१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ चैत ५ बिहीबार २१:४०:००
Read Time : > 1 मिनेट
खेलकुद

त्रिदेशीय प्रतियोगिता तयारी अन्तिम चरणमा

Read Time : > 1 मिनेट
२०७७ चैत ५ बिहीबार २१:४०:००

अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय आमन्त्रित फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगिता आगामी मंगलबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदै छ । प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानका टोली सहभागी हुँदै छन् । प्रतियोगितामा नेपाल र बंगलादेशको सिनियर राष्ट्रिय टोली सहभागी हुनेछन् भने किर्गिस्तानको यू–२३ टोली सहभागी हुनेछ ।

यस प्रतियोगितामा सहभागी हुन बंगलादेशको टोली बिहीबार नै काठमाडौं आइपुगेको छ । किर्गिस्तानको टोली पनि आइतबारसम्ममा काठमाडौं आइपुग्नेछ । सिनियर राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने भएकाले नेपाल र बंगलादेशको खेललाई फिफाले आधिकारिक प्रतिस्पर्धाका रूपमा मान्यता दिएको छ । यो खेलको नतिजाले दुवै टोलीको फिफा वरीयतामा प्रभाव पार्नेछ । 

एन्फाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । ‘प्रतियोगिताको तयारी करिब ९५ प्रतिशत सकिएको छ,’ एन्फा प्रवक्ता किरण राईले भने । 

प्रतियोगिताका लागि एन्फाले १२ हजार टिकट बेच्ने घोषणा गरेको छ । रंगशालाको क्षमता १५ हजारको भनिए पनि एन्फाले कोरोना महामारीका कारण तीन हजार कम टिकट बेच्ने निर्णय गरेको हो । त्यसमध्ये भिआइपी प्यारापिटतर्फ १५ सय र साधारण प्यारापिटतर्फ १० हजार पाँच सय टिकट बिक्री गरिनेछ । त्यसमध्ये भिआइपीतर्फको टिकट मूल्य १५ सय र साधारण प्यारापिटतर्फ सात सय तोकिएको छ । 

विजेतालाई पाँच हजार डलर 
प्रतियोगितामा सहभागी टोलीले राउन्ड रोविन प्रणालीमा एक–अर्काविरद्ध एक–एक खेल खेल्नेछन् । त्यसअनुसार मंगलबार हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्नेछन् । बिहीबारको दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग खेल्नेछ । यस्तै, राउन्ड रोविन लिगको अन्तिम खेलमा १४ चैतमा नेपाल र बंगलादेश भिड्नेछन् । 

शीर्ष दुई स्थानमा रहेका टोलीले १६ चैतमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले पाँच हजार अमेरिकी डलर प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै, दोस्रो हुने टोलीले तीन हजार डलर प्राप्त गर्नेछन् । प्रतियोगितामा मोस्ट भ्यालुएबल खेलाडीले पाँच सय डलर प्राप्त गर्नेछन् । 

प्रतियोगिताका लागि नेपाली टोली तयार रहेको पनि प्रवक्ता राईले बताए । ‘हामी यसअघिदेखि नै विश्वकप छनोटको तयारीमा थियौँ । त्यसैले नेपाली खेलाडी राम्रो लयमा छन्,’ उनले भने, ‘प्रतियोगिताका लागि हाम्रो तयारी राम्रो छ ।’

उनका अनुसार हाल आई लिगमा रहेका नेपालको पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङ र स्ट्राइकर अभिषेक रिजाल पनि नेपाली टोलीमा समावेश हुनेछन् । एन्फाले प्रतियोगिता आयोजनाका लागि एक करोड खर्च लाग्ने जनाएको छ ।