मर्स्याङ्दी नदीमा शुक्रबार पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता भएकी छिन् । बेँसीसहर नगरपालिका–१० बाँझाखेत चौर बस्ने वर्ष १३ की पूजा रानालाई पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीले बगाएको हो ।
राना भैँसी चराउने क्रममा साथीहरूसँग दिउँसो मर्स्याङ्दीमा पौडी खेल्न गएकी थिइन । पौडी खेल्ने क्रममा रानालाई दिउँसो करिब २ बजे मर्स्याङ्दीले बगाएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले बताए ।
बालिकाको शव शुक्रबार दिनभर प्रहरी र स्थानीय बासिन्दाले खोजी गरे पनि फेला पार्न सकेको छैन । बालिकाको स्थायी घर दाङ तुल्सीपुर–१० भए पनि हाल फुपूको घरमा बस्दै आएकी थिइन् ।