मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ८ आइतबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘सहायक सिडिओ हुँ’ भन्दै ठगीमा संलग्न बिसी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ८ आइतबार १९:३५:००

‘सहायक सिडिओ हुँ’ भन्दै ठगी गरेको अभियोगमा जाजरकोट छेडागाउँ नगरपालिका– २ का २८ वर्षीय दीपक बिसीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई ४ चैतमा सुर्खेतबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सरकारी कर्मचारीको पोसाक लगाएर सर्वसाधारणलाई भ्रममा पारी पटक–पटक ठग्दै आएका थिए । उनले पछिल्लोपटक एक महिला र पुरुषसँग पाँच लाख रुपैयाँ ठगी गरेका थिए । सहायक महिला विकास निरीक्षण र महिला तथा बालबालिका निरीक्षण कार्यालयमा नायवसुब्बाको जागिर लगाइदिने प्रलोभनमा उनले दश लाख रुपैयाँ लिने भनेका थिए । त्यसमध्ये पाँच लाख रुपैयाँ अग्रिम भन्दै लिइसकेका थिए । 

महाशाखाका एसपी कृष्ण कोइरालाले बिसीले यसअघि पनि सहायक सिडिओ हुँ भन्दै पटक–पटक ठग्दै आएको बताए । उनले भने, ‘यसले आफूलाई सहायक सिडिओ हुँ भन्दोरहेछ । पोसाक मात्र होइन कार्ड पनि सरकारी कर्मचारीको झैँ बनाएको रहेछ । यही आधारमा यसले सर्वसाधारणलाई भ्रममा पार्ने रहेछ । यही आधारमा ठगी धन्दा चलाउँदै आएको रहेछ ।’

प्रहरीका अनुसार पक्राउ पर्दा उनको साथबाट राजपत्रांकित द्वितीय श्रेणी उल्लेख भएको नक्कली आइडी कार्ड बरामद भएको छ । कार्डको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सहायक सिडिओ हुँ भन्दै ठगी गर्ने क्रममा यसअघि उनी ४ वैशाख ०७३ मा पक्राउ परेका थिए । ठगी गर्ने क्रममा उनी १० वैशाख ०७४ र १५ पुस ०७६ पनि पक्राउ परेका थिए ।