१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत ७ शनिबार ०९:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको जोखिम बढेपछि खाता जैविकमार्गको ब्रेकर हटाइयो 

Read Time : > 1 मिनेट
२०७७ चैत ७ शनिबार ०९:२३:००

वन्यजन्तु आवतजावत गर्दा तीव्रगतिका गाडीले ठक्कर दिन सक्ने भन्दै खाता जैविकमार्गका हुलाकी सडकमा बनाइएको ब्रेकर हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मधुवन नगरपालिका, सुरक्षाकर्मीलगायतको टोलीले ब्रेकर हटाएको हो । 

खाता जैविकमार्गमा बाघको आतंक बढ्दै गएको र ब्रेकरमा कम गतिमा सवारीसाधन चलाउँदा बाघले आक्रमण गर्न सक्ने भएकाले ब्रेकर हटाइएको हो । वन्यजन्तु ओहोरदोहोर गर्न सहज होस् भनेर खाता जैविकमार्गमा ५०–५० मिटरको दूरीमा १० वटा ब्रेकर बनाइएको थियो । 

मापदण्डभन्दा अग्लो ब्रेकर बनाएकाले सवारीसाधन चलाउँदा दुर्घटना हुने जोखिम रहेको थियो । ब्रेकरले दुर्घटना बढाएको भन्दै स्थानीयवासीहरू असन्तुष्ट रहेका थिए । ब्रेकरको उचाइ १० सेन्टिमिटरभन्दा बढी नहुनुपर्ने भए पनि कतिपय ब्रेकर त्यसभन्दा अग्लो रहेका थिए । 

ब्रेकर भएको सडक खण्डमा बढीमा १० किलोमिटर प्रतिघन्टाकाे गतिमा सवारीसाधन चलाउन मिल्ने र त्यसभन्दा बढी गतिमा चलाउँदा हुत्तिएर दुर्घटना हुने गरेको मधुवन नगरपालिका ६ का विनोद चन्दले बताए । उनले भने ‘सो स्थानमा बाघ देखिँदा सवारीचालकहरू आत्तिएर सवारी हाँक्दा दुर्घटना हुने सम्भावना छ ।’

बाघको गतिविधि बढेसँगै ब्रेकर भएको सडक खण्डमा पटक–पटक बाघ देखिन थालेको छ । साइकल मोटरसाइकललगायत सवारीसाधनको गति न्यून भएका वेलामा बाघले आक्रमण गर्न सक्ने सम्भावना बढेपछि ब्रेकर हटाइएको मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।

 

उनले खाता जैविकमार्गमा बाघको आक्रमण बढेसँगै ब्रेकरको कारणले यात्रुहरूको ज्यानसमेत जोखिम  भएकाले नगरपालिकाको खर्चमा ब्रेकर हटाइएको बताए । उनले ब्रेकर  हटाएको स्थानमा बिग्रिएको बाटो नगरपालिका आफैँले मर्मत गर्ने बताए । 

जिल्ला सुरक्षा समितिले मानवीय सुरक्षाको कारण देखाउँदै खाता जैविकमार्गको ब्रेकर हटाउने निर्णय गरेको थियो । बाघको आतंक र स्थानीयको विरोध आएपछि सुरक्षा समितिले सो निर्णय गरेको हो ।

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी रामसागर हरिजनले राजमार्गमा ब्रेकर बनाउन नमिल्ने भए पनि वन्यजन्तु ओहोरदोहोर गर्ने स्थान भएकाले ब्रेकर निर्माण भएको बताए । उनले विश्व वन्यजन्तु कोष र हुलाकी सडक निर्देशनालयको सम्झौताअनुरूप ब्रेकर निर्माण भएको बताए । 

हाल ब्रेकर भत्काइएको स्थानमा वन्यजन्तु ओहोरदोहोर गर्नका लागि सडकमाथिबाट ओभरपास बनाइने भएको छ । वन्यजन्तुको ओभरपास बनाउने प्रक्रिया सुरु भएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका सूचना अधिकारी हरिजनले बताए । ओभरपास निर्माणका लागि निर्देशनालयले प्रक्रिया सुरु गरेको उनले बताए ।