मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ चैत ८ आइतबार १४:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा ७७ प्रतिशत बालविवाह रोकियो

Read Time : > 1 मिनेट
२०७७ चैत ८ आइतबार १४:५५:००

गत १७ महिनामा मकवानपुरमा एक सय १२ वटा बालविवाह भएका छन् । सिबिन बाल हेल्पलाइनको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७६-७७ को १२ महिना अवधिमा ७७ र चालू आवको साउनदेखि पुसम्म ३५ वटा बालविवाहका घटना भएका हुन् ।
    
यीमध्ये ७७ दशलमव ६७ प्रतिशत अर्थात् ८७ वटा बालविवाह रोक्न सफल भएको बाल हेल्पलाइनको दाबी छ । गत आव ०७६÷७७ मा दर्ता भएका ७७ मध्ये ६३ र चालू आवको पुस मसान्तसम्म ३५ मध्ये २४ वटा बालविवाह रोकिएका हुन् । पछिल्लो समय विशेषगरी स्थानीय तहका जनप्रतिनिधिको क्रियाशीलता र समाजमा शिक्षित व्यक्तिको संख्या बढ्दो रहेका कारण बालविवाह रोक्न सफल भएको हेल्पलाइन प्रमुख झविन्द्र ज्ञवालीले बताए । बालविवाह रोक्न हेल्पलाइनमा खबर आउन साथ पद्धतिअनुसार अघि बढ्ने गरेको दाबी छ ।

बालविवाह गर्नेमा बालिकाको संख्या बढी रहेको तथ्यांकमा उल्लेख छ । एक सय १२ मध्ये ७७ जना बालिका र ३५ बालक रहेको ज्ञवालीले जानकारी दिए । उनका अनुसार बालक वा बालिकाविरुद्ध परेको दर्ता भएको उजुरीअनुसार बालविवाहमा अग्रसर हुनेबारे तथ्यांक राखिएको छ । यसैगरी जिल्लामा १६ देखि १८ वर्ष उमेर समूहका बालबालिकाले बालविवाहमा संलग्न रहेको पाइएको छ । गत आवमा १६ देखि १८ का ४५, १४ देखि १५ का २५, १८ देखि २० का ५ र १० देखि १३ वर्ष उमेर समूहका दुईजना बालविवाहमा संलग्न थिए । जिल्लामा स्थानीय तहअनुसार सबैभन्दा बढी बकैया गाउँपालिका क्षेत्रमा बालविवाहको संख्या धेरै रहेको छ ।

तथ्यांकमा उल्लेख भएअनुसार गत आवमा बकैयामा २८, हेटौँडा उपमहानगरमा १७, भीमफेदीमा नौ, मकवानपुरगढीमा आठ, मनहरीमा पाँच, राक्सिराङमा पाँच, कैलाशमा दुई, थाहा नगर, इन्द्रसरोवर र बागमती गाउँपालिकामा एक–एक वटा बालविवाहमा घटना दर्ता भएका थिए । हेल्पलाइनका अनुसार आव ०७५÷७६ मा २७ वटा घटना दर्ता भएका थिए । तुलनात्मक रूपमा गत आवमा बालविवाहका घटना धेरै रहेको देखिन्छ । गत आव कोरोना महामारी र लकडाउनको समय रहेको हुँदा विद्यालय बन्द र पठनपाठनसमेत ठप्पको प्रभाव बालविवाहमा समेत परेको हेल्पलाइन प्रमुख ज्ञवालीको भनाइ छ । ‘गत आवको सुरुवातबाटै विद्यालय पूर्ण रूपमा बन्द थिए, त्यसकारण पनि बालबालिका पठनपाठनविहीन हुँदा त्यसको प्रभाव बालविवाहमा देखिएको हो ।’

हेल्पलाइनले पारिवारिक कारण, बुबाले दोस्रो विवाह गर्नु, जाँडरक्सी सेवन, आर्थिक विपन्नता हुनु, बालबालिकाहरूले इन्टरनेट, फोन, सामाजिक सञ्जालको सजिलै पहुँच हुनु र दुरुपयोग गर्नु, साथीसंगीको लहहलैमा लाग्नु, विवाहको महत्व नबुझ्न्, यौनसम्बन्धी जिज्ञासु हुनु, विद्यालय छाड्नु, विद्यालय टाढा हुनु, परीक्षामा असफल हुनु, श्रम गर्न बाध्य हुनु र समुदायमा बालविवाहको उमेरमा समबुझाइ नहुनुका कारण बालविवाह शून्यतामा नआएमा दाबी गरेको छ ।