मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ९ सोमबार ०६:३६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै

शीर्ष वार्ता र चार समझदारीपत्रमा हस्ताक्षर हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ९ सोमबार ०६:३६:००

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा सोमबार बिहान ढाका जाँदै छिन् । गणतन्त्र स्थापनापछि राष्ट्रपतिको पहिलो बंगलादेश भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै, दुई देशका वाणिज्य र पर्यटन सचिवहरूबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि तय भएको छ । 

समकक्षी हमिदको निमन्त्रणामा जान लागेकी राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको सयौँ जन्मजयन्ती तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनेछिन् । उनको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, वाणिज्यसचिव दिनेश भट्टराई, पर्यटनसचिव यादव कोइरालासहित २७ जना रहनेछन् । नेपाल एयरलाइन्सको विशेष विमानबाट बंगलादेश जान लागेकी राष्ट्रपति भण्डारी मंगलबार अपराह्न स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

राजदूत मिश्रका अनुसार नेपाल र बंगलादेशका आपूर्तिसचिवहरूबीच रोहनपुर–सिंघाबाद रेल्वे रुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच अतिरिक्त पारवहन रुटका रूपमा यसलाई लिइएको छ । तेस्रो मुलुकको व्यापार र पारवहनका लागि यो सहयोगी हुने जानकारहरूको भनाइ छ । ‘यो विषय केही समयअघिदेखि द्विपक्षीय छलफलमा थियो, अहिले मूर्त रूप पाउने भएको छ,’ ढाकाबाट राजदूत मिश्रले टेलिफोनमा भने । उनका अनुसार कृषिसम्बन्धी स्यानिटरी तथा फाइटोस्यानिटरी सहयोगसम्बन्धी अर्को सम्झौता हुनेछ । दुवै सम्झौतामा नेपालबाट वाणिज्यसचिव भट्टराईले हस्ताक्षर गर्नेछन् । 

दुई देशबीच पर्यटन प्रवद्र्धनसम्बन्धी एउटा र सन् २०२२ देखि २०२५ सम्म सांस्कृतिक आदानप्रदान गर्नेसम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । यी सम्झौतामा नेपालका तर्फबाट पर्यटन मन्त्रालयका सचिव कोइरालाले हस्ताक्षर गर्नेछन् । चारवटा समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी छलफलका लागि नेपाल सरकारको एड्भान्स टिम ढाका पुगेर सम्बन्धित अधिकारीसँग छलफलमा व्यस्त रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

‘राष्ट्रपतिज्यूको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ, उहाँको भ्रमणका अवसरमा नेपाल र बंगलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ,’ बंगलादेशका लागि नेपाली राजदूत डा. मिश्रले ढाकाबाट टेलिफोनमा भने, ‘गणतन्त्र स्थापनापछि हाम्रो राष्ट्रपतिको पहिलो भ्रमण हुँदै छ, उहाँलाई समकक्षी हमिदले ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने कार्यक्रम छ ।’ उनका अनुसार उच्चस्तरीय भेटवार्ताहरू सोमबार नै हुनेछन् ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री डा. एके अब्दुल मोमेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । बंगलादेशका राष्ट्रपति हमिदले गत वर्ष २६ देखि २९ कात्तिकसम्म नेपाल भ्रमण गरेका थिए । यसअघि बंगलादेश र नेपालका प्रधानसेनापतिहरूले एक–अर्काे मुलुकको औपचारिक भ्रमण पनि गरिसकेका छन् । राष्ट्रपति भण्डारीले ढाकामा नेपाल–बंगलादेश सम्बन्धबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बंगलादेशले राष्ट्रपिताको जन्मशताब्दी तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा ४ चैतदेखि दशदिने कार्यक्रम आयोजना गरिरहेको छ । नेपालसहित सार्क सदस्य मुलुकहरू भारत, माल्दिभ्स, श्रीलंका र भुटानका शीर्ष नेतालाई बंगलादेशले निमन्त्रणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १३ चैतमा ढाका पुग्ने कार्यक्रम छ । माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ पनि समारोहमा सहभागी हुन ढाका पुग्ने कार्यक्रम छ ।