रयासपछि बल्ल सरकारले निर्णय गरेको बताए । ‘विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिँदा पर्यटन क्षेत्र केही सहज हुने भनेर सबै निकायमा ढोका ढकढक गरेका थियौँ,’ अध्यक्ष सुवेदीले भने । पटक–पटक माग बुझाउँदा सिसिएमसी र पर्यटन मन्त्रालयका दराज मागपत्रले भरिएपछि बल्ल निर्णय भएको सुवेदी बताउँछन् ।

 नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीहरूले पटक–पटक आफ्ना मागहरू सरकारसँग राख्दा बल्ल सरकारले सुनुवाइ गरेको बताए । ‘सरकारले विमानस्थलमै पिसिआर मेसिन राखेर अझ प्रभावकारी काम गरेर सुरक्षित बनाउन आवश्यक छ,’ गुरागाईंले भने । 

आगामी सिजनका लागि प्रशस्त सोधखोज आएसँगै सरकारले सहज बनाएकाले बुकिङ आउन सुरु हुने होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । कम्तीमा अनअराइभल भिसा, बिमा र क्वारेन्टिनको विषयमा सरकारले सम्बोधन गरेकाले बिस्तारै अब पर्यटक आगमन सहज हुँदै जाने शाहको बुझाइ छ ।  

सन् २०२१ को फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटक आएका छन् । गत जनवरीमा ८ हजार ८ सय ४७ पर्यटक आएका थिए । गत नोभेम्बरमा १ हजार ९ सय ५६ र डिसेम्बरमा ४ हजार २ सय ४५ पर्यटक आएका थिए । सरकारले गत कात्तिक १ देखि विदेशी पर्यटक आगमन खुला गरे पनि पर्यटक आगमनमा उल्लेख्य सुधार हुन सकेको छैन । आन्तरिक उडानतर्फ केही सुधार भए पनि अन्तर्राष्ट्रिय उडान दैनिक ६ देखि ८ वटा उडानमा सीमित छ । 

विगतमा ७० देखि ९० सम्म उडान–अवतरण हुने गरेको थियो । अन्तर्राष्ट्रियतर्फको यात्रु र उडान नभएपछि नागरिक उड्डयन प्रधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको खोल्ने समयसमेत १८ घन्टामा झारिएको छ । ‘आगामी चैत १५ देखि लागू हुने गरी २३ घन्टाबाट घटाएर १८ लाई कायम गरेका छौँ, यात्रु र उडान बढेपछि पुनः बढाउनेछौँ,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । आन्तरिकतर्फ यात्रुको चाप बढ्दै गए पनि अन्तर्राष्ट्रियतर्फ भने खासै चाहलपहल बढ्न नसकेको पोखरेल बताउँछन् । 

कोभिडपछि पहिलो पर्वद्धनको कार्यक्रम
कोरोना महामारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन पर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको छ ।

मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न २५ वटा कम्पनी सहभागी हुनेछन् । पर्यटन पर्वद्धनका लागि पहिले छिमेकी मुलुकका बजारमा जाने रणनीतिअनुरूप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए । 

‘भारतमा पनि बिस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर, भारतले अझै धेरै मुलुकहरूका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्दर्भमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौँ,’ उनले भने, ‘साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन पर्वद्धनका कार्यक्रमहरूमा सहभागिता हुनेछ ।’  

सरकारले नेपाल–भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यसअघि एयर बबल सम्झौताअनुरूप नेपाल–भारत दुवै देशबाट दैनिक दुईवटा हवाई उडानसमेत भइरहेकाले यो कार्यक्रम नेपालको पर्यटन पर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।