मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ७ शनिबार १७:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अरूलाई नेतृत्व दिएर भए पनि कांग्रेसले ओलीको विकल्प खोज्नुपर्छ : रामचन्द्र पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ७ शनिबार १७:५३:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृतिसभामा शनिबार आयोजित कार्यक्रममा पौडेलले कांग्रेसले अरू राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भए पनि ओलीको विकल्पमा जानुपर्ने बताएका हुन् । 

राजनीतिक अन्योल भएको भन्दै पौडेलले कांग्रेसले सबै पार्टीलाई संयोजन गर्ने हैसियत राख्नुपर्ने बताए । उनले भने, ‘अहिलेको संसद्मा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसद्मा रहेका पार्टीहरूमध्ये को–कोसँग मिलाएर–मिलेर के गरेर हुन्छ, कसैलाई अगाडि बढाएर हुन्छ कि, आपूm अगाडि बढेर हुन्छ कि, अहिलेको केपी ओली जसले यत्रो ठूलो उत्पात गरे । उधुम गरे । तिनको विकल्पमा नयाँ सशक्त विकल्प कांग्रेसले प्रस्तुत गर्न संयोजकको भूमिका कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ । यो पार्टीले सबै पार्टीलाई संयोजन गर्ने हैसियत राख्नुपर्छ । देशलाई ठीक दिशा दिने हैसियत राख्नुपर्छ । देशलाई अन्योलमा राख्ने होइन । अहिलेको अन्योललाई अन्त्य गर्ने हैसियत कांग्रेसले राख्नुपर्छ । कांग्रेसको नेतृत्वले राख्नुपर्छ । कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै वेलामा हो ।’


कांग्रेसका कतिपय नेताले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले अहिले चुनावको पक्षमा वकालत गर्न नहुने बताए । संसद्मा भएका शक्तिहरूलाई संयोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ । 

उनले भने, ‘अदालतको फैसलाले पाँच वर्ष नभई चुनाव गर्ने अनुमति दिँदैन । संसद् फेरि विघटन गर्ने कहीँ पनि ठाउँ छैन । त्यस्तो वेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिँड्ने ? कहाँनेर कता फस्दै गयौँ हामी ? कसले फसाउन खोज्यो ? हामीले अहिले चुनावको कुरा होइन । हामीले त यही संसद्लाई कसरी उपयोग गर्ने ? कसरी यही संसद्मा भएका शक्तिहरूलाई समायोजन गरेर विकल्प दिने हो ।’


पौडेलले लोकतन्त्र पक्षधरहरूको सरकार दिनुपर्ने बताए । संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसद्भित्र निर्माण गर्न कांग्रेसले कुशलता देखाउनुपर्ने उनको भनाइ छ ।